बुटवल / नेकपा एमालेका उपाध्यक्ष एवं गुल्मी क्षेत्र नं. २ का उम्मेदवार गोकर्ण विष्टले देश जोगाउने दायित्व एमालेको काँधमा आएको बताएका छन् । उनले देशलाई अहिलेको परिस्थितिमा ल्याउनेहरुलाई जनताले मतबाट जवाफ दिनुपर्ने बताउँदै देशलाई बाह्य तत्वबाट जोगाउने दायित्व एमालेको काँधमा आएको जनाए ।
गुल्मीको मालिका, मुसिकोट र रेसुंगा नगरपालिकाबाट बुटवल आएर बसेका एमाले कार्यकर्तासँगको भेटमा उनले विगतमा भएका कमीकमजोरीलाई सुधार गर्दै देश र संविधानको रक्षाका लागि एमालेको नेतृत्व अपरिहार्य रहेको बताए ।
उनले यो निर्वाचनबाट एमाले पहिलो पार्टी बन्ने बताए । उनले अधुरा काम पूरा गर्नुका साथै देशमा सुशासन र भ्रष्टचार अन्त्यका लागि आवश्यक परे संविधानलाई संशोधन गरेर सबैका माग सम्बोधन गर्ने समेत धारणा राखेका थिए ।
पूर्वमन्त्री विष्टले आफ्नो निर्वाचन क्षेत्रमा एमालेको जीतलाई कसैले पनि रोक्न नसक्ने बताउँदै गएको निर्वाचनमा गठबन्धनलाई समेत पराजित गरेको स्मरण गर्दै यसपटक सबै एक्लाएक्लै निर्वाचन लडेकाले पनि १२ हजारभन्दा बढी मतान्तरले विजयी हुने तथ्यांकले देखाएको जनाए ।
त्यस्तै उनले गुल्मी क्षेत्र नं। २ मा विकासको लहर एमालेकै नेतृत्वमा भएको बताउँदै उक्त क्षेत्रका ४१ वटा वडाहरुलाई छुने गरी सडक कालोपत्रेको काम अघि बढेको बताए ।
त्यस्तै राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले नटवरलाल र महाठगहरुबाट देशलाई जोगाउनुपर्ने बताइन् । उनले नटवरलालहरुलाई राजनीतिमा भित्राए संसद नबन्ने र त्यो सर्कस बन्ने बताइन् । उक्त कार्यक्रममा निर्वाचन परिचालन कमिटीसमेत गठन गरिएको थियो ।





