मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउने दायित्व सबैको : प्रमुख निर्वाचन अधिकृत बेलबासे

निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउने दायित्व सबैको : प्रमुख निर्वाचन अधिकृत बेलबासे

निर्वाचनमा जनताले निर्वाध रुपमा मत राख्ने वातावरण बन्नु पर्ने उल्लेख गर्दै उनले निर्वाचनमा जनतालाई भ्रमित पारेर गलत व्यक्ति चुनिन नहुने बताए ।


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १३ २०८२, बुधबार

पोखरा / कास्कीका प्रमुख निर्वाचन अधिकृत हिमलाल बेलबासेले आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउने दायित्व सरोकारवाला सबैको भएको बताएका छन् । नेपाल पत्रकार महासंघले आज पोखरामा आयोजना गरेको ‘निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिता’ सम्बन्धी अभिमुखिकरण कार्यक्रममा उनले निर्वाचनलाई पारदर्शी, मर्यादित र भयरहित वातावरणमा बनाउन निर्वाचन आचार संहिता जारी गरेको बताए ।

‘निर्वाचनका सबै गतिविधिमा नागरिकको सूचनाको पहुँच पुगेमा निर्वाचनलाई विश्वसनीय र पारदर्शी बनाउन सहयोग पुग्छ,’ उनले भने, ‘पत्रकारले निर्वाचन आयोगलाई खबरदारी गरी रहनु भएको छ । हामीले निर्वाचन सम्बन्धी सूचना दिएका छौं ।’

उनले निर्वाचन अधिकृतको कार्यालय पत्रकारले मागेको सूचना दिन सधै तयार रहेको जानकारी दिए । निर्वाचनमा जनताले निर्वाध रुपमा मत राख्ने वातावरण बन्नु पर्ने उल्लेख गर्दै उनले निर्वाचनमा जनतालाई भ्रमित पारेर गलत व्यक्ति चुनिन नहुने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्माले लोकतन्त्र धरापमा परेको तथा संकटकालिन अवस्थामा मिडियाले ठूलो चुनौती खेप्न परेको उल्लेख गरिन् । निर्वाचन लोकतन्त्रको आधारस्तम्भ भएको चर्चा गर्दै उनले निर्वाचनको अवधिमा समाचार सम्प्रेषण गर्दा तथ्यहीन सूचना र अफवाहबाट जोगिएर पत्रकार आचारसंहिताको पूर्ण पालना गर्नु प्रत्येक पत्रकारको दायित्व भएको बताइन् ।

अध्यक्ष शर्माले निर्वाचनको समयमा हुनसक्ने मिथ्या सूचना तथा भ्रामक सूचना पहिचान गरी तथ्यपूर्ण समाचार मात्र प्रवाह गर्न पत्रकारलाई आग्रह गरिन् । कुनै पनि राजनीतिक दल वा उम्मेदवारप्रति पूर्वाग्रही नभई सन्तुलित समाचार सम्प्रेषण गर्न आग्रह गर्दै उनले सूचनाको स्रोत पुष्टि गरेर मात्र समाचार प्रकाशन वा प्रसारण गर्न अनुरोध गरिन् ।

उनले पत्रकार तथा सञ्चार माध्यमले सबै दल र उम्मेदवारका विचारलाई समान अवसर दिनु पर्ने बताइन् । दलका नेता तथा उम्मेदवारका घृणा फैलाउने अभिव्यक्तिलाई स्थान नदिन अनुरोध गर्दै उनले सामाजिक सद्भाव बिगार्ने सामग्रीलाई निरुत्साहित गर्न समेत आग्रह गरिन् ।

कार्यक्रममा निर्वाचन रिपोटिङका प्राविधिक पक्ष, कानुनी प्रावधान र आचार संहिताका विषयमा छलफल भएको थियो । कार्यक्रममा गण्डकी प्रदेशका निर्वाचन अधिकारी नारायण ढकाल, पत्रकार महासंघका केन्द्रीय अध्यक्ष शर्मा, सचिव प्रकाश धौलाकोटी र प्रेस काउन्सिल नेपालका सदस्य केशवशरण लामिछानेले सहजीकरण गरेका छन् ।

सहभागी पत्रकारहरूले निर्वाचन रिपोटिङका क्रममा फिल्डमा भोग्नुपर्ने सुरक्षा चुनौती र सूचना पहुँचका समस्याबारे जिज्ञासा राखेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कृष्ण केसी, गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, महासचिव जमुना शर्मा वर्षा, कास्कीका अध्यक्ष माधव बराल लगायत बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->