म्याग्दी/ राहुघाट हाइड्रोपावरको पावर हाउसमा भएको चोरी लुकाउन सुरक्षा गार्डको हत्या गरिएको पाइएको छ । पावर हाउसबाट वेल्डीङ मेसिन र तामाको तार चोरी गरेर बिक्री गरेको समूहले आफ्नो चोरी सार्वजनिक हुने आशंकामा हाइड्रोका सेक्युरिटी गार्डको हत्या भएको प्रहरीले जनाएको छ ।
माघ १४ गते चोरी गरी सामाग्रीहरु विक्री गरेको थाहा पाएका सुरक्षागार्ड ईलामको ईलाममाई नगरपालिका–९ का ५५ वर्षीय भिष्म पौडेललाई चोरीमै संलग्न मंगला गाउँपालिका २ का भीमप्रसाद किसानले १५ गते बिहान हत्या गरेको प्रहरीको भनाई छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक सागर तिमिल्सिनाका अनुसार रघुगंगा गाउँपालिका ३ चमेरेस्थित रहेको जेपी हाइड्रोपावर निर्माण कम्पनिले निर्माण गरिरहेको ४० मेगावाट क्षमताको राहुघाट हाइड्रोका सुरक्षा गार्डको हत्या भएको हो ।
माघ १४ गते रातको समयमा वेल्डिङ मेसिन र तामाको तारहरु ६ जनाको समूहले चोरी गरी बिक्री गरेका थिए । उक्त चोरीको जानकारी पाएका सुरक्षागार्डले कम्पनीलाई जानकारी गराउने भने पछि सुरक्षा गार्ड पौडेलको हत्या भएको थियो । म्याग्दीको मंगला गाउँपालिका २ का २९ वर्षिय भिमप्रसाद किसानले पौडेलको हत्या गरेको सुचना अधिकारी तिमिल्सिनाले जानकारी दिए । तिमिल्सिनाका अनुसार हत्या र चोरीमा संलग्न सबैलाई प्रहरीले गिरफ्तार गरेर अनुसन्धान अगाडी बढाएको छ । चोरी तथा हत्यामा संलग्न भिमप्रसाद किसान सहित चोरीमा संलग्न रघुगंगा गाउँपालिका ३ तिल्किनीका ५९ वर्षिय गमबहादुर सेन्चुरी, पिप्लेका ५३ वर्षिय गिरीबहादुर मल्ल, देवदह नगरपालिका ९ रुपन्देहीका ३१ वर्षिय तुलबहादुर गुरुङ, जलजला गाउँपालिका ३ पारीवेनीका २८ वर्षिय बिज्ञानराज शर्मा र बेनी नगरपालिका ९ का ४१ वर्षिय शिव पुरीलाई प्रहरीले गिरफ्तार गरी अनुसन्धान अगाडी बढाएको छ ।





