मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

संगठन, विरासत र लोकप्रियताको त्रिपक्षीय भिडन्त

संगठन, विरासत र लोकप्रियताको त्रिपक्षीय भिडन्त

नेकपा एमालेले एकल वा गठबन्धनसँग भिड्दा समेत २०६४ साल यता १५ हजारभन्दा बढी मत आफ्नो नजिक राखेर अगाडी बढेकाले एकल प्रतिस्पर्धामा दल तथा स्वतन्त्र उम्मेदवार आफ्नो प्रतिस्पर्धी हुन नसक्ने दाबी गरेको छ ।


  • ढोरपाटन ब्यूरो
  • माघ १७ २०८२, शनिबार

पोखरा/इतिहासमै पहिलोपटक नेपाली कांग्रेसले आफ्नो केन्द्रीय समिति बैठक लाइभ गरेको थियो । यसअघिका केन्द्रीय समिति बैठकमा लाइभ नगरिएता पनि सदस्यहरुले बाहिर कुरा चुहाउने भएको भन्दै तत्कालीन सभापति शेरबहादुर देउवाले नै बैठक लाइभ गर्न लगाएका थिए । त्यतिबेलाका महामन्त्री गगनकुमार थापा अहिले कांग्रेस सभापति छन् । उनले नै बैठकमा एजेण्डा पेश गरेका थिए । त्यो एजेण्डा थियो, ‘चुनावअघि कांग्रेसले गठबन्धन नगर्ने ।’ त्यसमाथि कांग्रेसका केन्द्रिय सदस्य, तत्कालीन प्रतिनिधिसभा सदस्यहरुले धारणा राखेका थिए ।

उक्त बैठकमा बोल्दै म्याग्दी कांग्रेसका सभापति खमबहादुर गर्बुजाले भनेका थिए, ‘म्याग्दीमा गठबन्धन भएन भने कांग्रेसले जित्दैन ।’

हुन पनि उनी कांग्रेस, माओवादी, नेकपा एस सहितको गठबन्धनबाट २०७९ को निर्वाचनमा विजयी बनेका थिए । तत्कालीन संस्थापन पक्षको तर्फबाट धारणा राखेका गर्बुजाले प्रतिनिधिसभा सदस्यको रुपमा आफ्नो कार्यकाल पूरा गर्न पाएनन । तर, महासमिति बैठकले चुनावअघि गठबन्धन नगर्ने निर्णय ग¥यो । अहिले विशेष महाधिवेशनबाट पारित राजनीतिक प्रतिवेदनले पनि चुनावअघि गठबन्धन नगर्ने निर्णय गरेको छ ।

गत भदौ २३ र २४ को जेनजी आन्दोलनपछि मुलुक नयाँ निर्वाचनमा होमिएको छ । फागुन २१ गतेको लागि निर्वाचनको मिति तोकिएको छ । म्याग्दीमा गर्बुजा उम्मेदवार छैनन । तर, कांग्रेसमात्रै होइन, एमाले, नेकपा, रास्वपासहितका दलहरु एक्लाएक्लै तरिकाले निर्वाचनमा होमिएका छन ।

गण्डकीको हिमाली जिल्लामध्येको एक म्याग्दी पनि चुनावमा होमिएको छ । यहाँ पुराना दलदेखि रास्वपा, उमेदवारी दर्ता गराउने दिन मन्त्रीबाट अचानक राजीनामा दिएका स्वतन्त्र उमेदवार महावीर पुनसम्म चुनावी मैदानमा छन् । रास्वपाका उमेदवार पनि मैदानमै छन । तर, पुनलाई रास्वपाले समर्थन गरेको छ ।

म्याग्दी परम्परागत रुपमा वाम शक्तिकै रुपमा परिचित छ । तत्कालीन माओवादी जनयुद्धको उत्कर्षको ताका २०६० साल चैत ७ गते माओवादीले म्याग्दी सदरमुकाम बेनीमा हमला गरेको थियो । यो हमलामा १५० भन्दा बढी सुरक्षाकर्मी मारिएका थिए । त्यही बेला एउटा फलामे पोललाई गोलीले छियाछिया पारेको तस्वीर अहिलेपनि यदाकदा सामाजिक सञ्जालमा देखिन्छ ।माओवादीको प्रभावदेखि यहाँ एमाले पनि बलियो स्थानमा छ । कांग्रेस म्याग्दीका सभापति त्यसै गठबन्धन नगरि चुनाव जितिँदैन भनेर भनेका होइनन् ।यद्यपि, अहिले म्याग्दी माओवादीको हमलादेखि जेनजीको आन्दोलनपछिको स्थितिमा अगाडि बढेको छ । सबै दलका उम्मेदवारहरु आफूले चुनाव जित्ने दाबीका साथ प्रचारप्रसारमा व्यस्त छन् ।

विगतमा झैँ म्याग्दीमा नेकपा एमाले र नेपाली कांग्रेसको मुख्य प्रतिस्पर्धाको अनुमान गरिएको थियो । नेकपा, राष्ट्रि«य स्वतन्त्र पार्टीलेसमेत एमाले र कांग्रेसको पकट क्षेत्र भत्काएर चुनावी माहौल ल्याउने रणनीति बनाइरहेका थिए । दलीय प्रतिस्पर्धाको रौनाकता छाइरहेको अवस्थामा एक्कासी स्वतन्त्र उम्मेदवारको रुपमा निर्वतमान शिक्षामन्त्री डा. महावीर पुनले माघ ६ गते मनोनयन दर्ता गरेपछि माहोल रोचक बनेको छ ।

डा. पुन भित्रिएपछि राष्ट्रि«य स्वतन्त्र पार्टीले मैदान छोडेको छ । स्वतन्त्र पार्टीका जिल्ला सभापति युवराज रोकाले पार्टीको सहमतिमा उमेदवारी फिर्ताको घोषणा गरेपनि हालसम्म जिल्ला, प्रदेश र केन्द्रीय समितिले लेडरप्याडमा समर्थनको पत्र सार्वजनिक गरेको छैन । पुराना दल नेकपा एमाले, नेपाली कांग्रेस र नेकपाका लागि स्वतन्त्र उम्मेदवार डा. पुन नै प्रमुख प्रतिस्पर्धी मानिन्छ । जिल्लाको बस्ती–बस्तीसम्म संगठन, सक्रिय कार्यकर्ताहरू भएपनि सामाजिक सञ्जाल र प्रवासमा रहेका म्याग्देलीेले डा.पुनको पक्षमा माहौल ल्याउने प्रयास गरेको देखिन्छ । म्याग्दीका राजनीतिक दलले डा. पुनको उपस्थिति कल्पनासमेत गरेका थिएनन् । संगठन नभएको अवस्थामा लोकप्रियताका कारणमात्रै चुनाव जित्न नसकिने दलहरुको तर्क छ ।

नेकपा एमाले म्याग्दीको तर्फबाट २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा सदस्य पदमा हरिकृष्ण श्रेष्ठले २० हजार १ सय ८९ मत प्राप्त गरी पराजित भएका थिए । उनलाई नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खम्बीर) ले तीन हजार आठ सय ३२ मत पछि पार्दै पारेका थिए । उक्त निर्वाचनमा नेपाली कांग्रेसलाई तत्कालीन माओवादी केन्द्र, एकिकृत समाजवादीलगायतका दलले समेत सर्मथन गरेका थिए । एकल प्रस्तिपर्धामा सजिलै विजय हुने नेकपा एमालेको बलियो आधारमा स्वतन्त्र उम्मेदवार डा. पुन चुनौतीको रुपमा देखिने सम्भावना बलियो छ ।

नेकपा एमालेको २०४६ सालयता बलियो आधार मानिएको अन्नपूर्ण गाउँपालिका ८, राम्चे, नाँगीका स्थायी बासिन्दा डा.पुन हुन् । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका एमालेको बलियो मत भएको क्षेत्रमा डा. पुनको उपस्थितिले नयाँ तथा पुराना मतदाताहरू उता ढल्किने हुन् कि भन्ने डर छ । अर्कोतर्फ जिल्लाको मगर बाहुल्यता भएको क्षेत्रको मतमा यसपटक स्वतन्त्र उम्मेदवार डा. पुनले ठूला राजनीतिक दलका मतदाताबाटसमेत मत खोस्ने जोखिम छ । अन्नपूर्ण गाउँपालिकामा १२ हजार २९ मतदाता रहेका छन् । यहाँ विगतमा नेकपा एमाले र नेपाली कांग्रेसबीच प्रतिस्पर्धा हुने गरेको थियो । नेकपाको कमजोर इलाकामा अन्नपूर्ण मानिन्छ । त्यसैगरी रघुगंगा गाउँपालिकामा १४ हजार १ सय ५८ मतदाता रहेका छन् ।

यहाँ, नेपाली कांग्रेसले लगातार दुईपटक गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष सहित बहुमत वडा जितेको छ भने नेकपा एमाले प्रतिस्पर्धी हो । बेनी नगरपालिकामा २४ हजार ४६ मतदाता छन् । नेकपा एमालेले लगातार स्थानीय तह जित्दै दुईतिहाई जनप्रतिनिधि सहित पालिकाको नेतृत्व गरिरहेको छ । मालिका गाउँपालिकामा नेकपा एमालेले एकल जितेको छ भने बहुमत कार्यपालिका सदस्य सहित स्थानीय सरकार सञ्चालन गरिरहेको छ । मालिकामा १३ हजार ३ सय ३५ मतदाता रहेका छन् । त्यसैगरी धवलागिरी गाउँपालिकामा १० हजार ८ सय ३१ मतदाता रहेकोमा बलियो नेकपा एमाले छ भने यहाँ नेपाली कांग्रेस र नेकपाको गठबन्धन गरी पालिका जितेका थिए ।

सम्रगमा जिल्लामा एकल प्रतिस्पर्धामा नेकपा एमाले बलियो रहेको यसअघिको चुनावले देखाउँछ । यसपटक सबैभन्दा चुनौती पनि एमालेलाई नै छ । नेकपा एमालेले एकल वा गठबन्धनसँग भिड्दा समेत २०६४ साल यता १५ हजारभन्दा बढी मत आफ्नो नजिक राखेर अगाडी बढेकाले एकल प्रतिस्पर्धामा दल तथा स्वतन्त्र उम्मेदवार आफ्नो प्रतिस्पर्धी हुन नसक्ने दाबी गरेको छ ।

यता नेपाली कांग्रेस म्याग्दीले गएको प्रतिनिधिसभाको मत जोगाउँदै नयाँ पुस्ताको मतबाट सजिलै विजय हुने बताइरहेको छ । नेपाली कांग्रेसले निर्वाचनको मुखमा विशेष महाधिवेशन गरेर चुनावमा होमिएपनि देउवा सर्मथक मानिने जिल्ला सभापति गर्बुजाले समेत महाधिवेशनबाट विजय भएका जिल्ला तथा केन्द्रिय नेताहरूलाई बधाई दिएर चुनावी मैदानमा निस्किएकाले नतिजा आफ्नो पक्षमा रहेको दावी गर्ने गरेको छ । नेकपाका उम्मेदवार अर्जुन थापालाई प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली, हरी भण्डारीले गरेका विकास निर्माणका कार्यहरू, पार्टीमा थपिएका कार्यकर्तासँगै युवाहरूको जनमतले जित्ने आधार देखिएको बताउँछन् ।

अन्नपूर्ण, रघुगंगा गाउँपालिकामा नेपाली कांग्रेस, नेकपा एमालेको मत स्वतन्त्रले घटाउने, बेनी नगरपालिका, मंगला, मालिका र धवलागिरी गाउँपालिकामा आफ्नो मत यथावत रहेको अवस्थामा प्रतिस्पर्धाबाट २०६४ सालको जस्तै विजय हुने बताएपनि माओवादीसहित पुराना दलका नेताहरू ढुक्क भने छैनन् । प्रतिनिधिसभा सदस्यमा एउटा मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा यसपटक अन्य साना दलहरू अस्तित्व जोगाउने दाउमा छन् । बलियो संगठन, दलीय प्रभाव बस्तीसम्म भएपनि यसपटक राजनीतिक दलले जेनजी आन्दोलनपछिको अवस्थामा झनै राष्ट्रि«य पहिचान बनाएका ब्यक्ती नै उम्मेदवार भएपछि विरासत जोगाउने तरिकाले अघि बढिरहेको देखिन्छ । म्याग्दीमा विगतका निर्वाचनमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपाका उम्मेदवारको पक्षमा देखिएका मतदातासँगै बस्तीमा रहेकाहरुसमेत अहिले केही फरक शैलीमा हिँड्न थालेकाले पनि चुनौती छ । म्याग्दीमा साना दलबाट राष्ट्रिय प्रजातन्त्र पार्टीबाट डम्मरबहादुर सुवेदी, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट देवेन्द्र कामी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को तर्फबाट क्षेत्रबहादुर घिमिरे (धु्रव) छन् । एउटामात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा निर्वाचनका लागि कुल ८६ हजार ३९७ मतदाता कायम भएका छन् । एक नगरपालिका र पाँच गाउँपालिकामा समेटिएको प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र रहेको म्याग्दीमा अन्य एक जना, महिला ४४ हजार ६४ र पुरुष ४२ हजार ३३२ मतदाता रहेका छन्। निर्वाचनका लागि जिल्लामा ८२ वटा मतदानस्थल र १२० मतदान केन्द्र कायम गरिएको छ ।

२०७९ को प्रतिनिनि सभा निर्वाचनमा एमालेले समानुपातिक तर्फ १८ हजार २७३ मत ल्याएको थियो । दोश्रोमा कांग्रेसले १३ हजार ६९३, तत्कालीन माओवादी केन्द्रले नौ हजार ७०, रास्वपाले तीन हजार ५७९ मत ल्याएको थियो । राप्रपाले भने यहाँ एक हजार २५३ मत ल्याउँदा अन्य दलले तीन अंक कटाउन सकेनन् ।

‘प्रश्न तपाईंको : जवाफ उम्मेदवारको’
म्याग्दी जेसीजले आयोजना गरेको प्रत्यक्ष संवाद कार्यक्रममा म्याग्दीबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार भएका ८ जना उम्मेदवारहरुले जनपक्षीय काम गर्ने प्रतिबद्धता जनाएका छन ।

‘प्रश्न तपाइको जवाफ उम्मेदवारको’, प्रतिनिधिसभा सदस्य उम्मेदवारहरु सँग प्रत्यक्ष संवाद कार्यक्रममा सहभागी भएका आठै जना उमेदवारहरुले जनताको पक्षमा काम गर्ने बताएका हुन । प्रतिनिधिसभाका लागि म्याग्दीबाट उम्मेदवारी दिनुभएका १२ मध्ये सामाजिक सञ्जालमा निकै चर्चामा रहेका स्वतन्त्र उम्मेदवार महावीर पुन, नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापा, मंगोल नेशनल अर्गनाइजेसनका भीमबहादुर लामा र नेसनल रिपब्लिकन पार्टीका उम्मेदवार तुलप्रसाद गर्बुजा भने सहभागी भएनन ।

कार्यक्रममा नेकपा एमालेका हरिकृष्ण श्रेष्ठ, नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी, जनमोर्चाका छेमबहादुर बिश्वकर्मा, राप्रपाका डम्भरबहादुर सुवेदी, प्रगतिशिल लोकतान्त्रीक पार्टीका देवेन्द्र कामी, श्रम संस्कृति पार्टीका विनोद राना, नेकपा माओवादीका क्षेत्रबहादुर घिमिरे र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का युवराज रोका सहभागी थिए ।

एमालेका उमेदवार हरिकृष्ण श्रेष्ठले केपी ओली नेतृत्वको सरकारको पालामा खुलेको कोराला नाका अहिले प्रयोगमा आइरहेको र त्यसलाई अझै व्यवस्थित बनाउनकालागि आफ्नो जित आवश्यक रहेको बताए ।जनताको प्रतिनिधि भएर जनताकै काम गर्ने बताउँदै जनताको आवश्यकतालाई नै मूललक्ष्य रहने उनले बताए ।

विद्युत, पुल, सञ्चार, शिक्षा, स्वास्थ्य जस्ता आधारभुत आवश्यकतालाई आफू र नेकपा एमालेको लक्ष्यका रुपमा अगाडी बढाउने उनको भनाइ छ ।

कांग्रेसका कर्णबहादुर भण्डारीले देशमा व्यप्त कुशासनले जनता आक्रान्त भएको अहिलेको अवस्थामा आफ्नो जित अपरिहार्य रहेको बताए ।

उनले जनताको पक्षमा काम गर्नु आफ्नो ध्येय हो र समृद्ध र सम्मानित नेपालका लागि आफ्नो भूमिका रहने बताए । सुविधा सम्पन्न अस्पताल, सबै प्रकारको विषय पढाइ हुने कलेजको स्थापना आफ्नो प्राथमिकता रहेको उनको भनाई छ । उम्मेदवार भण्डारीले आफू हङकङ आइडी भएको मानिस हुँदै गर्दा पनि नेपालमै काम गर्ने प्रतिबद्धता गरेका थिए ।

राप्रपाका डम्मरबहादुर सुवेदीले राष्ट्रिय ढुकुटीमा शुद्धताका लागि आफ्नो पहलकदमी हुने बताए । उनले भ्रष्टाचार गर्नु भनेको आफ्नी आमाको रगत पिउनु समान हुने भएकाले त्यो अन्त्य गर्दै ढुकुटीमा सुद्धता नै प्राथमिकता भएको धारणा राखे ।

प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार देवेन्द्र कामीले जुन दिन गर्नुपर्छ त्यही दिन सबैले देख्नुहुन्छ, अहिल्यै प्रतिबद्धता आवश्यक नरहेको धारणा राखे । पाँच पुस्ता देखि आफ्नो परिवारले आरन पेशा गर्दै आएको र अहिले पनि आफ्नो त्यही पेसा रहेको उनको भनाइ थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार युवराज रोकाले भ्रष्टाचार अन्त्य मूल मन्त्र रहेको बताउनुभयो । उहाँले पब्लिक डिबेट जस्तो कार्यक्रममा सबै उम्मेदवार आउनु पर्नेमा कतिपय उमेदवार नआउनु दुःखद रहेको सुनाए ।

श्रम संस्कृति पार्टीका उम्मेदवार विनोद रानाले देश बनाउन श्रम गर्नुपर्ने धारणा राखे ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का उम्मेदवार क्षेत्रबहादुर घिमिरेले राष्ट्र निर्माणको प्रयासका लागि आफ्नो उम्मेदवारी रहेको बताए । उनले मतदाता खरिदबिक्री गर्ने जस्ता गलत कार्य निमिट्यान्न पार्नु पर्ने सुनाए । सत्ताले नेतालाई बिगारेको विगतमा भनिने गरेको भए पनि अहिले नयाँ भनिएकाहरु नै आफै संक्रमित अवस्थामा रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->