मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

हातहातमा प्रविधि : बढ्दै अपराध, ठगिँदै नागरिक

हातहातमा प्रविधि : बढ्दै अपराध, ठगिँदै नागरिक

पछिल्लो समय चिठ्ठा परेको, अनलाइन सपिङ गराउने, विदेशबाट पठाएको पार्सल भन्सारमा रोकियो भन्नेजस्ता बहाना बनाएर ठगी गर्ने गिरोहको चंगुलमा मै हुँ भन्नेहरु पनि फसेका छन् ।


  • ढोरपाटन संवाददाता
  • माघ १३ २०८२, मंगलबार

पोखरा/घटना १ः इलामकी एक महिलाले जागिर पाइन् । मासिक ३० हजार तलब । अफिस जानु पर्दैनज्यो । काम थियोे–खातामा आएको पैसा रोजगारदाताले भनेको ठाउँमा पठाइदिनुपर्ने । तर,एकाएक उनको खाता बन्द भयो । उनी बैंक पुगिन् । खाता किन बन्द भयो भनेर सोध्दा खाताबाट गलत काम भइरहेको जानकारी पाइन् । उनको खाताबाट गलत धन्दा भइरहेको उजुरी प्रहरीकहाँ पुगिसकेको थियो । पक्राउ परिन् । खासमा त्यसमा उनको दोष थिएन । रोजगारदाताले नै उनको खाता खोलिदिएको र त्यो खातामार्फत् ठगी (स्क्याम) गरेको पैसा अन्यत्र सार्ने गरेको प्रमाणित भयो । ती महिलाले घान्द्रुकतिरकी एक महिलालाई आफैंले २ लाख तिरिन् ।

घटनाः २ रामेछापको एक युवतीको नामबाट २७ वटा सिमकार्ड निकालेको प्रहरीले पत्तो पायो । खासमा उनी काठमाडौंको कुनै सटरमा खोलिएको रोजगार पाइन्छ भन्ने सूचना अनुसार जागिर खोज्न पुगेकी रहिछन् । रोजगार दिन्छु भन्नेले नागरिकता र फोटो छाड्न भनेछ । त्यही फोटो र नागरिकता प्रयोग गर्दै सिम निकाल्ने,कसैलाई ठग्ने र फेरि अर्को सिम निकाल्ने गरेको रहेछ । युवती पक्राउ परिन् । खोज्दै जाँदा जागिर दिन्छु भन्ने अफिस नै थिएन ।

घटना ३ः पोखराको पृथ्वीचोकको चल्तीको एउटा पसल देखाएर सामाजिक सञ्जाल टिकटकमा एउटा विज्ञापन आयो । पसलले ‘क्लियरेन्स अफर’ दिएको भन्दै सामान देखाइयो । किन्न चाहनेलाई घरमै सामान आइपुग्ने बताउँदै त्यहाँ पैसा भुक्तानीको लागि क्यूआर पनि राखिएको थियो । पोखराका विभिन्न व्यक्तिले सामान अर्डर गरे । तर, सामान घर आइपुगेन । उनीहरु पसलमै पुगे । पसले छाँगाबाट खसेजस्ता भए । खासमा उनले त्यसरी अनलाइनमा सामान बिक्रीको सूचना राखेकै थिएनन् । ठगी धन्दा चलाउनेले उनको पसलको फोटो राखेर विज्ञापन गरेको र पैसा कुल्याएर हिँडेको थाहा भयो ।

पोखराकी एक महिलाले छोरालाई क्यानडा पठाउने भन्दै ऋण गरेर ४० लाख जम्मा गरेकी थिइन् । उनका छोरा टेलिग्राममा देखिने विज्ञापनमा लोभिए । ५ हजार लगानी गरे साँझ १० हजार पाइने भन्नेजस्ता सूचनाको पछि लाग्दा सुरुमा उनले १० हजार लगानी गरे । साँझ उनको खातामा १७ हजार आयो । उनले ५ लाख लगानी गरे कति नाफा हुन्छ भनेर सोधे । उताबाट साँझ ५० हजार बढी आउने उत्तर आयो । छोराले आमासँग सल्लाह गरे । आमाले पैसा त्यत्तिकै किन राख्ने ? लगानी गर न भनिछन् । छोराले ४० लाख लगानी गर्दा ४५ लाख आउँछ भन्ने लोभमा पैसा अर्काको खातामा हाले । पैसा झ्वाम भयो ।

यी त उदाहरणमात्र हुन् । पछिल्लो समय चिठ्ठा परेको, अनलाइन सपिङ गराउने, विदेशबाट पठाएको पार्सल भन्सारमा रोकियो भन्नेजस्ता बहाना बनाएर ठगी गर्ने गिरोहको चंगुलमा मै हुँ भन्नेहरु पनि फसेका छन् ।

‘भन्न त नमिल्ला तर यहाँ नपढेकाभन्दा पढेका मान्छे बढी फसिएका छन्,’ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी नवीन कार्की भन्छन्, ‘फसिनुको एउटै कारण भनेको लोभ हो । कतिसम्म भने आफूले नाफाको काम गर्न लागेको कुरा छिमेकीलाई पनि भनिँदैन । किनकि, मान्छेलाई छिमेकी धनी हुन्छ कि भन्ने डर छ । छिमेकीलाई भने त उसले राम्रै सुझाव दिन्थ्यो होला नि ।’ उनका अनुसार यसरी पैसा गुमाउनेमा क्याम्पसका प्राध्यापकदेखि कर्मचारीसम्म रहेका छन् । व्यापारीहरु पनि ठगिएका उजुरी आउने गरेको उनले सुनाए ।

एसपी कार्कीका अनुसार व्यक्तिका गोप्य फोटो र भिडियो सार्वजनिक गरिदिन्छु भन्दै धम्क्याउने र पटक–पटक पैसा असुल्ने प्रवृत्ति पनि उत्तिकै बढ्दो छ । त्यस्ता अपराध भने प्रहरीकहाँ कम आउने उनले बताए ।

‘सकेसम्म मागेजति पैसा दिनुहुन्छ । अन्तिममा ठूलै रकम दिनुपर्ने भयो भनेमात्र हामीकहाँ उजुरी लिएर आउनुहुन्छ । यस्तोमा देशका मै हुँ भन्ने मान्छेहरु फसेका छन्,’ उनले भने, ‘नेपालको जनसंख्या करिब ३ करोड छ । तर, यहाँ नेपाल टेलिकम र एनसेलको सिम लिनेको संख्या ३ करोड ११ लाख ३३ हजार रहेको छ । अर्थात्, एकभन्दा बढी मोवाइल हुनेको संख्या बढी छ । र,मोवाइलबाटै सबै ठगी धन्दा भइरहेको छ ।’

अनलाइनबाट डर देखाउनु वा धम्क्याउने ‘साइबर बुलिङ’ ,कसैको चरित्र हत्या गरिदिने, अपहरण गर्ने, मानव बेचविखन गर्ने, गलत सूचना फैलाउने प्रवृत्ति कम गर्न प्रहरीलाई नै हम्महम्मे परेको एसपी कार्कीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीमा साइबर अपराधका २ सय १३ वटा उजुुरी परेका छन् भने तीमध्ये पीडित महिलाको संख्या १ सय २० रहेको छ । यता, अनलाइनमार्फत् विभिन्न प्रकृतिका ठगीका ६ सय ७ वटा उजुरी परेका छन् । त्यसमा १९ करोड १९ लाख ५० हजार रुपैयाँभन्दा बढी ठगीको दाबी गरिएको छ ।

प्रहरीले यस्ता उजुरीहरुलाई विद्युतीय कारोबार ऐन २०६३ अनुसार कारवाही गर्छ । जसमा कसूर प्रमाणित हुँदा ३ लाखसम्म जरिवाना र ५ वर्षसम्म कैदको व्यवस्था छ । ओटीपी मागेर ठूलै रकम ठगी गर्नेहरुलाई चाहिँ प्रहरीले ठगी मुद्दामै कारवाही अगाडि बढाउँदै आएको छ । तर, सामाजिक सञ्जालबाट हुने ठगीको अनुसन्धान गर्न प्रहरीलाई सजिलो छैन । नेपालमा टिकटकमात्र हाल दर्तामा रहेको छ ।

फेसबुकदेखि टेलिग्राम, एक्स, डिस्कर्ड र अन्य खेलसम्बन्धी एप्सहरु पनि दर्तामा छैनन् । त्यहाँबाट हुने ठगी, यौन उत्पीडन, बालबालिकालाई कुलतमा लगाउने प्रवृत्ति बढ्दो छ । नक्कली फेसबुक र एक्स आइडीबाट हुने धन्दा डरलाग्दो छ ।

‘कतिपय अवस्थामा ती प्रमाण जुटाउन फेसबुक वा एक्सको कार्यालयको सहयोग चाहिन्छ तर हामी त्यहाँसम्म पुग्न कठीन छ,’ एसपी कार्की भन्छन्, ‘हामीले सामाजिक सञ्जाल नियमन गर्नुपर्छ भन्ने आवाज १० वर्षदेखि उठाउँदै आएका छौँ । अब त अपराध अनुसन्धानको यो काम प्रहरीको हातबाट फुस्कनेजस्तो पो हुन लागेको छ । यसले समाजलाई कहाँ पु¥याउला भन्ने चिन्ता छ ।’

एसपी कार्की सोमबार पोखरा उद्योग वाणिज्य संघ तथा पोखरा जेसिजले आयोजना गरेको अनलाइन स्क्याम (ठगी)बाट बच्ने उपायबारे जानकारी दिँदै थिए ।

सो कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघ तथा कार्यक्रमका अध्यक्ष गोकर्ण कार्कीले अनलाइन ठगीबाट जोगिन प्रहरी–समुदाय हातेमालो र सचेतनामूलक कार्यक्रम आवश्यक रहेकोमा जोड दिए ।

पोखरा जेसिजका अध्यक्ष सुमन पहारीले लोभमा नफस्न र अनलाइन ठगीबाट जोखिन आफ्ना सूचनाहरु जोगाउन आग्रह गरे । कार्यक्रम संयोजक निश्चल खरेलले अहिलेको जमानामा प्रहरीले सडकमा गस्ती गरेर नभएर कम्प्यूटरमा बसेर नागरिकको सुरक्षा गर्नुपर्ने अवस्था आएको बताउँदै साइबर अपराधबाट जोगिन आफै सचेत बन्नुपर्ने बताए । पोखरा जेसिजका महासचिव संजय पौडेलले साइबर आक्रणमबाट पीडितहरुलाई घटना नलुकाउन र तत्काल प्रहरीमा जानकारी दिन आग्रह गरे ।

पोखरा उद्योग वाणिज्य संघ सामाजिक विकास केन्द्रका २९ जना कर्मचारीहरूका लागि साइबर क्राइम तथा मानसिक स्वास्थ्यसम्बन्धी तालिम दिइएको छ । भायनेटको आयोजनामा जिल्ला प्रहरी कार्यालय कास्कीले सो तालिममा सहजीकरण गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका वरिष्ठ सई होतबहादुर रोकाहाले साइबर अपराधका प्रकार, सामाजिक सञ्जालको सुरक्षित प्रयोग, अनलाइन ठगी, डाटा सुरक्षा तथा कानुनी पक्षहरूबारे विस्तृत जानकारी प्रदान गरेका थिए । मानसिक स्वास्थ्यसम्बन्धी सेसनमा चाहिँ भायनेटका प्रदेश प्रमुख डिकेन्द्र थापा मुख्य वक्ता थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->