म्याग्दी/आगामी फागुन गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनकाको मिति नजिकिदै जाँदा म्याग्दीका राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरु मत माग्दै जनताका घर आँगनमा पुग्न थालेका छन् ।
दलका नेता र कार्यकर्ता तथा स्वतन्त्र उम्मेदवार चुनावी अभियान लिएर गाउँमा जान थालेपछि चुनावी रौनक बढेको छ । नेताहरुले आँगन र खेतबारीमा काम गर्दै गरेका जनतालाई भेट्ने, गाउँ तथा टोल भेला गरेर जनताका कुरा सुन्ने र आफ्नो उम्मेदवारलाई भोट माग्ने कामलाई तिब्र बनाएका छन् ।
उम्मेदवारहरुले मुख्य निर्वाचन अधिकृतको कार्यालयका विभिन्न प्रकृयाहरुसम्पन्न गरी चुनावी योजना बनाइसके पछि मतदाताको घरदैलोमा पुग्न थालेका हुन् । दलका नेता,उम्मेदवार र कार्यकर्ताहरु गाउँ पसेपछि गाउँमा चुनावको माहोल देखिन थालेको रघुगंगा गाउँपालिका २ का धनबहादुर गर्बुजाले बताए ।

नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार बन्नुभएका कर्णबहादुर भण्डारीले रघुगंगा गाउँपालिकास्तरीय भेलामार्फत चुनावी अभियान सुरु गरिएको बताएका छन् । निवर्तमान प्रतिनिधिसभा सदस्य एवम् पार्टी सभापति खमबहादुर गर्बुजा, संविधानसभा सदस्य रेशमबहादुर बानियाँ, उपसभापति हरिकुमार श्रेष्ठ सहितका नेताहरुको उपस्थितिमा निर्वाचन परिचालन समितिमार्फत चुनावी अभियान सुरु गरिएको नेपाली कांग्रेस म्याग्दीले जनाएको छ ।
त्यसैगरी नेकपा एमाले म्याग्दीको तर्फबाट उम्मेदवार हरिकृष्ण श्रेष्ठ रघुगंगा गाउँपालिका क्षेत्रमा घरदैलो अभियानमा ब्यस्त छन् । उम्मेदवारहरु चुनावी प्रतिबद्धता सहितका कार्यहरु समेत सञ्चालन गरिरहेका छन् ।
उम्मेदवार श्रेष्ठसहित नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदी सहितको टोलीले दुई दिनसम्म रघुगंगा वडा नं २ र ३ क्षेत्रका मतदातालाई घरदैलोमै गएर भेटी आफ्नो प्रतिबद्धता व्यक्त गरेका छन् ।
त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार अर्जुन थापा जिल्लाका विभिन्न स्थानमा पुगेर मतदाता भेटघाट सहित चुनाव केन्द्रित अभियान सञ्चालन भइरहेको नेकपाले जनाएको छ । त्यस्तै स्वतन्त्र उम्मेदवार डा. महावीर पुनले सदरमुकाम बेनीमा सम्पर्क कार्यालय स्थापना गरी सोमबारदेखि पश्चिम म्याग्दी हुदै रघुगंगा गाउँ पालिकाका गाउँहरुमा अभियान सुरु गर्न लागेको बताउँछन् ।

एउटा मात्रै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको म्याग्दीमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट डम्बरबहादुर सुवेदी, नेकपा (माओवादी) बाट क्षेत्रबहादुर घिमिरे (ध्रुव)ले सामूहिक र व्यक्तिगत रुपमा मतदातासँग भेटघाटलाई तिव्रता दिएका छन् । जिल्लामा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट देबेन्द्र कामी, मंगोल नेशनल अर्गनाइजेसनबाट भीमबहादुर लामा, श्रम संस्कृति पार्टीबाट बिनोद लामा, राष्ट्रिय जनमोर्चाबाट क्षेमबहादुर विक चुनावी अभियानमा छन् ।
उम्मेदवार गाउँमा देखिन थालेपछि चुनावी प्रचारप्रसारसँगै मतदाता भेटघाटका कार्यतालिका बनाउन स्थानीयस्तरका नेताहरु ब्यस्त छन् । निर्वाचनका लागि म्याग्दीमा कुल ८६ हजार ३९७ मतदाता कायम भएका छन् । एक नगरपालिका र पाँच गाउँपालिकामा समेटिएको प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र रहेको छ । म्याग्दीमा अन्य एक जना, महिला ४४ हजार ६४ र पुरुष ४२ हजार ३३२ मतदाता रहेका छन् । निर्वाचनका लागि जिल्लामा ८२ वटा मतदान स्थल र १२० मतदान केन्द्र कायम गरिएको छ ।





