सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

जेनजी आन्दोलनमा लुटिएको प्रहरीको इन्सास राइफल दाउराको चाङमा, दुई युवक पक्राउ

जेनजी आन्दोलनमा लुटिएको प्रहरीको इन्सास राइफल दाउराको चाङमा, दुई युवक पक्राउ


  • ढाेरपाटन संवाददाता
  • माघ २१ २०८२, बुधबार

पोखरा / कास्की प्रहरीले जेनजी आन्दोलनका क्रममा लुटिएको हतियारसहित दुई जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–२ भीमसेन टोलमा दाउराको चाङमा लुकाइराखेको अवस्थामा प्रहरीले इन्सास राइफल बरामद गरेको हो ।

गोप्य सूचनाको आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरको टोलीले सोमबार दिउँसो उनीहरुलाई नियन्त्रणमा लिएको थियो । पक्राउ पर्नेमा महोत्तरी घर भई हाल पोखरा–९ नयाँबजार बस्ने १८ वर्षीय रवि चौधरी र भारत घर भई पोखरा–२ अर्चलबोट बस्ने १८ वर्षीय राज कुमार रहेका छन् ।

प्रहरीको सोधपुछका क्रममा उनीहरुले गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालयबाट हतियार लुटेको र आगजनी गरेको स्वीकार गरेका छन् । उनीहरुले लुटेको हतियार भीमसेन टोलस्थित इन्द्रबहादुर भारीको घरको टहरोमा रहेको दाउराको चाङभित्र लुकाएका थिए । प्रहरीले सोही स्थानमा खानतलासी गर्दा दाउराको बिचमा लुकाएको अवस्थामा ‘राइफल ५.५६ एमएम एम ३२२६’ लेखिएको इन्सास राइफल फेला पारेको हो । हतियारसहित पक्राउ परेका दुवैजनालाई हातहतियार खरखजाना सम्बन्धी कसुरमा कारबाही अगाडि बढाइएको छ ।

कास्की प्रहरीका प्रवक्ता एवं डिएसपी हरिबहादुर बस्नेतका अनुसार उनीहरुलाई कास्की जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->