
पोखरा / नवनिर्वाचित प्रतिनिधि सभा सदस्य महावीर पुनमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले बिहीबार एक जना पक्राउ गरेको छ । प्रहरीले पोखरा महानगरपालिका-१३ बाँझापाटन बस्ने वर्ष ४३ को विकास गुरुङलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले वडा नम्बर ९ महेन्द्रपुलबाट उनलाई पक्राउ गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको कास्कीका प्रहरी नायव उपरीक्षक हरी बहादुर बस्नेतले बताए ।
प्रहरीका अनुसार गुरुङ यसअघि तीन पटकसम्म लागुऔषध मुद्दामा सजाय पाएको प्रहरी अभिलेखबाट खुलेको छ । पृथ्वीचोक स्थित महावीर पुन लगायतको टिमले ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ नामक पुस्तक बिक्री गरिरहेको अवस्थामा ती व्यक्तिले अपशब्द प्रयोग गर्दै अभद्र व्यवहार गरेको घटना सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।





