मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

गण्डकीमा कांग्रेसका तिमिल्सिना र एमालेकी देवकोटा बिजयी

गण्डकीमा कांग्रेसका तिमिल्सिना र एमालेकी देवकोटा बिजयी


  • ढाेरपाटन संवाददाता
  • माघ ११ २०८२, आइतबार

पोखरा/ राष्ट्रिय सभा निर्वाचन अन्तर्गत आइतबार भएको मतदानमा गण्डकीबाट नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । दुवै दलबीच चुनावी तालमेल थियो ।

खुलातर्फ नेपालीकांग्रेसको तर्फबाट तनहुँका प्रा.डा.जगत तिमिल्सिना बिजयी भए । उनले १३१ मत स्थानीय तहका प्रमुख, उपप्रमुख र अध्यक्ष एवं उपाध्यक्षबाट र ४८ मत प्रदेश सभा सांसदको गरी ५०३३ मतभार पाए । यसैगरी महिला क्लस्टरतर्फ एमाले उम्मेदवार गोरखाकी सम्झना देवकोटाले जीत हासिल गरिन् । उनले स्थानीय तहका १२९ र प्रदेश सांसदको ४८ मत पाइन् । उनको मतभार ५०१४ थिए । एक स्थानीय तहको मत बदर भएको थियो । प्रदेश सांसदको एक मत बराबर ५३ मतभार र पालिका प्रमुख उपप्रमुखको १९ मतभार कायम गरिएको थियो । दुवै उम्मेदवारका लागि २ प्रदेश सांसदको मत बदर भएको थियो । माओवादी केन्द्रको चुनाव चिह्नबाट विजयी प्रदेशसभा सदस्य फणीन्द्र देवकोटा (हाल प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) मा आवद्ध) ले भने नाे भाेट भन्दै खाली राखेका छन् ।

बिजयी कांग्रेसका तिमिल्सिना कांग्रेस निकटको प्रजातन्त्रवादी प्राध्यापक संघका केन्द्रीय अध्यक्ष रहेका र निवर्तमान पार्टी सभापति शेरबहादुर देउवा निकटका पात्र हुन । देउवाको नजिकको भएकै कारण कांग्रेसको क्षेत्र र प्रदेशबाट सिफारिस गरेको नामलाई लत्याएर केन्द्रीय कार्यसम्पादन समिति बैठकले तिमिल्सिनालाई उम्मेदवार बनाएको थियो । यसको पार्टीभित्र चर्को आलोचना भएको थियो । तनहुँको शुक्लागण्डकी स्थायी घर भएका तिमिल्सिना लामो समयदेखि त्रिभूवन विश्वविद्यालयको शैक्षिक तथा साङ्गठनिक राजनीतिमा सक्रिय रहँदै आएका थिए । उनी लोकतन्त्रवादी प्राध्यापकहरूमाझ राम्रो पकड र प्रभाव राख्ने व्यक्तिका रूपमा परिचित छन् ।

देवकोटा भने यसअघिका पटक पटक निर्वाचनमा पराजित नेतृ हुन् । २ वर्ष अघिको निर्वाचनमा पनि उनी राष्ट्रिय सभा सदस्य उम्मेदवार थिइन् । काँग्रेस र माओवादी गठबन्धनका कारण उनी पराजित भइन् । त्यसअघि २०७४ मा गोरखा नगरपालिकाको उपमेयर र २०७९ मा गोरखा नगरपालिकाकै मेयर पदमा उनी पराजित भएकी थिइन् । एमालेको हालै सम्पन्न ११ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी उनी पराजित भइन् । पटकपटक हार व्यहोरेको व्यक्तिलाई राष्ट्रिय सभामा लैजाने प्रवृत्ति दोहो¥याएको भन्दै एमालेका कतिपय कार्यकर्ताले गुनासो गरेका थिए । देवकोटा एमाले गोरखाको सचिव भएकी थिइन । गोरखा नगरपालिका–३ नारेश्वरकी स्थायी बासिन्दा देवकोटा २०४० सालदेखि नेपाली कम्युनिस्ट आन्दोलनमा होमिदै आएकी छन् ।

दिउँसो ३ बजेसम्मका लागि मतदानको समय तोकिएकोमा २ प्रदेश सांसद र ३ जना स्थानीय तहका अध्यक्ष र उपाध्यक्षले मतदान गरेनन् । गण्डकी प्रदेशमा ६० जना प्रदेश सांसद र ८५ स्थानीय तहका मेयर, उपमेयर, अध्यक्ष र उपाध्यक्ष गरी १७० जना मतदाता रहेका थिए । तर एक जना प्रदेश सांसद राजिव गुरुङ (दीपक मनाङे) अहिले जेलमा भएकाले उनको मतदाता नामावलीमा नाम समावेश थिएन । ५९ जना प्रदेश सांसद मतदाता रहेकोमा राप्रपाका पञ्चराम गुरुङ र बिन्दुकुमारी पौडेल मतदानमा अनुपस्थित भए ।

यसैगरी १७० जना स्थानीय तहका मतदाता रहेकोमा स्याङजाको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापा राजीनामा दिएर प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवार बनेपछि १६९ जना मतदाता कायम रहेका थिए । त्यसमा पनि बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली सहकारी प्रकरणमा पुर्पक्षका लागि थुनामा भएकाले मतदानमा सहभागी भएनन् । थापा नेपाली एमालेबाट निर्वाचित भएका थिए । यसैगरी मनाङको नार्पाभूमी गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामा र स्याङजाको वालिङ नगरपालिकाकी उपमेयर कविता गैह्रे पनि मतदानमा अनुपस्थित भए । लामा बिरामी भएका र गैह्रे हाल देश बाहिर रहेको बुझिन आएको छ ।

आगामी फागुन २० गतेदेखि गण्डकी प्रदेशबाट राष्ट्रिय सभामा २ सदस्यको पद रिक्त हुने भएपछि आज निर्वाचन भएको हो । खुलाबाट नारायणकाजी श्रेष्ठ (तत्कालिन माओवादी) र महिला खुलामा भगवती न्यौपाने (एमाले) को ६ वर्षे कार्यकाल सकिन लागेकाले यी दुवै क्लस्टरका लागि निर्वाचन भएको हो । गण्डकी प्रदेशमा कुल मतभार ६ हजार ३ सय ५७ थियो । प्रदेशमा कांग्रेसका २७ सांसद छन् । उनीहरूको मतभार १ हजार ४ सय ३१ हुन्छ । स्थानीय तहका प्रमुख, उपप्रमुखमध्ये कांग्रेसबाट ६६ जना निर्वाचित भएका छन् । उनीहरूको मतभार १ हजार २ सय ५२ पुग्छ । दुवै जोड्दा कांग्रेसको मतभार २ हजार ६ सय ८५ पुग्छ । २२ सांसद रहेको एमालेको प्रदेशसभामा १ हजार १ सय ६६ मतभार छ भने ७० जना स्थानीय तहका जनप्रतिनिधिको १ हजार ३ सय ३० मतभार हुन्छ । दुवै जोड्दा एमालेको मतभार २ हजार ४ सय ९६ पुग्छ । दुवै दलको मतभार जोड्दा ५ हजार १ सय ८१ पुग्थ्यो ।

निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) उम्मेदवारहरु अन्यतर्फ मनाङका कपिल लामा र महिलातर्फ माओवादी द्वन्द्वका क्रममा एउटा खुट्टा गुमाएकी गोमा घिमिरेले ९४१ मतभार ल्याए । माओवादी केन्द्र र नेकपा (एस) एकीकरणपछि बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का ७ सांसद र ३० स्थानीय तहका जनप्रतिनिधि थिए । उनीहरु सबैको मत उम्मेदवारले पाए । यस्तै राष्ट्रिय जनमोर्चासँग ७६ मतभार रहेकोमा उम्मेदवारहरु शंकरप्रसाद बराल र लक्ष्मी बाँस्कोटाले त्यो मत पाए । स्थानीय तहमा ४ वटा पद जनमोर्चाले जितेको थियो । स्थानीय तहमा र प्रदेश सभा निर्वाचनको प्रत्यक्षतर्फ एक सिट पनि नजितेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का समानुपातिकतर्फ २ प्रदेश सांसद रहेकोमा उनीहरु मतदानमा सहभागी भएनन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->