पोखरा/पोखरा प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको गन्धर्व गुञ्जनमा पोखरा र आसपासका ८३ गन्धर्व कलाकारले आफ्ना प्रस्तुति राखेका छन् । कार्यक्रममा सम्मरबहादुर गायकले भोटेकोशीको कर्खा सुनाए ।
गायिका जानुका गायकले झलकमान गन्धवले लेखेको बाढीको आपत् समेटिएको अर्काे गीत सुनाइन् । गीतमा जानुकालाई सारंगी बजाएर उनका पति बलरामले साथ दिए । कार्यक्रममा गायक दिलीप गायकले आफ्ना बुवा धनबहादुरले गन्धर्वले सिर्जना गरेको ‘यो दाजुको मिर्मिरे आँखा’ गाएर धेरैलाई भावुक पारे ।
गोविन्द गायकले मानवजीवनमा मृत्युको शास्वत पक्ष समेटिएको निगुर्ण भजन सुनाए । पोखरा–१६, बाटुलेचौरको समूहले रत्यौली नृत्य प्रस्तुत गर्दा नरबहादुर गायकको अगुवाईमा दर्शकले तरबार नाँचको अनन्द लिए । विभिन्न १५ सांगीतिक प्रस्तुति रहेको कार्यक्रममा ‘कथा सारङ्गी’को शीर्षकमा गन्धर्वको इतिहास, संस्कृति र अहिलेको अवस्थाबारे बहससमेत भयो ।
आयोजकप्रतिष्ठानकी कुलपति सरस्वती प्रतीक्षाले गन्धर्व समुदायको मौलिक कला, संस्कृति र सङ्गीतको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम गरिएको बताइन् । १० वर्षका नवप्रतिभादेखि ७० वर्षका पाका कलाकारलाई गन्धर्व संस्कृति देखाइएको छ ।
पोखरा महानगरका प्रमुख धनराज आचार्यले गीत गाएर कार्यक्रम आरम्भ गरेका थिए ।गन्धर्वको सारंगी पोखराको मौलिक पहिचान भएको उनले उल्लेख गरे । यही मौलिकतलाई सम्मान गर्दै पोखरा महानगरले पोखरा–१८, देउरालीमा सारंगी पार्कबनाउँदै छ ।





