पोखरा/पोखरा महानगरपालिका वडा नम्बर १३ ले ‘साहित्य पर्व’ को तयारी तीव्र पारेको छ । शब्दसँगको आत्मीयता र पठन संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले वडाले यो कार्यक्रम आयोजना गर्न लागेको हो । वैशाख १२ गते वडा कार्यालय परिसरमै हुने यस महोत्सवका लागि आशीर्वाद क्लब र अरण्यज्योति पुस्तकालयले समन्वय गरेका छन् । धार्मिक, ऐतिहासिक र साहित्यिक हिसाबले सम्पन्न यो वडाले आफ्नो पहिचानलाई थप उचाइमा पु¥याउन दोस्रो चरणको साहित्यिक कार्यक्रम गर्न लागेको हो ।
कार्यक्रममा मुख्य वक्ताका रुपमा साहित्यकार तथा पत्रकार नारायण वाग्ले सहभागी हुनेछन् । वाग्लेले ‘मसीको सुगन्धदेखि एल्गोरिदमको गहिराइसम्म ः साहित्यको एक शताब्दी यात्रा’ विषयमा आफ्नो प्रस्तुति राख्ने तयारी रहेको आयोजकले जनाए। साहित्यलाई समाजको आत्मा र विकासको आधार मान्दै आयोजना हुन लागेको यस पर्वले स्थानीय र राष्ट्रिय क्षेत्रको ध्यान आकर्षित गर्ने अपेक्षा गरिएको छ ।
वडाध्यक्ष किरण बरालले वडाको समग्र विकासमा भौतिक पूर्वाधार मात्र नभई बौद्धिक र सांस्कृतिक चेतना पनि अपरिहार्य रहेको बताए। उनले भने, ‘हामीले साहित्यमार्फत वडाको ऐतिहासिक र जातीय विविधतालाई जोड्न खोजेका छौं, यसले नयाँ पुस्तालाई आफ्नो माटो र पहिचानसँग साक्षात्कार गराउनेछ।’ वडाले लोककवि अलि मियाँको जन्मभूमि हुनुको गौरवसँगै भद्रकाली मन्दिर, जामे मस्जिद अक्सा र कमलपोखरी जस्ता ऐतिहासिक स्थलहरुको महत्वलाई पनि साहित्यमार्फत उजागर गर्ने लक्ष्य राखेको छ ।
कार्यक्रमको स्वरूप र व्यवस्थापनका विषयमा संयोजक राजेन्द्र भण्डारीले सिर्जनात्मक प्रतिभा प्रस्फुटनका लागि यो पर्व एउटा बलियो मञ्च बन्ने उल्लेख गरे। उनका अनुसार कार्यक्रममा विभिन्न ६ वटा सत्रहरु सञ्चालन हुनेछन् । पहिलो सत्रमा कलाकार दुर्गा बरालले ‘बितेका पाइला र आउने बाटो ः पोखराका युगपुरुषहरुको पदचापमा’ विषयमा लोककवि अलि मियाँ, जगन्नाथ सिग्देल र टेकबहादुर ढेवाजुको योगदानका बारेमा अन्तर्संवाद गर्नेछन् । भण्डारीले भने, ‘साहित्यिक सिर्जनशीलताको संवद्र्धन र सांस्कृतिक आदानप्रदान नै हाम्रो मुख्य ध्येय हो ।’
पर्वमा समाजशास्त्री डा कपिल अधिकारीले ‘अक्षरदेखि एल्गोरिदमसम्म ः हाम्रो अबको शिक्षा र बदलिँदो समाजको स्वरूप’ बारे चर्चा गर्नेछन्। यस्तै उद्यमीहरु नारायण पौडेल र सुमेजराज भण्डारीसँग प्रविधि र औद्योगिक यात्राका विषयमा वार्ता गर्ने कार्यक्रम तय भएको छ । नारी अस्तित्वका स्वरहरु अन्तर्गत साहित्यमा नारीको प्रतिनिधित्वका विषयमा सरस्वती प्रतीक्षासँग हसिना बस्नेतले संवाद गर्नेछिन् । कार्यक्रमको आकर्षणका रुपमा कन्दरा ब्यान्डका गायक विवेक श्रेष्ठसँग पोखराको सांगीतिक जीवनको यात्राका बारेमा भलाकुसारी गरिने र उनका उत्कृष्ट गीतहरु समेत प्रस्तुत गरिने आयोजकले जनाए ।
साहित्यिक पर्वमा स्थानीय प्रतिभाहरुलाई पनि प्राथमिकता दिइएको छ । जसमा धर्मराज अल्पायु, नुमराज बराल, अमर धिताल, सरस्वती परियार र सरस्वती श्रेष्ठ सरुले आफ्ना सिर्जना र गायन प्रस्तुत गर्नेछन् । अरण्यज्योति पुस्तकालय र भद्रकाली माध्यमिक विद्यालय जस्ता प्राज्ञिक संस्थाहरु रहेको यस वडाले शब्दको विन्यासबाट नवनिर्माण गर्ने अभियानमा सबै वडावासीको साथ र सहयोगको अपेक्षा गरेको छ । पहिलो साहित्य पर्वको सफलताले थप उत्साह जगाएको उल्लेख गर्दै आयोजकले यस पटकको कार्यक्रमलाई अझै भव्य र सभ्य रुपमा सम्पन्न गर्न तयारी अन्तिम चरणमा पु¥याएको बताए ।





