मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

सामाजिक सञ्जालमार्फत् हुने प्रचारको खर्च हेरियोस् : मेयर आचार्य

सामाजिक सञ्जालमार्फत् हुने प्रचारको खर्च हेरियोस् : मेयर आचार्य

चुनाव र आचारसंहिता


  • ढोरपाटन संवाददाता
  • माघ १७ २०८२, शनिबार

पोखरा/काठमाडौं र भरतपुरका मेयर राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनमा होमिँदा पोखराका मेयर धनराज आचार्य भने चुनौतीसँग पौंठेजोरी खेलिरहेका छन् । पोखराको सडकमा थुप्रिएको फोहोर व्यवस्थापन उनको टाउको दुखाइ बनेको छ । राजनीतिक दलको साथ खोजेका उनै मेयर आचार्य शुक्रबार चुनावसँग जोडिएको एक कार्यक्रममा वक्ता बनेर उपस्थित भए ।

पहिलोपटक होमिएको चुनावमा नै सफलता पाएका उनीसँग चुनाव कसरी हाँक्ने र छिद्रहरु खेलेर आचारसंहिता उल्लंघनबाट कसरी बँच्ने भन्ने पनि थाहा छ । यो उनले नै स्वीकारे ।

‘मैले एउटा चुनावमात्र लडेको हो, बाँकी चुनावको व्यवस्थापन गरेको अनुभव छ । चुनावमा नदेखिने खर्च बढी हुन्छ । जित्नेहरुले चुनावी हिसाब–किताब बुझाउँछन्, हार्नेहरुलाई काम सकियो भन्ने हुन्छ । अघिल्लोपटक पनि त्यस्तै भयो । पछि बल्लबल्ल सामूहिक रुपले नै डेलिगेसन गएर हिसाब मिलान भयो,’ उनले भने, ‘अहिले निर्वाचन आयोगले नै धेरै कुरा मिलाइदिएकाले सजिलो भएको छ ।’

उनले फोटोसहितको मतदातापत्र नहुँदासम्म २५ प्रतिशत मत अर्कैले हाल्ने गरेको जिकिर गर्दै भने, ‘यहाँ अहिले धेरै कुरा भएको छ । निर्वाचन आयोगले नै धेरै कुरा मिलाइदिएको छ । अहिले प्रचारको शैली बदलिएको छ । सामाजिक सञ्जालबाट प्रचार गर्न डलर कार्ड चाहिन्छ । हामीसँग डलर कार्ड छैन । त्यसमा गरिने खर्चमा पनि निर्वाचन आयोगको ध्यान पुगोस् ।’

जिल्ला प्रशासन कार्यालय कास्कीद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि निर्वाचन शान्ति सुरक्षा, आचारसंहिता कार्यान्वयन तथा आपूर्ति व्यवस्थापन विषयमा सम्बद्ध निकायबीच आयोजित संयुक्त बैठक एवम् अन्तक्र्रियामा कार्यक्रममा बोल्दै कास्कीका मुख्य निर्वाचन अधिकृत हिमलाल बेलबासेले आचारसंहिताको प्रभावकारी कार्यान्वयन सबैको साझा दायित्व भएकाले यो दायित्वलाई सबैले आत्मसात गर्नुपर्नेमा जोड दिए ।कास्की जिल्लामा निर्वाचन आचारसंहिताको उल्लंघन भएको विषयमा हालसम्म कुनै उजुरी नपरेको उनको भनाइ थियो ।

कार्यक्रमकी अध्यक्ष प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले शान्ति सुरक्षा र निर्वाचन आचारसंहिताको अनुगमन एकैसाथ अघि बढ्ने बताइन् । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले निर्वाचनलाई निष्पक्ष बनाउन सम्बद्ध सबैको सामूहिक प्रयास हुनुपर्ने आवश्यकता औंल्याए ।

सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले निर्वाचन आचारसंहितामा उल्लिखित विषयबारे जानकारी गराए । कोष तथा लेखा नियन्त्रक कार्यालय कास्कीका प्रमुख कोष नियन्त्रक रमेश अर्यालले उम्मेदवारले बैंकिङ प्रयोजनका लागि अनिवार्य खाता खोल्नुपर्ने व्यवस्था सम्झाए ।

राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रदेश कार्यालयका प्रमुख नीतु गड्तौलाले निर्वाचनको प्रचारका क्रममा कुनै पनि जातीय विभेद हुने खालका अभिव्यक्ति आउन नहुने बताउँदै निर्वाचनमा खटिने महिला कर्मचारीलाई सुरक्षित अनुभूति हुने किसिमले व्यवस्थापन गराउन सुझाव व्यक्त गरिन् । जिल्लामा उम्मेदवारहरूले निर्वाचन प्रयोजनका लागि खर्च गर्न पाउने रकमको सीमा तोकेको बताउँदै उनले कास्कीको क्षेत्र नम्बर १, २ र ३ मा क्रमशः २९ लाख, २७ लाख र ३१ लाख रुपैयाँ निर्धारण गरिएको जानकारी गराए । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुली, सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल, नेकपा (एमाले) कास्कीका उपाध्यक्ष भेषराज बराल, नेकपा (माओवादी) का उमेश सिके, नेपाली कम्युनिष्ट पार्टीका खड्ग हमाल, नारी जागरण अभियानका संयोजक अञ्जु केसी, नेपाल कर्मचारी युनियन कास्कीका अध्यक्ष केदार सापकोटालगायतले विभिन्न सुझाव राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->