सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

वि.सं.२०७९ को निर्वाचनमा कम मतान्तरले हारजित भएका यी २० क्षेत्रमा को को भिड्दैछन् यसपटक ?

वि.सं.२०७९ को निर्वाचनमा कम मतान्तरले हारजित भएका यी २० क्षेत्रमा को को भिड्दैछन् यसपटक ?

गत निर्वाचनमा ११ सयभन्दा कम मतान्तरले एमालेका १०, माओवादीका ४, कांग्रेसका ३, रास्वपाका २ र राप्रपा १ स्थानमा पराजित भएका थिए ।


  • ढोरपाटन संवाददाता
  • माघ २० २०८२, मंगलबार

काठमाडौं / २०७९ को निर्वाचनमा १६ वटा निर्वाचन क्षेत्रमा एक हजारभन्दा कम मतान्तरमा हारजित भएका छन् । त्यतिबेला कांग्रेस र एमाले दुई ध्रुवको गठबन्धनबीच देशभरि नै मुख्य प्रतिस्पर्धा भएको थियो । कांग्रेस नेतृत्वको गठबन्धनमा तत्कालीन माओवादी केन्द्र, एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी समावेश थिए । एमाले नेतृत्वको गठबन्धनमा जसपा नेपाल र राप्रपा समावेश थिए । यीमध्ये अधिकांशमा कांग्रेस र एमालेबीचमा नै तीव्र प्रतिस्पर्धा देखिएको थियो ।

यसरी झिनो मतान्तरमा कांग्रेसले एमालेलाई, एमालेले कांग्रेसलाई चार/चार निर्वाचन क्षेत्रमा पराजित गरेका थिए । त्यसैगरी एमालेले रास्वपालाई, जसपा नेपालले रास्वपालाई, कांग्रेसले राप्रपालाई, नागरिक उन्मुक्तिले माओवादीलाई, एकीकृत समाजवादीले एमालेलाई एक/एक निर्वाचन क्षेत्रमा पराजित गरेका थिए । माओवादीलाई एमालेले र एमालेले माओवादीलाई दुई/दुई निर्वाचन क्षेत्रमा पराजित गरे ।

राजनीतिक विश्लेषक केशव दाहाल त्यतिबेलाको हिसाबकिताब यस पटकको चुनावको जोड-घटाउमा नमिल्ने बताउँछन् । उनका अनुसार २०७९ को चुनावमा पार्टीले निर्णय गरेपछि कम्तीमा ५०/६० प्रतिशत मतदाता पार्टीसँग डोरिन्थे । तर, यस पटक मतदाता मात्रै नभएर कार्यकर्तासमेत पार्टीको निर्णय नमान्ने स्थितिमा पुगेको उनको बुझाइ छ । ‘अघिल्लो चुनावको हिसाबकिताब यस पटक मिल्ने देखिँदैन । त्यतिबेलाको मुद्दा राजनीतिक थियो, यस पटक अनुहार छ । यो दुःखद हो । अहिले चुनावको सम्पूर्ण बहस झापा-५ मा गएर केन्द्रित छ,’ दाहाल भन्छन्, ‘सम्पूर्ण मतदातालाई चिन्ने अवस्थामा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई के हुन्छ-हुन्छ भइरहेको छ, ढुक्क छैनन्, संशय छ । अन्य ठाउँको स्थिति पनि त्यस्तै हो ।’

यसअघिको चुनावमा पाँचथरमा सबैभन्दा कम मतान्तरले हारजित भएको थियो । एमालेका वसन्तकुमार नेम्वाङले कांग्रेसका भीष्मराज आङदेम्बेलाई सबैभन्दा कम ९६ मतान्तरमा पराजित गरेका थिए । अहिले यस क्षेत्रमा कांग्रेस र एमाले दुवैले उम्मेदवार बदलेका छन् । एमालेले अइन्द्रसुन्दर नेम्वाङ र कांग्रेसले नरेन्द्रकुमार केरुङलाई उम्मेदवार बनाएका छन् ।

रास्वपाको यस क्षेत्रमा खासै प्रभाव थिएन । समानुपातिकतर्फ पनि एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी तेस्रो भएका थिए । रास्वपाले यस क्षेत्रमा समानुपातिकतर्फ जम्मा १ हजार ९ सय ४८ मत मात्रै प्राप्त गरेको थियो ।

सुनसरी-४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले एमालेका जगदीशप्रसाद कुसियतलाई जम्मा १ सय १२ मतान्तरले पराजित गरेका थिए । यस क्षेत्रमा यस पटक पनि यिनै दुई उम्मेदवारबीच चर्को प्रतिस्पर्धा छ । कांग्रेस र एमालेबीच प्रत्यक्षमा थोरैको मतान्तर परे पनि समानुपातिक मतमा भने साढे सात हजारको फरक छ ।

धनुषा-४ मा एमालेका रघुवीर महासेठले कांग्रेसका तत्कालीन केन्द्रीय कार्यसमितिका सहमहामन्त्री महेन्द्र राय यादवलाई जम्मा १ सय २४ मतले पराजित गरेका थिए । अहिले पनि एमालेबाट महासेठ र कांग्रेसबाट यादव नै उम्मेदवार छन् । यस क्षेत्रमा तेस्रो दल जसपा नेपाल थियो ।

काठमाडौं-१ मा कांग्रेसका प्रकाशमान सिंहले राप्रपाका रवीन्द्र मिश्रलाई जम्मा १ सय २५ मतान्तरले पराजित गरेका थिए । २०४८ देखि निरन्तर चुनावी प्रतिस्पर्धामा रहेका सिंहको यस पटकको संसदीय यात्रामा ब्रेक लागेको छ । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिले यस पटक सिंहलाई बाहिर राखेर युवा नेता प्रवल थापालाई उम्मेदवार बनाएको छ । राप्रपाबाट भने मिश्र नै उम्मेदवार छन् । समानुपातिक मतमा कांग्रेस पहिलो रहँदा रास्वपा दोस्रो र राप्रपा तेस्रो स्थानमा आएका हुन् ।

बर्दिया-२ बाट नागरिक उन्मुक्ति पार्टीका लालवीर चौधरीले माओवादीका सुरेश पन्थलाई १ सय ३६ मतको अन्तरमा पराजित गरेका हुन् । चौधरी रेशमका बुबा हुन् । त्यतिबेला उनी स्वतन्त्र उम्मेदवार थिए । समानुपातिकतर्फ भने कांग्रेस दोस्रो, माओवादी तेस्रो र एमाले चौथो स्थानमा थिए । त्यसपछि मात्रै रास्वपाको मत थियो । यस क्षेत्रमा कांग्रेसले तत्कालीन पार्टीका सहमहामन्त्री किशोरसिंह राठोरलाई उम्मेदवार बनाएको छ । माओवादीले पन्थलाई दोहोर्‍याएको छ । रास्वपाले श्रीधर पोखरेललाई उम्मेदवार बनाएको छ ।

पर्सा-३ बाट एमालेका राजकुमार गुप्ताले कांग्रेसका सुरेन्द्र चौधरीलाई १ सय ६७ मतले मात्रै पराजित गरेका हुन् । यसअघि निर्वाचित गुप्ताको ठाउँमा एमालेले यस पटक रूपेश पाण्डेलाई टिकट दिएको छ । कांग्रेसले चौधरीलाई दोहोर्‍याएको छ ।

दाङ-२ मा एमालेका महासचिव शंकर पोखरेललाई झिनो मतान्तरले हराएर माओवादीकी नेतृ रेखा शर्मा चर्चामा आएकी थिइन् । शर्माले पोखरेललाई जम्मा १ सय ९३ मतान्तरमा पराजित गरेकी थिइन् । एमालेले अहिले पनि पोखरेललाई उम्मेदवार बनाएको छ भने (तत्कालीन माओवादी) नेकपाले शर्माको ठाउँमा निर्मल आचार्यलाई उम्मेदवार बनाएको छ । प्रत्यक्षमा शर्माले जिते पनि समानुपातिक मत भने माओवादीको चौथो स्थानमा थियो । पहिलो एमाले, दोस्रो कांग्रेस र तेस्रोमा रास्वपाको मत छ ।

ताप्लेजुङमा एमालेका योगेश भट्टराईले माओवादीकै खेलप्रसाद बुढा क्षेत्रीलाई २ सय ८ मतान्तरमा पराजित गरेका थिए । एमालेले यस पटक भट्टराईलाई उम्मेदवार बनाएको छैन । भट्टराईको ठाउँमा एमालेले क्षितिज थेबेलाई उम्मेदवार बनाएको छ । नेकपाबाट बुढा क्षेत्रीलाई दोहोर्‍याएको छ ।

२०७९ को निर्वाचनमा ११ सयभन्दा कम मतबाट हारजित भएका २० निर्वाचन क्षेत्रहरू :

  • ताप्लेजुङ

निर्वाचित : योगेशकुमार भट्टराई (एमाले)

मत : २१९४३

प्रतिद्वन्द्वी : खेलप्रसाद बुढा क्षेत्री (माओवादी)

मत : २१७३५

मतान्तर : २०८

समानुपातिक मत :

एमाले– १९६०४

कांग्रेस– १५७३५

माओवादी– ५१६२

रास्वपा– ९७८

वर्तमान उम्मेदवार :

क्षितिज थेबे (एमाले), गजेन्द्रप्रसाद तुम्याङ (कांग्रेस), वीरेन्द्र श्रेष्ठ (रास्वपा), खेलप्रसाद बुढा

क्षेत्री (नेकपा)

  • पाँचथर

निर्वाचित : वसन्तकुमार नेम्वाङ (एमाले)

मत : ३२१३५

प्रतिद्वन्द्वी : भीष्मराज आङ्देम्बे (कांग्रेस)

मत : ३२०८९

मतान्तर : ९६

समानुपातिक मत :

एमाले– २६५९२

कांग्रेस– १९०४४

माओवादी– १२१६९

रास्वपा– १९४८

वर्तमान उम्मेदवार : अइन्द्रसुन्दर नेम्वाङ (एमाले), नरेन्द्रकुमार केरुङ (कांग्रेस), महेन्द्रविक्रम थाम्सुहाङ (रास्वपा), हर्कबहादुर नेम्वाङ (नेकपा)

  • मोरङ–१

निर्वाचित : डिकबहादुर लिम्बू (कांग्रेस)

मत : २७२९७

प्रतिद्वन्द्वी : घनश्याम खतिवडा (एमाले)

मत : २६८६७

मतान्तर : ४३०

समानुपातिक मत :

एमाले– २३३४२

कांग्रेस– १७०१५

रास्वपा– ९७७४

माओवादी– ६४४५

वर्तमान उम्मेदवार : खड्गबहादुर फागो (कांग्रेस), घनश्याम खतिवडा (एमाले), यज्ञमणि न्यौपाने (रास्वपा), कुलप्रसाद साम्बा (नेकपा)

  • सुनसरी–१

निर्वाचित : अशोककुमार राई (जसपा)

मत : १७०५९

प्रतिद्वन्द्वी : गोमा तामाङ (रास्वपा)

मत : १६६०६

मतान्तर : ४५३

समानुपातिक मत :

एमाले– २००९८

रास्वपा– १७७५०

कांग्रेस– ११७५०

राप्रपा– ९७६८

माओवादी– ४६५६

वर्तमान उम्मेदवार : सुजेन्द्र तामाङ (कांग्रेस), सूर्य पन्दाक (एमाले), सरिन तामाङ (रास्वपा), सूर्यबहादुर भट्टराई (नेकपा), हर्क साम्पाङ (श्रम संस्कृति पार्टी)

  • सुनसरी–४

निर्वाचित : ज्ञानेन्द्रबहादुर कार्की (कांग्रेस)

मत : ३०४८३

प्रतिद्वन्द्वी : जगदीशप्रसाद कुसियत (एमाले)

मत : ३०३७१

मतान्तर : ११२

समानुपातिक मत :

कांग्रेस– २८,०८२

एमाले– २०५७६

जसपा– ६,५६५

राप्रपा– ५६१०

रास्वपा– ५०६८

वर्तमान उम्मेदवार : ज्ञानेन्द्रबहादुर कार्की (कांग्रेस), जगदीशप्रसाद कुसियत (एमाले), दीपककुमार शाह (रास्वपा), महमद महफुज अन्सारी (नेकपा)

  • धनुषा–४

निर्वाचित : रघुवीर महासेठ (एमाले)

मत : ३२२३६

प्रतिद्वन्द्वी : महेन्द्र यादव (कांग्रेस)

मत : ३२११२

मतान्तर : १२४

समानुपातिक मत :

एमाले– २६९१९

कांग्रेस– २५०२८

जसपा नेपाल– ६७६७

एकीकृत समाजवादी– ५२७४

रास्वपा– २८२६

वर्तमान उम्मेदवार : रघुवीर महासेठ (एमाले), महेन्द्र यादव (कांग्रेस), सञ्जयकुमार महतो (नेकपा), राजकिशोर महतो (रास्वपा)

  • सर्लाही–३

निर्वाचित : हरिप्रसाद उप्रेती (एमाले)

मत : ३२९३८

प्रतिद्वन्द्वी : नरेन्द्र साह कलवार (माओवादी)

मत : ३२१६८

मतान्तर : ७७०

समानुपातिक मत :

माओवादी– १५४७१

एमाले– १५००६

जसपा नेपाल– १२०७९

कांग्रेस– ९९७९

रास्वपा– ६९६२

वर्तमान उम्मेदवार : नारायणकाजी श्रेष्ठ (नेकपा), विनोद खनाल (कांग्रेस), हरि उप्रेती (एमाले), नरेन्द्र साह कलवार (रास्वपा)

  • पर्सा–३

निर्वाचित : राजकुमार गुप्ता (एमाले)

मत : २४३१९

प्रतिद्वन्द्वी : सुरेन्द्रप्रसाद चौधरी (कांग्रेस)

मत : २४१५२

मतान्तर : १६७

समानुपातिक मत :

कांग्रेस– १७४४३

एमाले– १५२५४

जसपा नेपाल– ४४५०

माओवादी– ३१४३

रास्वपा– १३६४

वर्तमान उम्मेदवार : रूपेश पाण्डे (एमाले), सुरेन्द्रप्रसाद चौधरी (कांग्रेस), रमाकान्त चौरसिया (रास्वपा) र छोटेलाल यादव (नेकपा)

  • दोलखा

निर्वाचित : गंगा कार्की (माओवादी)

मत : ३६८२०

प्रतिद्वन्द्वी : बालकृष्ण शिवाकोटी (एमाले)

मत : ३६५०५

मतान्तर : ३१५

समानुपातिक मत :

एमाले– ३०९८६

कांग्रेस– १७००७

माओवादी– ११५८२

रास्वपा– ५५६६

वर्तमान उम्मेदवार : पार्वत गुरुङ (एमाले), अजयबाबु शिवाकोटी (कांग्रेस), विशाल खड्का (नेकपा), जगदीश खरेल (रास्वपा)

  • काठमाडौं–१

निर्वाचित : प्रकाशमान सिंह (कांग्रेस)

मत : ७१४३

प्रतिद्वन्द्वी : रवीन्द्र मिश्र (राप्रपा)

मत : ७०१८

मतान्तर : १२५

समानुपातिक मत :

कांग्रेस– ६९९१

रास्वपा– ५६१८

राप्रपा– ५०७२

एमाले– ३७९३

वर्तमान उम्मेदवार : प्रवल थापा (कांग्रेस), मोहनराज रेग्मी (एमाले), रञ्जु दर्शना (रास्वपा), रवीन्द्र मिश्र (राप्रपा), मेनका भण्डारी (नेकपा)

  • काठमाडौं–९

निर्वाचित : कृष्णगोपाल श्रेष्ठ (एमाले)

मत : ११९५६

प्रतिद्वन्द्वी : टेकबहादुर पोखरेल (रास्वपा)

मत : १०९६१

मतान्तर : ९९५

समानुपातिक मत :

रास्वपा– ११५०२

एमाले– ९४०६

कांग्रेस– ८००५

राप्रपा– ६१२८

वर्तमान उम्मेदवार : नानु बाँस्तोला (कांग्रेस), अजयक्रान्ति शाक्य (एमाले), डोलप्रसाद अर्याल (रास्वपा), राधाकृष्ण महर्जन (नेकपा)

  • भक्तपुर २

निर्वाचित : दुर्लभ थापा (कांग्रेस)

मत : २४२३९

प्रतिद्वन्द्वी : महेश बस्नेत (एमाले)

मत : २३२८२

मतान्तर : ९५७

समानुपातिक मत :

एमाले– १७८७६

कांग्रेस– १४८९४

रास्वपा– ११८९६

नेपाल मजदुर किसान पार्टी– ७८६३

वर्तमान उम्मेदवार : महेश बस्नेत (एमाले), कवीर राणा (कांग्रेस), राजीव खत्री (रास्वपा), रामप्रसाद सापकोटा (नेकपा)

  • कपिलवस्तु–२

निर्वाचित : सुरेन्द्रराज आचार्य (कांग्रेस)

मत : ३९०१४

प्रतिद्वन्द्वी : बृजेशकुमार गुप्ता (एमाले)

मत : ३८६९७

मतान्तर : ३१७

समानुपातिक मत :

कांग्रेस– ३१३२५

एमाले– ३०२८७

जसपा, नेपाल– ५६११

रास्वपा– ४२९९

वर्तमान उम्मेदवार : सुरेन्द्रराज आचार्य (कांग्रेस), दीर्घनारायण पाण्डे (एमाले), विक्रम थापा (रास्वपा), बृजेशकुमार गुप्ता (नेकपा)

  • दाङ–२

निर्वाचित : रेखा शर्मा (माओवादी)

मत : २६८८०

प्रतिद्वन्द्वी : शंकर पोखरेल (एमाले)

मत : २६६८७

मतान्तर : १९३

समानुपातिक मत :

एमाले– २३५६८

कांग्रेस– १९५९१

रास्वपा– १३०३३

माओवादी– १०८२०

वर्तमान उम्मेदवार : शंकर पोखरेल (एमाले), किरणकिशोर घिमिरे (कांग्रेस), विपिन आचार्य (रास्वपा), निर्मल आचार्य (नेकपा)

  • बर्दिया–२

निर्वाचित : लालवीर चौधरी

(स्वतन्त्र, पछि नागरिक उन्मुक्ति)

मत : २६५२०

प्रतिद्वन्द्वी : सुरेश पन्थ (माओवादी)

मत : २६३८४

मतान्तर : १३६

समानुपातिक मत :

नागरिक उन्मुक्ति– २८८१३

कांग्रेस– १६५५

माओवादी– १४७१४

एमाले– १३८७९

रास्वपा– ४५१४

वर्तमान उम्मेदवार : किशोरसिंह राठोर (कांग्रेस), विमला विक (एमाले), श्रीधर पोखरेल (रास्वपा), सुरेश पन्थ (नेकपा)

  • दैलेख–१

निर्वाचित : अम्बरबहादुर थापा (एस)

मत : १८२९७

प्रतिद्वन्द्वी : रवीन्द्रराज शर्मा (एमाले)

मत : १७४४५

मतान्तर : ८५२

समानुपातिक मत :

एमाले– १६३१३

कांग्रेस– १५८३७

एकीकृत समाजवादी– ३१६६

माओवादी– २६४५

रास्वपा– ८८७

वर्तमान उम्मेदवार : रवीन्द्रराज शर्मा (एमाले), बासना थापा (कांग्रेस), एनके बस्नेत (रास्वपा), अम्बरबहादुर थापा (नेकपा)

११ सयभन्दा तलको मतान्तर

  • बझाङ

निर्वाचित : भानुभक्त जोशी (एस)

मत : २८४१३

प्रतिद्वन्द्वी : ऐनबहादुर महर (एमाले)

मत : २७४१२

मतान्तर : १००१

समानुपातिक मत :

एमाले– २२६७४

कांग्रेस– १९४३७

माओवादी– ८२९५

रास्वपा– १२९६

वर्तमान उम्मेदवार : ऐनबहादुर महर (एमाले), प्रकाश रसाइली स्नेही (कांग्रेस), शैलशकुमार सिंह (रास्वपा), मीनबहादुर कुँवर (नेकपा)

  • धनुषा–२

निर्वाचित : रामकृष्ण यादव (कांग्रेस)

मत : २०११२

प्रतिद्वन्द्वी : उमाशंकर अरगरिया (एमाले)

मत : १९०९५

मतान्तर : १०१७

समानुपातिक मत :

एमाले– १७४०३

कांग्रेस– १५४०३

जसपा नेपाल– १३५१३

जनमत– १२९९२

रास्वपा– ६१७

वर्तमान उम्मेदवार : दिनेश पर्सेला (कांग्रेस), उमाशंकर अरगरिया (एमाले), रामविनोद साह (रास्वपा), रामचन्द्र झा (नेकपा)

  • महोत्तरी–१

निर्वाचित : लक्ष्मी महतो कोइरी (एमाले)

मत : २३४०२

प्रतिद्वन्द्वी : गिरिराजमणि पोखरेल (माओवादी)

मत : २२३७२

मतान्तर : १०३०

समानुपातिक मत :

माओवादी– १५३९४

एमाले– १२१६७

रास्वपा– ६१२६

कांग्रेस– ४७४८

जनमत– ७

वर्तमान उम्मेदवार : लक्ष्मी महतो कोइरी (एमाले), मुकेशराज काफ्ले (कांग्रेस), प्रमोद महतो (रास्वपा), गिरिराजमणि पोखरेल (नेकपा)

  • तेह्रथुम

निर्वाचित : सीता गुरुङ (कांग्रेस)

मत : १९७०७

प्रतिद्वन्द्वी : विजय सुब्बा (एमाले)

मत : १८६३१

मतान्तर : १०७६

समानुपातिक मत :

एमाले– १७२५८

कांग्रेस– १४६०६

माओवादी– ३०६६

रास्वपा– २१८८

वर्तमान उम्मेदवार : भानुभक्त ढकाल (एमाले), सन्तोष सुब्बा (कांग्रेस), सुरेन्द्र कार्की (रास्वपा), रणध्वज कन्दङ्वा (नेकपा)
कान्तिपुरबाट

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->