बागलुङ, १६ चैत – चर्चित लोकदोहोरी गायक बिष्णु खत्रीको नयाँ गीत ‘डाँडा काँडाको’ शुक्रवार युट्युव मार्फत सार्वजानिक भएको छ । बागलुङमा जन्मेर जनवादी गायकका रुपमा आफुलाई स्थापित गराउन सफल कलाकार बिष्णुको नयाँ गीत ‘डाँडा काँडाको’ भने मायाप्रेममा आधारित छ । यसलाई बिष्णुले आफ्नै डाडाँकाडाँको झल्को मेटाउने गीत बनाएका छन । बागलुङ जिल्लाका पर्यटकीय स्थलहरु गलकोट नगरपालिका-७ मल्मको राम्चेढुङ्गा र वडा नं १० पाण्डवखानीको सिद्वथानमा गीतको छायाङ्कन गरिएको थियो । पर्यटकीय स्थलहरुको गीत संगीतको भिडियो मार्फत प्रचार प्रसार गरि पर्यटन क्षेत्रमा टेवा पुगोस भन्ने उद्येश्यले राजधानी देखि टाढा सुटिङ युनिटको व्यवस्थापन गरि छायाङ्कन गरिएको लोक दोहोरी गायक विष्णु खत्रीले जानकारी दिए।
‘डाँडा काँडाको’ मा उनले गाउँको डाँडा काँडाको बाटोमा प्रेमिकालाई भेट्न जान पायक नपरेको भन्दै मन खिन्न बनाएका छन् । प्रेमिकाले भने मन भए बाटो टाढाको छैन भन्दै घुर्की लगाएकी छिन् । प्रेमिकालाई गाउँमा लिन आउँदा पनि अरुले शंका गर्ने हुन् कि भन्ने चिन्ता छ । तर, प्रेमिकाले आफूले सबै व्यवस्था मिलाउने भन्दै आश्वास्त पारेकी छिन् । उनले फेरि आधा बाटोसम्म बोलाएका छन् प्रेमिकालाई । आफू हुर्केको भूमि एक चोटी नघुमी नफर्किन उनलाई प्रेमिकाले आग्रह गरेकी छिन् ।
आफू दुईदिनभन्दा नबस्ने भएकाले समय नपुग्ने वाध्यता बिष्णुले प्रेमिकालाई सुनाएका छन् । प्रेमिको अभाव खप्दा गाह्रो भएकाले एक हप्ता बस्ने गरी आउन आग्रह गरेकी छिन् उनकी प्रेमिकाले । सुमधुर क्रियशनले बजारमा ल्याएको गीतमा उनको स्वरलाई चिनु घर्ती मगरले साथ दिएकी छिन् । तुलबीर थापा र साया भण्डारीको अभिनयले पनि भिडियोलाई पटक-पटक हेरौँजस्तो बनाएको छ । गीतमा विष्णु आफैँले शब्द र संगीत दिएका छन् ।
जम्मु काश्मिरमा, बिहे गरेँ हतारै हतारमा फुर्सदैमा लाग्छ पछुतो, नयाँ जमना, भरिया दाइले बिसाउने भारी, कि सास चाहियो कि लास चाहियो, दशैँमा रुन नपार लगायतका उनका गीत मर्मस्पर्शी मात्रै छैनन्, उत्तिकै चर्चित पनि छन् । उनका अधिकांस गीतले जनजीविकाको प्रतिनिधित्व गर्ने गर्दछन् ।





