पोखरा/पोखरामा अन्तर्राष्ट्रिय भुटो महोत्सव हुने भएको छ। अदृश्य आर्टस्, आर्ट घर र सद्भाव थिएटर नेपालकोसहकार्यमा असोज ३० देखि कात्तिक १ गतेसम्म तीन दिने महोत्सव हुन लागेको हो ।
भुटो जापानबाट विकसित प्रयोगात्मक शारीरिक रंगमञ्चको शैली हो । पोखरा महानगरको वडा नम्बर २२ मा बनाइएको काव्यवाटिका हुने महोत्सवमा सात देशका कलाकारले विभिन्न प्रस्तुति दिने पक्का भएको छ ।
महोत्सवको चाँजोपाँजो किरण चापागाईं, केदारनाथ पौडेल, भीष्मराज जोशी र राम केएसीले मिलाएका हुन् । महोत्सवले राष्ट्रिय आरोग्य पर्यटन रणनीतिको लक्ष्यलाई स्थानीय स्तरमा कार्यान्वयन गर्ने उद्देश्य राखेको छ ।
महोत्सवमा अन्तर्राष्ट्रिय भुटो कलाकारहरू र नेपाली रङ्गकर्मीहरूको संयुक्त प्रस्तुति, कार्यशाला, ध्यान सत्र र सांस्कृतिक आदानप्रदान हुनेछन् । महोत्सव गर्न आठ लाख खर्च हुने अदृश्य आट्सका अध्यक्ष किरण चापागाईले बताए ।उनी भन्छन्, ‘यो उत्सवले पोखरालाई सांस्कृतिक–आरोग्य पर्यटन गन्तव्यका रूपमा प्रवद्र्धन गर्न, स्थानीय युवा र कलाकारलाई सीप हस्तान्तरण गर्न तथा राष्ट्रिय रणनीतिको नमुना कार्यान्वयन गर्न महत्वपूर्ण योगदान दिनेछ ।’
भुटो जापानमा विकसित थियटरको प्रयोगात्मक नृत्यहो । यसको कुनै निश्चित शैली वा कथा संरचना हुँदैन। दोस्रो विश्वयुद्धपछि जापानमा विकसित भएको भुटो त्यो बेलाको सामाजिक, सांस्कृतिक र मानसिक अवस्था चित्रणमा जोडिएको थियो ।





