मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

लोपोन्मुख बाजाहरुको धुन पोखरामा घन्कियो

लोपोन्मुख बाजाहरुको धुन पोखरामा घन्कियो

सेना प्रहरीमा परम्परागत बाजा प्रयोग हुनुपर्दछः प्रदेश प्रमुख शेरचन


  • ढोरपाटन संबाददाता
  • मंसिर २२ २०७६, आइतबार

पोखरा, २२ मंसिर – लोपोन्मुख बाजा संरक्षण गर्ने उद्धेश्यका साथ नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना एवम हिमाली साँस्कृतिक परिवारको सहकार्यमा पोखरामा आयोजित दुई दिने गण्डकी प्रदेशका धूनहरु कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।कार्यक्रमको दोश्रो दिन शनिवार पोखरा गैह्रापाटनस्थित पोखरा उद्योग बाणिज्य संघमा आयोजित गण्डकीका लोपोन्मुख बाजाको धुनहरुले गुञ्जायमान बन्यो। लोपोन्मुख आर बाजा, पात, सारांगी, त्हउदु, टुङ्ना, ह्याङ्जे, ढग्ने, मानर, खैजडी, मृदा, ता र ढल्की लगायत प्रचलित बाजाहरुले कार्यक्रम रोचक बनाएको थियो।

कार्यक्रममा लोपोन्मुख बाजा ढल्कीको प्रस्तुति, भलकमान गन्धर्व सारांगी पाठशाला कास्कीले गाईने धुन, डाफेचरी, आर बाजा, सारांगी, मादल, मुजुरा, नेवा खल कास्कीको प्रतिनिधित्व गर्दै तेर्सापट्टि ताया मचा समितिले नेवारी धुन, मृदा, झ्याली, ता, ढल्की बाजाको धुन प्रस्तुत गरिएको थियो भने सिर्सेकोट नौथुम तमु समाजले पातको धुन प्रस्तुतिसँगै लोपोन्मुख ढिलो भाका प्रस्तुतिले कार्यक्रममा रौनक छाएको थियो।

लोपोन्मुख लोकबाजाहरु नयाँपुस्तालाई जानकारी गराउने उद्धेश्य समेत रहेको कार्यक्रममा दुधपोखरी तमु समाज पोखराले स्वर्ग जाने धुन, त्हउदु, झ्याली बाजाको प्रस्तुति, बौद्ध अर्घौ सदन पोखराले लामा बाजा र बौद्ध धुन, तमु प्ये ल्हु संघले पच्यु, क्याप्री, बोन्पो लमको बाजा धुन, ढ्याङग्रो, शंख र झ्यालीसहित प्रस्तुति गरेको कार्यक्रमका स्थानिय संयोजक तेज केसीले बताए।

कार्यक्रममा लाफा मगर समाज घाँसीकुवाले कौडा धुनसँगै खैजडी, झ्याली र मुजुरा, लेखनाथस्थित सत्संग भजन कृतन समुहले भजन प्रस्तुति नवलपुर थारु समाजले थारु सँस्कृति धुनहरु, मानर र मुजुर बाद्यबादनसहित प्रस्तुति नेपाल दैविक सनतन धर्म संरक्षण समिति, पञ्चै बाजा समुहले लोपोन्मुख धुनहरु र बाजाहरु सनाही, नरसिंह, दमाह, ढोलकी, ट्याम्को लगायतको तालमा सबै रमेका थिए। कार्यक्रममा हिमाली साँस्कृतिक परिवारका कलाकारहरुले नृत्यहरु प्रस्तुत गरेका थिए।

उक्त कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले नेपाली सेना प्रहरीमा परम्परागत मौलिक बाजा प्रयोग गर्नुपर्ने बताए। विदेशी बाजा अप्नाउने, आफ्ना मौलिक बाजा लोप हुदै जानुले नेपाली राष्ट्रियतामा समेत असर पुग्ने भएकाले राज्यकै अंगबाट लोकबाजाहरु प्रयोगका निम्ती पहल गर्दै पश्चिमा बाजाहरु विस्थापित गर्न आवाज उठाउन उनको आग्रह थियो। विदेशी बाजा प्रयोगले नेपाली इतिहास मेटिदै जाने, राष्ट्रिय एकतामा समेत प्रभावित पार्ने भएकाले परम्परागत बाजा संरक्षणका लागि राज्यले अपनत्व लिनुपर्ने उनले बताए ।

नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका संगीत विभाग प्रमुख अशोक राईको अध्यक्षतामा भएको कार्यक्रममा हिमाली साँस्कृतिक परिवारका वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर थापाले स्वागत र सचिव श्रीजंग गुरुङले कार्यक्रम संचालन गरेका थिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->