
म्याग्दी / गत असोज ३० गते शनिबारदेखि अवरुद्ध बेनी–दरबाङ सडकखण्ड अन्तर्गत फापरखेतको पहिरो हटाएपछि शुक्रबार बिहानदेखि यातायातका सवारी साधन सञ्चालनमा आएका छन् । निरन्तर सुक्खा पहिरो झरिरहेकाले जोखिमपूर्ण बनेको सडकमा दुईवटा मेसिन परिचालन गरी पहिरो पन्छाएपछि यातायात सञ्चालनका लागि बाटो खुलाइएको हो ।
तातोपानी प्रहरी चौकीका सइ काजीराम श्रेष्ठका अनुसार माथिबाट नियमित रूपमा पहिरो झरिरहेकाले सडक खुलाउने काम जोखिमपूर्ण बनेको थियो । जोखिमका बिच दुईवटा मेसिन प्रयोग गरेर पहिरो पन्छाउने काम गरिएको उनले बताए । बिहान सडक खुलाएर केही गाडी वारपार गराएको र पुनः सडक फराकिलो भएको उनको भनाइ छ ।
पूर्वाधार विकास कार्यालय म्याग्दीका इन्जिनियर मुक्ति बुढाथोकीले बेनी–दरबाङ सडक आफ्नो कार्यालयको कार्यक्षेत्रभित्र पर्ने भएकाले पहिरो खसेको दिनदेखि नै सडक खुलाउने प्रयास भइरहेको बताए । निरन्तर पहिरो झरिरहेकाले तत्काल सडक खुलाउन नसकिएको भए पनि शुक्रबार मात्रै सफल भएको हो।
पहिरो पन्छाउन प्रयोग गरिएको मेसिन परिचालनमा संलग्न मंगला कन्स्ट्रक्सन प्रालिका राजु पाण्डेले सडक अवरुद्ध भएकै दिनदेखि मेसिन प्रयोग गरेर खुलाउने प्रयास गरिएको जानकारी दिए। माथिबाट निरन्तर सुक्खा पहिरो झरिरहेकाले काम गर्न कठिन भएको उल्लेख गर्दै उनले सातौँ दिनमा पहिरो पन्छाउन सफल भएको बताए।
बेनी नगरपालिका–४ र मंगला गाउँपालिका–४ को सिमानामा पर्ने फापरखेतको पहिरोका कारण बेनी हुँदै दरबाङ, ताकम, मुना, जलजला, बागलुङ तथा रुकुम पश्चिमतर्फ आवतजावत गर्ने यात्रु प्रभावित भएका थिए । सडक अवरुद्ध हुँदा स्थानीय बासिन्दा, यात्रु तथा मालसामान ढुवानीमा समेत समस्या भएको थियो ।
दसैँको मुखमा सडक अवरुद्ध हुँदा टीका लगाउन आफन्तको घरतर्फ हिँडेका सर्वसाधारणले समेत सास्ती भोग्नुपरेको थियो । लामो समयसम्म सडक अवरुद्ध हुँदा आवतजावतमा कठिनाइ भोगिरहेका यात्रुलाई पहिरो खुलेसँगै राहत मिल्ने अपेक्षा गरिएको छ।
फापरखेतको पहिरो बेनी–दरबाङ सडकखण्डमा वर्षेनि समस्या निम्त्याउने जोखिमपूर्ण क्षेत्रमध्ये एक हो । माथिबाट पहिरो झर्नेक्रम नरोकिएकाले सडक खुलाइए पनि यात्रा गर्दा सावधानी अपनाउनुपर्ने अवस्था रहेको छ ।





