काठमाडौं / नेकपा (एमाले) का उपाध्यक्ष तथा लमजुङमा एमालेका उम्मेदवार पृथ्वीसुब्बा (पीएस) गुरुङले पुराना पार्टीहरू अहिले पनि असान्दर्भिक नभएको दाबी गरेका छन्। प्रेस चौतारी नेपालको निर्वाचन संवाद कार्यक्रममा बोल्दै गुरुङले जनताले अनुहार नयाँ नखोजेको जिकिर गरे।
उनले भने, ‘चुनावमा हामी लागिसकेका छौँ तर बजारमा नयाँ भन्ने हल्ला चलिरहेको छ। नयाँ भनेको अनुहारमा कि विचारमा कि के हो ? जनताले नयाँ अनुहार खोजेका होइनन्, सुधारिएका पार्टीहरू खोजेका हुन्। परिष्कृत भिजन र नीतिसहित अघि बढेका पार्टी र नेता खोजेका छन्।’
उनले अहिले नेपालको संविधान र राजनीतिक व्यवस्थामाथि आक्रमण भइरहेको बताए। उनले स्वाधीन नेपालको पक्षमा एमाले उभिएकोले सबैभन्दा धेरै आक्रमण भएको बताए।
उनले थपे, ‘हामीसँग अनुभव, परिपक्वता र ठोस नीति छ। मुलुकलाई चलाउनसक्ने हिम्मत र अठोट पनि छ। ठोस भिजन बोकेको पार्टी हाम्रो हो।’ उनले कांग्रेसको पार्टी सभापतिसहित पदाधिकारीमा नयाँ अनुहार आएको भएपनि नयाँ भिजन, नीति र कार्यक्रम नदेखिएको बताए।
उनले रास्वपाले भावी प्रधानमन्त्रीको उम्मेदवार बनाएका बालेन शाहले दुई जना जनतालाई पनि फेस गर्न नसक्ने बताए। उनले सामाजिक सञ्जालबाट अहिले भ्रम छर्ने प्रयास भइरहेको भन्दै सचेत रहन पार्टीपंक्तिलाई आग्रह गरे।
गुरुङले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेले कुनै पनि पार्टीसँग तालमेल गर्ने सम्भावना नरहेको स्पष्ट पारे ।





