बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

तमानखोलाबासीको जीवन धान्ने आधार ‘आलुखेती’

तमानखोलाबासीको जीवन धान्ने आधार ‘आलुखेती’

सबैको भान्सामा आलुकै परिकार पाकेको हुन्छ । स्थानीयले वर्षभरीको खाने जोहो लगाएको आलु बेचेरै पु¥याउँछन् ।


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २१ २०८३, बिहिबार

बागलुङ/ग्रामीण क्षेत्रका किसानले पशुपालन, तरकारी खेती, अन्न खेती र फलफूल समेत लगाउने गरेका छन् । घरका कोही जागिर खाने वा व्यवसायमा लाग्ने हुन्छ । तर तमानखोला गाउँपालिका–२ मुठाचौरका किसानको जीवन धान्ने माध्यम आलु खेतीमात्रै हो ।

वर्षभरी खाने खर्च र बजारबाट किन्ने सामानका लागि समेत आलुकै भरपर्ने बाध्यता छ । उनीहरुले वर्षभरी दुःख गरेर ५० मुरीसम्म आलु फलाएपछि त्यसबाटै घरखर्च र किनमेलको जाहो समेत गर्ने गरेको स्थानीय मैतादेवी रसाइलीले बताइन् ।

प्रसस्त आलु लगाएर उनीहरुले घरमा आउने पाहुनालाई खुवाउने गरेका छन् । खानको प्रकारमा पनि उसिनेको आलु, तारेको आलु र पकाएको आलुले उनीहरुको भान्छामा परिकार बन्ने गरेको छ । परिवारले आलुकै परिकार बनाएर बिहान बेलुकीको छाक समेत टार्छन् ।

गहुँ, जौं र फापरको रोटीसँग पनि आलुनै पकाइन्छ । २ हजार ६ सय मीटरको उचाई भएकोले यहाँ धान र मकै उत्पादन हुँदैन । त्यसैले सबैको भान्सामा आलुकै परिकार पाकेको हुन्छ । स्थानीयले वर्षभरीको खाने जोहो लगाएको आलु बेचेरै पु¥याउँछन् ।

गत फागुनमा आलु लगाएर छाडेपछि बेसी झरेका, बजार पसेका र पढ्न लेख्न सहर गएकाहरु पनि आलु खन्ने बेलामा गाउँ आइपुग्छन् । पोखरामा कक्षा १२ को परीक्षा सकेपछि बोङगादोभानकी रबिना रसाइली आलु गोड्न मुठाचौर आइपुगेकी छिन् । आमा गौमतीले बोलाएपछि उनी अहिले मुठाचौरमा छिन् । उनीहरुले आफ्नो र भाडामा गरी २५ रोपनी जमिनमा आलु खेती गरेका छन् । यो आलु वर्षभरी खाने र घरखर्चका लागि बेच्ने हो ।

आलु बेचेर अन्य खाद्यान्न भित्राउने गरेको स्थानीय मैतादेवी रसाइलीले बताइन् । ‘यहाँ अरु खेती हुँदैन, आलु बेचेर चामल किन्ने हो’ उनले भनिन्, ‘नुन–तेल खाने पैसा पनि आलुकै भर हो ।’ पति ढालबहादुरसहित छोराहरुले आलु गोड्ने र खन्ने बेलामा समय मिलाएर गाउँ आइपुग्ने गरेका छन् । उनको बारीमा ५० मुरी आलु फल्छ । प्रतिमुरी १ हजारदेखि १ हजार ५ सय सम्ममा बिक्री गर्ने उनले बताइन् । त्यसबाट चाडपर्वलाई चामल र नुन–तेल ल्याउने गरेको उनको भनाइ छ । जौं र गहुँले रोटी खान पुग्छ । आलु आधा बिक्री गर्दा चाडपर्वलाई चामल र नुन–तेल ल्याउने गरेको उनको भनाइ छ ।

आलुमा रोग किरा नलागेमा यहाँ प्रसस्त फल्छ । केही समय सुकाएर राखेपछि बिग्रदैन । बुर्तिवाङ बजारका कतिपय व्यापारीले मुठाचौरमै पुगेर आलु खरिद गर्छन् । ट्रयाक्टरमा लैजान्छन् । यहाँका किसानले बारीबाटै बिक्री गर्दा आलु सस्तो मूल्यमा दिन्छन् । त्यसैले व्यापारीहरु सिधै आउने गरेका हुन् ।

२ हजार ६ सय मीटरको उचाईमा रहेको मुठाचौर आलु उत्पादनका लागि प्रसिद्द स्थान हो । किसानले स्थानीय जातकै आलु रोप्छन् । गोबर मल र जंगलबाट ल्याएको ‘पस्र्यौला’ रुखका पातबाट मल बनाइन्छ । यहाँ रसायनिक मल अहिलेसम्म प्रयोग नभएको वडा अध्यक्ष नारायण सुनारले बताए । ‘आलुकै भरमा जीवन चलाएका धेरै किसान छन् । त्यसैले आलु रोप्ने, खन्ने र गोड्ने बेलामा धेरै जना आइपुग्छन्’ सुनारले भने ।

मुठाचौरमा आलु के कति फल्छ भन्ने गणना भने भएको छैन । तमानखोला–२ का अधिकांस स्थानीयको यहाँ जमिन छ । उनीहरुले आफ्नो घरलाई चाहिने र केही बिक्री गर्ने समेत आलु फलाउँछन् । गाउँपालिकाले पनि आलुबाटै जीवन गुजारा गर्ने किसानलाई अनुदान दिने व्यवस्था गरेको छ । छिटो पाक्ने, मिठो भएकोले यहाँको आलुको माग अत्याधिक छ ।

कृषि बिकास कार्यालय बागलुङले यो क्षेत्रलाई आलु जोनको रुपमा राखेको छ । किसानको आवस्यकता र मागको आधारमा खायन आलु प्रवद्र्धनका कार्यक्रम राखिने कार्यालयका प्रमुख कुमार पुनले बताए । पुनका अनुसार बागलुङमा वर्षको ५५ हजार ६ सय मेट्रिकटन आलु उत्पादन भएको तथ्यांक छ । यो आलु किसानले सहरी क्षेत्रमा बेच्छन् । आलुको अर्गानिक स्वरुप संरक्षण गरी किसानको उत्पादन समेत बढाउन खायन आलु प्रवद्र्धन कार्यक्रम गरिएको हो । ‘आलुको उत्पादन जति बढाएपनि खपत हुन्छ’ केन्द्रका प्रमुख कुमार पुनले भने, ‘खायन आलुबाटै जिल्लालाई आत्मनिर्भर बनाउन सकियो भने आयात रोकिन्छ ।’ जिल्लाबाट बुटवल, पोखरा लगायतका स्थानमा आलु बिक्री भैरहेको छ ।

बेलाबेला तराइको आलु पनि यहाँ भित्रिन्छ । खानामा मिठो भएकोले उत्पादन बढाउन सकेमा स्थानीय आलुबाटै मनग्ये कमाइ गर्न सक्ने गरी आलु बनाउन सकिने उनले बताए । आलुको भण्डारनका लागि प्रदेश सरकार र स्थानीय तहले जिल्लामा दर्जनबढी स्टोर बनाएका छन् । ती स्टोरमध्ये कतिपयमा विद्युत अभाव छ । तमानखोला–४ मा बनेको आलु भण्डारन केन्द्रमा विद्युत अभावले पुर्ण रुपमा संचालनमा ल्याउन नसकिएको अध्यक्ष जोकलाल बुढाले बताए । नेपाल बिद्युत प्राधिकरणसँग यहाँसम्म राष्ट्रिय प्रशारण लाइन बिस्तार गरिदिन आग्रह गरिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->