काठमाडौं, २ पुस- गृहमन्त्री रामबहादुर थापा‘बादल’ले बुधबार बिहान त्रिभुवन अन्तर्राट्रिय विमानस्थल र त्यहाँस्थित अध्यागमन कार्यालयको अनुगमन गरेका छन् । नेपाल भ्रमण वर्ष २०२० नजिकिरहेको अवस्थामा गृहमन्त्री बादल प्रधानमन्त्रीका सल्लकाहरुलाई लिएर अध्यागमन कार्यालय सुधारको अवस्था बुझ्न विमानस्थलमा पुगेका हुन् ।
गृहमन्त्री थापाले यात्रुहरुको प्रस्थान कक्ष, आवागमन कक्ष, प्रहरीको सिसिटिभी मोनिटरिङ कक्ष लगायतको निरीक्षण गरेका थिए। त्यसक्रममा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थापा पनि साथमा थिए । अनुगमनपछि गृहमन्त्री थापाले विमानस्थल तथा अध्यागमन कार्यालय पहिलेभन्दा निकै सुधार भए पनि यो अपर्याप्त रहेको भन्दै थप गुणत्मक सुधार गर्न निर्देशन दिएको प्रेस सहयोगी किरण भट्टराईले जानकारी दिए ।
अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले अध्यामन सुधारको कार्ययोजना अनुसार अहिले अध्यागमनमा नेपालको आफ्नो सफ्टवेयर ‘नेपाली पोर्ट’ निर्माण भइरहेको जानकारी दिए । उनले नयाँ भौतिक संचरना निर्माण अन्तिम चरणमा पुगको जानकारी दिँदै अब अत्याधुनिक सुविधासम्पन्न अध्यागन कार्यालयका रुपमा यो सञ्चालनमा आउन लागेको जानकारी दिए । निरीक्षणका क्रममा गृहमन्त्री थापा, गृहसचिव प्रेमकुमार राई, प्रधानमन्त्रीका प्रमुख सल्लाहाकार रिमाल र सुरक्षा निकायका उच्च अधिकारीहरु लगायत सहभागी थिए।





