
बागलुङ / पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले विपद्का कारण क्षतिग्रस्त यहाँका सडक र निजी आवास सरकारले छिट्टै पुनर्निर्माण गर्ने बताएका छन्।
शुक्रवार (आज) पश्चिम बागलुङको बाढीपहिरो संकटग्रस्त क्षेत्रको स्थलगत निरीक्षणपछि मन्त्री लम्सालले क्षतिग्रस्त मध्यपहाडी लोकमार्गको पुनर्निर्माण पहिलो प्राथमिकता रहेको बताएका हुन्।
मन्त्री लम्सालले बाढीपहिरोबाट घरबारविहीनलाई सुरक्षित स्थानमा आवास बनाउने सरकारको योजना अघि बढेको बताए।
उनले बाढीपहिरोका पीडितलाई खानपानका लागि मासिक रु. १५ हजार राहतको पहिलो किस्ता निकासाको चरणमा रहेको र बागलुङका छ पालिकाको विपद् व्यवस्थापन कोषमा प्रत्येक पालिकालाई रु. ४० लाखका दरले रकम पठाउने तयारी भइरहेको जानकारी दिए।
उनले बाढीग्रस्त क्षेत्र गलकोटस्थित दरमखोला आसपास क्षेत्र, बढिगाड, निसीखोला, ढोरपाटनको बुर्तिवाङ, निसीखोला गाउँपालिकाको झिवाखोला र कानाबगरलगायतको स्थलगत निरीक्षण गरेका थिए।
मन्त्री लम्सालसँगै बागलुङ क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य सोम शर्मा, पूर्वाधार मन्त्रालयका सचिव पदम मैनाली, सडक विभागका महानिर्देशक डा. विजय जैसी, बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य तथा सडक बोर्डका सदस्य अर्जुन श्रेष्ठलगायत सहभागी थिए।
क्षतिग्रस्त सडकको पुनर्निर्माणका लागि आवश्यक योजना, प्राविधिक मूल्याङ्कन तथा सम्बन्धित निकायबाट गर्नुपर्ने पहलका विषयमा संकट भोगेका पालिकाका जनप्रतिनिधिसँग छलफल गरिएको थियो।
सरकारले पुनर्निर्माण र राहतका लागि बागलुङको गलकोट नगरपालिका, बडिगाड गाउँपालिका, ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका, ताराखोला गाउँपालिका र तमानखोला गाउँपालिकालाई संकटग्रस्त क्षेत्रका रूपमा घोषणा गरेको छ।





