पोखरा/ मनाङमा आसन्न फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङलाई नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका छन् ।
कांग्रेस उम्मेदवार गुरुङलाई समर्थन गर्दै एमालेका उम्मेदवार पोल्देन छोपाङ गुरुङ र राप्रपा उम्मेदवार कुविरसिङ गुरुङले उम्मेदवारी फिर्ता गरेका हुन । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएपछि उनीहरुको उम्मेदवारी फिर्ता भइसकेको मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले जानकारी दिएका छन् ।
एमाले र राप्रपाले कांग्रेस उम्मेदवार गुरुङलाई समर्थन गरेपछि अब मनाङमा कांग्रेसका गुरुङ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की यशोदा गुरुङ सुवेदीमात्रै चुनावी मैदानमा छन् । अरु दलको यहाँ उम्मेदवार थिएनन् । कांग्रेसका गुरुङ २०७९ सालको निर्वाचनमा पनि सांसदमा निर्वाचित भएका थिए ।
उम्मेदवारी फिर्ताको निर्णय लामा गुरुहरूको रोहवरमा गरिएको ‘चिट्ठा’ को परिणामका आधारमा भएको हो । चुनावमा संभावित झैझगडा रोक्ने भन्दै भ्राताङमा भएको भेलाले अनौठो भागबन्डा गरेको हो । कांग्रेसका टेकबहादुर गुरुङ र एमालेका पोल्देन छोपाङ गुरुङबीच सहमति नजुटेपछि चिट्ठा तानिएको थियो । जसमा प्रतिनिधि सभाका लागि कांग्रेसले प्रतिस्पर्धा गर्ने र एमाले पछि हट्ने फैसला भयो । यसको साटो मनाङका २ वटा प्रदेश सभा निर्वाचन क्षेत्रमा भने कांग्रेसले एमालेलाई सघाउने समझदारी भएको छ ।





