पोखरा, १४ फागुन – मंगलबार बिहान नहुँदै भारतीय वायुसेनाका फाइटर विमानहरूले पाकिस्तान अधिनस्थ कास्मिर प्रवेश गरि १००० किलोको बम प्रहार गरेका छन्। राती ३ः३० बजे भएको आक्रमणमा आतंककारीको अखडा ध्वस्त भएको र करिब ३०० जना आतंककारी मारिएको बताइएको छ। सुरक्षा स्रोतहरूलाई उद्धृत गर्दै इण्डिया टुडेले जनाएअनुसार भारतको मिराज फाइटर जेटले पाकिस्तान अधिनस्थ क्षेत्रमा आक्रमण गरी ठूलो आतंकवादी शिविर नष्ट गरेको हो। भारतीय वायुसेनाको फाइटर जेटले बिहान मंगलबार बिहान ३ः३० बजे सिमारेखा पार गरेको थियो। मिराज २००० सहितका लडाकु विमानहरू पाकिस्तान अधिनस्थ क्षेत्रमा प्रवेश गरी आतंककारी शिवरमा १००० किलो बम खसालेका थिए। भारतीय वायु सेनाले खसालेको बम पड्किदा पाकिस्तानमा रहेको आतंककारी समूह जैश–ए–मोहम्मदको अखडा ध्वस्त भएको र करिब ३०० जना आतंककारी मारिएको दाबी गरिएको छ।
बम खसालेर भारतीय वायु सेनाका मिराज २००० सहितका करिब एक दर्जन फाइटर विमान विनाक्षति भारतीय फर्किएको सैन्य अधिकारीहरूलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन्। भारतीय फाइटर जेटले पाकिस्तान अधिनस्थ कास्मिरमा राती आक्रमण गरेको विषयमा बिहान १०ः४५ बजेसम्म पनि भारत सरकारको प्रतिक्रिया आएको छैन। तर भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीले राती भएको आक्रमणप्रति प्रतिक्रिया दिँदै भारतीय वायुसेनाका पाइलटहरूलाई बधाई दिएका छन्।
पाकिस्तानमा आधारित जैश–ए–मोहम्मद ले १४ फेब्रुअरीमा जम्मू–कास्मिरको पुलवामामा आक्रमण गर्दा ४० जना भारतीय सैनिक मारिएका थिए। त्यसयता भारत र पाकिस्तानबीच तनाब बढेको छ। भारतीय सेनाले त्यसैको बदलास्वरुप राती लडाकु जेटबाट बम आक्रमण गरेको बताइएको छ। मंगलबार बिहानै पाकिस्तानका सैन्य प्रवक्ता मेजर जनरल आसिफ गफूरले भारतीय वायुसेनाले नियन्त्रण रेखा उल्लंघन गरेको आरोप लगाएका छन्।
‘भारतीय लडाकु विमान मुजफ्फराबाद क्षेत्रबाट पाकिस्तानमा घुसपैठ गरे र बालाकोट क्षेत्रमा बम खसाले’, मेजर जनरल आसिफ गफूरले ट्वीटमा भनेका छन्, ‘पाकिस्तानको वायु सेनाले तुरुन्त प्रतिकार गर्यो र भारतीय लडाकु विमान फिर्ता गए।’ उनले पाकिस्तान अधिनस्थ कास्मिरमा कुनै हताहती नभएको दाबी गरेका छन्। पाकिस्तानी वायुसेनाले प्रतिकार गरेको भिडियो एक जना पाकिस्तानी पत्रकारले ट्वीट गरेका छन्ः
Here’s the exclusive video of @IAF_MCC Line of Control violation last night but heavy retaliation from Pak Army force hastily escaping Indian Air Crafts to drop 1000kgs of tomatoes in open! #Balakot #LOC
Causes Zero Casualties or Damage Here! pic.twitter.com/74OB0KL4eN— Arsalan Siddiqy (@ArsalanISF) February 26, 2019
पाकिस्तानको यो दाबीमाथि भारतीय वायुसेनाले कुनै प्रतिक्रिया दिएको छैन। सोमबार मात्र पाकिस्तानी सेनाका एक उच्च अधिकारीले आफ्नो सशस्त्र बल ‘कुनै पनि भारतीय आक्रमणको दुस्साहसको प्रतिक्रिया दिन पूरै तयार रहेको’ बताएका थिए।

I salute the pilots of the IAF. 






