प्रकाशचन्द्र खतिवडा
ढुङ्गो देवता बन्यो
कालीगढले आकार दिएपछि
बगरमा फालिएको ढुंगा
एक दिन कुनै अज्ञात मान्छेले टिप्यो
लगेर देउरालीमा राख्यो
र तिमी पूजिन थाल्यौ, त्यही दिनदेखि ।
बाटो हिड्ने बटुवाले
तिमीलाई फूल चढाउन थाले
तिमी साक्षात भगवान बन्यौ
तिम्रो पाउमा शिर झुकाएर
दुःखमा तिमीलाई पुकार्न थाले
तिम्रो चर्चा चुलिएर सर्वव्यापी भयो
मान्छे तिमीसँग वरदान माग्न थाले
तिम्रो अलौकिक शक्तिलाई साक्षी राखी ।
मान्छेहरू भ्रममा बाँचिरहेका थिए
तिमी बगरको ढुंगा न थियौ
तिमी कसरी देवता हुन सक्छौ ?
तर पनि मान्छेहरु तिमीलाई देवता ठानी रहेछन्
तिमीलाई आस्थाको केन्द्र बनाएर ।
मान्छेको सोच
मान्छेको हेराइ
कसरी परिवर्तन गर्न सक्यौ तिमीले ?
तिमीसँग के जादू थियो ?
तिम्रो शरण पर्नु पथ्र्यो मान्छेले
तिमीमात्रै भाग्यमानी ढुंगा बन्यौ
तिमीसँगै
त्यही बगरमा छरिएका हजारौ ढुंगाहरु
देवता बन्न सकेका छैनन्
तिनीहरुलाई मान्छेहरु
कुल्चिएर हिड्छन्
तिनै मान्छेहरु
तिम्रो नजिक आएर
तिमीलाई किन देवता मानी रहेछन् ?
तिम्रो जयजयकार गरिरहेछन् ?
पक्कै मान्छेमा स्वार्थ छ
तिमीलाई साक्षी राखेर
अवैधानिक काम गर्छ मान्छे
ढुंगामा भगवान देख्ने मान्छे
मान्छेमै भगवान देख्दैन किन ?
ढुंगालाई देवता मानी शिर झुकाउने मान्छे
आफन्तमाथि नै किन कैची चलाउँछ ?
धर्मको नाममा हिंसा मच्चाएर
किन नरसंहार गर्छ ?
ढुंगा न देवता हो
न श्राप लाग्छ
न वरदान दिन्छ
केवल मान्छेहरुको विश्वासमा
ढुंगा देवता बनेको न हो ।
मान्छे ढुंगालाई देवता बनाउन सक्छ
यद्यपि,
मान्छेलाई मान्छे बनाउन सक्तैन किन ?
बगरमा लडिरहेका ढुंगामध्ये
फेरि कुनै ढुङ्गामा मान्छेको आँखा लाग्न सक्छ
हातले उठाएर देउरालीमा राख्छ
सायद देवताको नाममा पुनः भ्रम छर्नलाई ।
सुन्दरहरैंचा–६, दुलारी, मोरङ
९८४२०७३५२५
kpchandra2023@gmail.com





