बागलुङ/बागलुङका दुई नेता नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति सदस्य पदमा निर्वाचित भएका छन् । समानुपातिक सांसद रेणुका काउचा मगर र गत संघिय निर्वाचनमा उपविजेता बनेका भीम श्रीस मगर काँग्रेसको १५औं महाधिवेशनबाट सदस्य पदमा निर्वाचित भएका हुन् ।
आदिवासी जनजाति क्लस्टरमा महिलातर्फ काउचा र खुलातर्फ श्रीस केन्द्रीय सदस्यमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । काउचा पहिलो पटक केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन भने श्रीस विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।
निर्वाचन परिणामअनुसार काउचाले २ हजार ३ सय ९२ मत प्राप्त गरेकी थिईन् । आदिवासी जनजाति महिलातर्फ ८ जना केन्द्रीय सदस्यमा निर्वाचित हुनेमा ३४ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका थिए ।
आदिवासी जनजाति खुलातर्फ भीम श्रीसले २ हजार ४६ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । यो समुहबाट खुलातर्फ ४१ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएकोमा १२ जना निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।





