पोखरा / पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिनाको अवधिमा ६ हजार बढी यात्रुले संयुक्त अरब इमिरेट्सको दुबईका लागि ओहोरदोहोर गरेका छन् । नियमित उडान सुरु भएको शुक्रवार एक महिना पूरा भएको छ ।
सेप्टेम्बर २३ देखि अक्टोबर २३ सम्ममा फ्लाईदुबईको उडान मार्फत ६ हजार ३ सय ६२ यात्रुले यात्रा गरेको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिए ।
उडान मार्फत दुबईबाट पोखरा ४ हजार ५२१ र पोखराबाट दुबई जाने यात्रुको संख्या १ हजार ८४१ रहेको छ । एक महिनाको तथ्यांकअनुसार दुबईबाट पोखरा आउने यात्रुको प्रति उडान औसत करिब १५१ र पोखराबाट दुबई जाने यात्रुको औसत करिब ६१ रहेको छ ।
दुवैतर्फ गरी प्रतिउडान औसत करिब १०६ यात्रुले यात्रा गरेका छन् ।
पोखरा–दुबई हवाई सम्पर्कलाई निरन्तरता दिने प्रतिबद्धता स्वरूप फ्लाईदुबईले सन् २०२७ अक्टोबर सम्मका लागि टिकट बुकिङ खुला गरेको छ । यो यो संख्याले पोखराबाट अन्तर्राष्ट्रिय उडानको निरन्तरता प्रति आशा जगाएको पोखरा महानगरपालिका प्रमुख आचार्यले बताए ।
पोखरा-दुबई नियमित उडानले पोखराको पर्यटन, आर्थिक चलायमान र अन्तर्राष्ट्रिय आवागमनमा थप सहजता ल्याउने उनको अपेक्षा छ।
‘दुबईबाट पोखरा आउने यात्रुको संख्या राम्रो रहे पनि पोखराबाट दुबई जाने यात्रुको संख्या बढाउन सके उडानलाई थप प्रभावकारी र दिगो बनाउन सकिन्छ । पोखरा तथा गण्डकी प्रदेशका नागरिक, पर्यटन व्यवसायी, ट्राभल कम्पनी, होटल व्यवसायी, उद्योगी तथा निजी क्षेत्रलाई सम्भव भएसम्म पोखराबाटै अन्तर्राष्ट्रिय यात्रा गर्न हामीले आग्रह गरेका छौँ,’ प्रमुख आचार्यले भने।
व्यक्तिगत, पारिवारिक, व्यावसायिक तथा संस्थागत भ्रमणका कार्यक्रम पोखराबाटै सुरु गर्न र अन्तर्राष्ट्रिय गन्तव्यका लागि पोखराबाट भ्रमण प्याकेज सञ्चालन गर्न पनि उनले अनुरोध गरे।
फ्लाइ दुबई र यसको साझेदार वायुसेवा कम्पनी एमिरेट्समार्फत एउटै टिकटमा विश्वका ३०० भन्दा बढी गन्तव्यमा यात्रा गर्न सकिने सुविधा रहेको उल्लेख गर्दै प्रमुख आचार्यले दुबईलाई मात्र नभई त्यहाँबाट जोडिने विश्वका विभिन्न सहरसम्मको यात्राका लागि पनि पोखरालाई प्रस्थान बिन्दु बनाउन आग्रह गरेका छन्।
लामो समयपछि पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान शुरू भएकाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उपयोग बढाउनुका साथै पर्यटन, व्यापार, रोजगारी र समग्र क्षेत्रीय आर्थिक विकासमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।
विसं २०७९ पुस १७ गते उद्घाटन गरिएको पोखरा विमानस्थलबाट लामो समयसम्म अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन । कहिलेकाँही अन्तरराष्ट्रिय चार्टर उडान हुनु बाहेक यो विमानस्थल आन्तरिक उडानमा सीमित बनेको थियो। फ्लाइ दुबईको उडानपछि अन्य विमान कम्पनी समेत पोखरामा उडान भर्न आकर्षित भएको छ।





