मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

इमानदार कर्मचारीको संघर्षमा ‘खाग’

इमानदार कर्मचारीको संघर्षमा ‘खाग’


  • Dhorpatan News
  • फाल्गुन ७ २०७५, मंगलबार

पोखरा, ७ फागुन – चितवन राष्ट्रिय निकुञ्जका तत्कालीन सहायक वार्डेन कमलजंग कुँवर चोरीसिकार प्रतिरोध इकाईको प्रमुख भई काम गर्दा गैंडा संरक्षणका लागि उल्लेखनीय भूमिका खेलेका थिए । उनैको संघर्षको कथामा मनोज पण्डितले ‘खाग’ फिल्म बनाएका छन् । ‘फिल्म कमलजंग पात्रको संघर्षको कथा हो,’ निर्देशक पण्डितले राजधानीमा सोमबार फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा भने, “कुँवरजीले लेख्नुभएको ‘गैंडालाई चार वर्ष’ पुस्तकमा आधाआधी आधारित यो फिल्म साहित्य नभई संघर्षको कथा हो । एउटा मान्छेले चुनौतीका बावजुद कतिसम्म संघर्ष गर्न सक्छ भन्ने कुरो फिल्ममा देखिन्छ ।’ कमलजंगले आफूले कानुनको दायराभित्रै रहेर इमानदारीका साथ काम गरेको बताए । फिल्ममा भने उनको भूमिकामा प्रवीण खतिवडा छन् ।
यसअघि ‘ग्रेटर नेपाल’ डकुमेन्ट्री बनाएर चर्चा पाइसकेका पण्डितले ‘गैंडालाई चार वर्ष’ भने डकुमेन्ट्री बनाउन चाहेनन्, फिल्म नै बनाए । ‘फिल्मले समाजलाई पात्र र संघर्ष दिएको हुन्छ । हामीले फिल्ममार्फत समाजलाई दिने भनेको उत्प्रेरणा हो । इमानदार मान्छेको कथा हो यो । यो देशमा साँच्चिकै अभाव खडकिरहेको भनेको इमानदारीको हो ।’ फिल्मले मनोरञ्जन दिनुपर्छ भन्ने मान्यताको वर्चस्व रहेकोबारे आफू अनभिज्ञ नभएको भन्दै पण्डितले थपे, ‘उत्प्रेरणासहितको मनोरञ्जन सार्थक हुन्छ । ‘खाग’ को प्रयत्न पनि यही हो ।’
यो फिल्मको सुटिङमा प्रवीणको खुट्टै भाँचिएको थियो । ‘फिल्म यथार्थपरक लाग्नुपर्छ भन्ने सोचका साथ काम गरेका थियौं,’ प्रवीणले भने, ‘पछि पटकथामा केही परिमार्जन गरेर फिक्सनाइज गरियो ।’ प्रमिला कुँवरको निर्माण रहेको ‘खाग’ मा पुष्कर गुरुङ, आशान्त शर्मा, आर्जेश रेग्मी, नरेन्द्र बराल, सृजना अधिकारीलगायतको अभिनय छ । फिल्म फागुन २४ देखि देशभर प्रदर्शनमा आउँदै छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->