शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

कथा : बोक्सीको छोरो

कथा : बोक्सीको छोरो

किरिया त बस्छु, बस्दिनँ भनेको छैन । तर भोलि कुनै घटना घट्यो भने बोक्सीको छोरो किरिया बसेर यस्तो घटना घटेको हो भन्न पाउनुहुन्न ।


  • दिनेश बस्नेत
  • साउन २३ २०८३, शनिबार

स्केच : एआई

ठूला बा बिरामी भएछन् । उहाँको र हाम्रो सम्बन्ध चिसो र शिथिल छ । मैले सम्मान गर्छु । भेटघाटमा बोल्छु । तर मुखमात्र हो, मनले होइन । आमा त त्यही पनि बोल्नुहुन्न ।

हाम्रा बुबा बितेको २५ वर्ष भयो । म त्यति बेला १० वर्षको थिएँ । बुबा मालपोतमा जागिर खानुु हुन्थ्यो । रक्सी असाध्यै खानु हुन्थ्यो । घरमा झगडा भने गर्नु हुन्नथ्यो । एक दिन रक्सी खाएर मोटरसाइकल चलाउनु भएछ । साथीको छोराको पार्टीमा गएर आउँदा हो क्यारे । पानी मुसलधारे परेको थियो । मोटरसाइकल दुर्घटना भएर नालीमा पर्नु भएछ । रातको समय त्यसमाथि खोला जस्तै भएको नालीमा ।

टाउकोमा गहिरो चोट लागेर प्राण गएपछि भोलिपल्ट भेटिनु भयो । हाम्रो घरमा आकास खसे जस्तो, टेकेको धरती सयौँ फिट भाँसिए जस्तो, चुल्होमा पानी जमे जस्तो नियतिले एउटा गहिरो घाउ दियो । तर ठूलाबाले मौखिक रूपमा सान्त्वना यसरी दिनुभयो, ‘मेरा दुई छोरा भए अबदेखि, एउटा नवीन मेरो, छोरो अर्को त । कहिल्यै म टुहुरो छु भन्ने नसोच, तैले जति चाहन्छस्, जति सक्छस् पढाउने जिम्मा मेरो भयो ।’

ठूलाबाका महलम जस्ता वचनले मलाई अलि सञ्चो भयो । घाउ दुख्न छोडे जस्तो भयो । आमाका मनमा भने के थियो, ठूलाबाका आश्वासन के कति पत्याउनु भएको थियो, मैले नियाल्न सकिनँ । आमाको जीवनको रङ मूला पखाले सरी धोइएका छन् । आमाले बा बित्दा लगाउनु भएको सेतो वस्त्र जस्तै । अब कुनै रङले रङ्ग्याउन सक्दैन । सायद आशा र आश्वासन पनि तिनैभित्र पर्न सक्छन् । एकोहोरो सोचिरहनु भएको होला, अब बाँच्नुको अर्थ पौरख र पसिनामा छ । भनेका कुरा त खल्तीका पैसा जस्ता हुन् । आज छ, भोलि छैनन् ।

घटना घटिहाल्यो । ठूलाबाले एक प्रकारको अभिभावकीय जिम्मेवारी निर्वाह गर्नुभयो । सम्पूर्ण किरिया खर्च व्यहोर्नु भयो । १३ दिनका दिन अलि परका दाजुभाइ राखेर आमालाई, मलाई भने जस्तै वचन दिनुभयो, ‘तिम्रो घाउ त भर्न सक्दिनँ कान्छी, भैपरी आउने व्यवहार र यो छोरोलाई मेरै छोरो समान देख्नेछु । जति पढ्छ, पढाउनेछु । बाबुको अभाव खड्कन दिने छैन ।’

लेखक

आमा केही बोल्नु भएन । बलनीबाट आँसु खसालेझैँ भलभली आँसु खसालिरहनु भयो । समय उही रफ्तारमा घुमिरह्यो । म बुबा बित्दा ५ कक्षामा थिएँ । अहिले ९ कक्षामा पुगेँ । नवीन दाइ १० कक्षामा पढ्नु हुन्थ्यो । हामी एउटै स्कुलमा पढ्थ्यौँ । कापी, कलम, किताब खर्च आमाले ज्याला मजदूरीबाट पु¥याउनु भएको थियो । स्कुल फिस ठूलाबाले तिरिदिनु हुन्थ्यो । स्कुलमा खाजा खाने पैसासमेत भाइ र तँ खाओ भनेर दिनहुँ २० रूपैयाँ दिनु हुन्थ्यो । दाइ र म असाध्यै मिल्थ्यौँ ।

म अलि दुब्लो, पातलो थिएँ । दाइ मोटो, घाटो हुनुहुन्थ्यो । दाइ पढाइमा कमजोर हुनुहुन्थ्यो । एक दिन हामी दाजुभाइ सँगसँगै भएको बेला ठूलाबाले भन्नुभयो, ‘भाइ पनि दुब्लो छ, यति सानो टाउको छ । उसको सानो टाउकोमा सरले भनेका सबै अटाउने, सबै सम्झने तर तेरो यत्रो टाउकोमा केही नअटाउने ? कि आमाले तरकारीमा सधैँ आलु मिसाउने भएर हो ? परीक्षामा यति विधि आलु ल्याउने भएको ?’

मलाई हासो लाग्यो तर दाइ रिसाउनु हुन्छ भनेर हासिनँ । उल्टो ठूलाबा हासेर भन्नुभयो, ‘भन त केटा किन नबोलेको होस् ?’ ठूला बा ठीक थिए । दयाका खानी थिए । फेरि उनको आम्दानीको स्रोत पनि मनग्य थियो । इन्डियन आर्मीका क्याप्टेन थिए । त्यति बेलै २५ हजार पेन्सन छ भन्थे । हाम्री आमा दिनभरी खेताला गएर २ सय ५० रूपैयाँ ज्याला पाउँथिन् ।

म सोच्थेँ, ठूलाबा जस्तै ठूली आमा पनि सजिली र आफन्त भाव राख्ने भैदिए ! किनकि ठूली आमा साह्रै रुखी र चोथाले थिइन् । कहिलेकाहीँ घरमा जाँदा खाना खाने बेला भयो भने, ‘यतै खाएर जा, के फरक भयो र ? उता खानु र यता खानु !’, ठूलाबाले भन्थे ।

केही छाक त संयोग पर्दा खाएँ । तर पछि खान दिँदा ठूली आमा भन्न थालिन्, ‘चामल बचाउन हो क्या हो ? आजकल त यतै खान थालेको दिन बिराएर ।’ एक दिन त यतिसम्म भनिन्, ‘आमाले मीठो पकाउन्न कि ? आमाले नै ठूलाबा कहाँ गएर खा भन्छे ? मान्छे भएपछि लाज पनि मान्न पर्छ बाबै ।’

त्यसपछि म उनको घर जान काम गरेँ । पछि–पछि त चटक्कै छाडेँ । ठूलाबाले गुनासो गरे, ‘किन कान्छा आजकल आउनै छाडिस्, धाइ लाएर आउनुपर्ने नि होइन, पाँच मिनेटको बाटो हो । आफ्नै ठूलाबाको घर ।’

‘आलकल पढाइमा अलि व्यस्त हुन्छु ठूला बा, अरू केही कुराले होइन,’ मैले फिसोल्ने भाषामा भनेँ । त्यसपछि मलाई लाग्यो आखिरमा म एउटा टुहुरो हुँ । ठूलाबाको मनमा जे छ, व्यवहारमा त्यही छ । ठअन्यथा भाव आजका दिनसम्म सोच्नु पापसरह हुन्छ तर ठूलीआमा किन निष्ठुरी छन् ? झन् महिलामा त करुणा र माया, ममताको मात्रा अधिक हुनुपर्ने हो । सम्झदा दिक्क र आश्चर्य लाग्यो ।

फेरि लाग्यो आफन्तको निगाहामा बाँच्नु अभिशाप रहेछ । मैले १२ पासमात्र गरेँ भने लोकसेवाको तयारी गर्छु । मेरो अन्तिम खुसी भनेको आमाको खुसी हो । म ९ कक्षाबाट प्रथम भएर भर्खर १० कक्षामा पुगेको थिएँ । स्कुलबाट घर आउँदा आमा रोइरहेकी रैछिन् । कपाल फिजारिएको थियो । गाला कोतरिएको थियो । ‘के भयो आमा ? किन रुएकी ?,’ मैले भनेँ ।

मैले सुने अनुसार कुरो के रहेछ भने अघिल्लो आमा मकै बारीमा ढोड काट्दै रैछिन् । ठूली आमा दूध दुहेरभित्र पसिछन् । एक छिन पनि कताबाट मन रसाएर आएछ र भनिछन्, ‘आऊ दूध चिया खान ।’

आमाले भनिछन्, ‘मलाई त आजकल दूल हालेको चिया खान मनै लाग्दैन । कपट परे जस्तो भएको छ ।’

त्यसको भोलिपल्ट बिहान, बेलुकै भैँसीले दूध दिएनछ । ‘यसले दूध दुहेको देखेकी थिई, मैले बोक्सी लाउँछे भन्ठानेर चिया खान बोलाएँ तर आइन, पक्कै यसले बोक्सी लाएर भैँसीले दूध दिएन भन्ठानेर, ठूली आमा घरमा बाझ्न आइछन् । बोक्सी भनेर लाञ्चना लगाएर तथानाम भनेपछि ‘आमाले म बोक्सी हो भने के प्रमाण छ, मेरा कोही छैनन् भनेर हेप्ने’ भनेपछि ‘मैलेमात्र हो र तलाई सबैले बोक्सी भन्छन्’ भनिछन् ।

त्यसरी दोहलफसल गर्दागर्दै अघि बढेर लुछिछिन् । विचरा आमाले हात फर्काइन्छन् । एक त झैँझगडा गर्न नजान्ने दुब्ली आमा । अर्को जेठानीको मान राखिछन् । मलाई देखेपछि भने बलिन्धारा रोइन् । सायद सोचिन्, मेरो छोरो ठूलो भएर कमाउने भए मैले न तिनको आशा गर्न पर्दथ्यो, न यसरी हेप्न सक्थे ।

आमा रुँदा मेरो मन नराम्ररी रोयो । आँखाका आँसुले भन्दा मनका आँसुले बढी पीडा दिँदोरहेछ । एक मन त लाग्यो, खुकुरी लिएर ठूली आमालाई छप्काएर आऊ । एक क्षणपछि मनले मनलाई सम्झायो अनि लाग्यो, आमा तिम्रा अहिले झरेका एक एक आँसुका बुँदालाई भोलि खुसीका क्षणमा बदल्छु ।

म त्यसरी सोच्दै गर्दा आमा भक्कानिएर रुँदै भनिन्, ‘हाम्रा कोही नभएर होला नि, जुन भन्ने घरको खम्बा ढलेर गए । तँ सानो छस् । त्यसैले होला बाबु मलाई सबैले हेप्ने । बोक्सी भन्छन् । एक मन त लाग्छ सबै बेचेर तलाई लिएर अन्त कतै बसाइ सरुँ । त्यति बेला मलाई एउटा ईख पलायो । टुप्पी बाँधेर जे जसरी घनघोटी बन्चरो गरेर भए पनि लोकसेवा पास गर्छु । अनि आमालाई सहरमा लगेर पाल्छु ।

यो घटनापछि ठूलाबा पनि टाढिए । ठूलीआमा जस्ताका रुढीवादी कुरा पत्याए । नवीन दाइ पनि बोल्न छाडे । मलाई पिरलो एउटै भयो, १० कक्षा के गरी पढ्ने, फिस तिर्ने आधार थिएन । अनि एसएलसी कसरी पास गर्ने ?

एउटा बाटो बन्द भयो भने भगवान्ले अर्को बाटो खोलिदिन्छन् । मावली पट्टीका हजुरबाले थाहा पाउनु भए, आउनुभयो । लैनो भैँसी बेचेको ३० हजार आमाका हातमा थमाइ दिनुभयो र भन्नुभयो, ‘छोराको पढाइ राम्रो छ । यत्ति एसएलसी पास भयो भने मास्टर भएर नि तलाई पाल्छ । तेरा आँसु र पसिना पुच्छ । अरू जस्तो छैन हाम्रो नाति पीर नलिई । फुलेको बाँस त फेरि पलाउँछ । यो त सधैँ फस्ट हुने केटो हो ।’

मेरो चिन्ता हट्यो । ठूलाबाले फिस नतिरिदिए पनि पढाइ रोकिएन । पढ्दै जाँदा एसएलसी आयो । मेरो कडा परिश्रमको नतिजा राम्रै आयो । स्कुलमा ममात्र फस्ट डिभिजनमा पास भएँ ।

मैले खुब सोचेँ । आफन्त पानी जस्ता हुँदा रहेछन् । फोहोर पानी आगो निभाउन काम लाग्छ, सफा पानी तीर्खा मेटाउन । फेरि मान्छेको ऋण तिर्न सकिएला । ऐन, मौकामा तिर्न सकिएला । ऐन मौकामा लगाएको गुन तिर्न सकिँदैन । त्यस मानेमा ठूला बालाई भेट्न जाने निधो गरेँ । जसले बाबुको किरिया खर्चदेखि मलाई ९ कक्षासम्म पढाए । बिरामी भएका छन् भन्ने सुनेको थिएँ । त्यसैले आमालाई बोक्सी जस्तो आरोप लगाएको घटना बिर्सनुपर्ने, बिर्सिएँ ।

आमालाई केही नभनी ठूलाबाकहाँ गएँ । नवीन दाइ भर्खर विदेश गएको सुनेको थिएँ । घरको पिँढीमा ठूलाबा सिरानीको अढेस लागेर बसेका थिए । ठूली आमा छेऊमा बसेकी थिइन् । ठूलाबालाई टाउको दिएर दर्शन ढोग गरेँ । तर ठूलीआमालाई भने वेवास्ता गरेँ । उनलाई देख्नेबित्तिकै आमा रोएको सम्झना भयो । अर्थात् बोक्सीको आरोप लगाएर लुछेको आरोप मनमा आयो, त्यति ठूलो आरोप र दाग म कसरी बिर्सन सक्छु ?

ठूलाबाले भने, ‘राम्रो नम्बर ल्याएर एसएलसी पास गरेछस् । कुलको इज्जत रोशन गरेछस् । खुसी लाग्यो कान्छा, म मरेर गए पनि मेरो आशीर्वाद सधैँ लागिरहोस् ।’

दमका रोगी ठूलाबाले अड्की–अड्की यति भने । ‘म मरेर गए पनि’ भन्ने वाक्यांशले मेरो मन तरंगित बनायो, बोल्ने केही शब्द भेटिनँ । केही क्षण बसेर घरमा आएँ ।

कस्को के लाग्छ, विधिको विधान । केही दिनपछि ठूलाबाको निधन भयो । नवीन दाइ विदेश थिए । उनी विदेश जाने बेलासम्म मसँग बोलेका थिएनन् । भर्खरै गएका उनी किरिया कर्म गर्न आउन नपाउने खबर सुनियो । दाजुभाइ खलक सबै आँगनमा थियौँ । ठूलाबाको प्राणरहित शरीर तुलसाको मठनेर थियो ।

हाम्रै १३ दिने दाजुभाइ भित्रका एक जना वृद्ध हजुरबाले भने, ‘दाइ नआउने भएपछि त किरिया बस्नु प¥यो केटा । जा कपाल खौरी ।’

‘ओइ मने भाइलाई लगेर कपाल काट्दे त । बजार गएको रामे दाइ केही क्षणमा आउँलान् कोरा कपडा लिएर,’ अर्का बस्नेत खलकका दाइले भने ।

‘किरिया त बस्छु तर मेरो एउटा शर्त छ,’ मैले रहस्यमय ढंगले भनेँ ।

रोइरहेकी ठूली आमाले पुलुक्क हेरिन्, आँगनमा उपस्थित भएका सबै मुखामुख गरे । मानौं कसले मुख फोर्ने । तिनै हजुरबाले लौरो अलि दह्रो गरी टेक्दै भने, ‘यस्तो शोकको बेला नि के शर्त छ भन्छस् ए बजिया ! तँभन्दा नजिकको मान्छे अरू को छ किरिया बस्ने ?’

मैले आफ्नो वाणीमा ओज भर्दै भने, ‘किरिया त बस्छु, बस्दिनँ मैले भनेको छैन । तर भोलि कुनै घटना घट्यो भने बोक्सीको छोरो किरिया बसेर यस्तो घटना घटेको हो भन्न पाउनु हुन्न । आखिरमा समाज यही हो, हाम्रा दाजुभाइ यिनै हुन् ।’

मेरो कुरा सुनेपछि सबैको मुख बन्द भयो । त्यतिमात्र होइन, अनुहार नीलो कालो भयो । मलाई त्यति भएपछि पुग्यो । मैले दाइलाई भनेँ, ‘हिँड्नोस् दाइ मेरो कपाल खौरिदिनोस् ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->