पोखरा,१५ भदौ – नेपाली महिलाले धुमधामका साथ मनाउने हरितालिका तीजका विसंगति हटाउन अभियान चलाएको नारी जागरण अभियान पोखराले सबै चाडपर्वलाई विकृति, विसंगति मुक्त र मौलिक रुपमा मनाउन आग्रह गरेको छ । शनिबार आयोजित कार्यक्रममा अभियान संयोजक अञ्जु केसीले तीज पर्वलाई तडकभडकरहित रुपमा मनाउन सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गरिन् ।
उनले अब आउन लागेका दसैं, दीपावली लगायतका पर्वलाई पनि मितव्ययी ढंगले मनाउन र विकृति नियन्त्रण गर्न अभियान चलाउने घोषण गरिन् । यसपालिको दर खाने दिन आइतबार र हरितालिका तीजको व्रत लिने दिने सोमबार परेको छ । अभियानले गण्डकी सरकार र कास्की प्रशासनलाई महिनौं अघिबाट भड्किलो ढंगले दरको नाममा भोज खाने चलन रोक्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएको थियो ।
अभियानको ज्ञापनपत्रपछि गण्डकी सरकार र विभिन्न जिल्लाका प्रशासन कार्यालयले सनातन परम्परा अनुसार तीज मनाउन सूचना जारी गरेका थिए । संयोजक केसीले सामाजिक, संस्कृतिक विकृति, विसंगति विरुद्ध अभियान चलाएर समतामूलक समाज निर्माण गर्न लाग्ने प्रतिवद्धता गरिन् ।
पोखरा ५ का अध्यक्ष धनबहादुर नेपालीले व्रतको अघिल्लो दिन निराहर बस्न सक्ने बनाउन खुवाइने दरले महिलालाई आर्थिक रुपमा कमजोर बनाउन नहुने बताए । उनले भने, ‘दरले आत्मीयता र दरिलो शक्ति दिनुपर्नेमा कमजोर बनाउने अवस्था आउनुहुन्न ।’ संस्कृतिलाई अब्बल बनाउन त्यसमा भएका विकृति हटाउनु अत्यावश्यक रहेको तर्क गर्दै उनले यो अभियान देशव्यापी भएकोमा खुसी व्यक्त गरे ।
वैदिक धर्म परिषदका वेदनिधि अधिकारीले व्रतको अघिल्लो दिन घर आएका चेलीलाई भोलिपल्ट निराहर बस्न सजिलो होस् भनी अघिल्लो दिन राति दर खाने चलन चलेको बताए । हिन्दु धर्मका चाडपर्वमा अनेक वैज्ञानिक आधार रहेको उल्लेख गर्दै उनले चाडपर्व मनाउने नाममा विकृति, विसंगति र मान्छेको पहुँचबाटै पर्वलाई टाढा लैजान नहुने उल्लेख गरे । पोखरा वृहत सफाइ अभियानका रामबहादुर पौडेलले चाडपर्वलाई समय र सामाजिक हैसियत अनुसार पर्वकै बेलामा मनाऔंभन्दा विरोध गर्नुको अर्थ नभएको उल्लेख गरे । उनले भने, ‘अरुले गरेका राम्रा कामको प्रशंसा र अनुकरण गर्दा सानो भइँदैन ।’
कार्यक्रममा पोखरा ५ का वडा सदस्य उज्ज्वल खत्री, पूर्व वडाध्यक्ष रामजीप्रसाद बराल, सूर्यचन्द्र विकास समाजका निवर्तमान अध्यक्ष गायत्री भुत्र्याल, समाजका अध्यक्ष केदार कोइराला, सनातन धर्र्म सेवा समिति कास्की अध्यक्ष रवीन्द्र माकाजु, अभियन्ता लक्ष्मी रानाभाट लगायतले बोलेका थिए ।





