बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

अशान्त भारत र अतिवाद

अशान्त भारत र अतिवाद


  • Dhorpatan News
  • पुष ६ २०७६, आइतबार

भारत अशान्त छ । राष्ट्रिय नागरिक पञ्जीकरण (एनआरसी) को विरोधमा भएको प्रदर्शनहरु हिंसात्मक बन्दै गएका छन् । प्रदर्शनसँगै मारिनेको संख्या बढ्दै गएको छ । भारत सरकारले अघि सारेको यो विवादाष्पद प्रक्रियाका कारण नेपालीभाषीसमेत प्रभावित हुने खतरा देखिएको छ । यद्यपी, भारतीय गृहमन्त्री अमित शाहले एनआरसीले नेपालीलाई असर नगर्ने बताएका छन् । नागरिकका व्यक्तिगत पहिचान र सूचनाहरु संकलनको लागि अघि सारिएको यो विधि असमबाट सुरु भएको हो । एनआरसी भारतभर लागू हुँदैछ । एनआरसीमा भएको प्रावधान अनुसार सन् २०१४ को डिसेम्बर ३१ तारिखसम्म बंगलादेश, पाकिस्तान र अफगानिस्तानबाट भारत आएकामध्ये मुलमान बाहेकलाई नागरिकता दिइने छ । यसो गर्दा लाखौँ मुलमानहरु भारतीय नागरिकताबाट बञ्चित हुनेछन् । यता असमलगायतका क्षेत्रका रैथानेहरुले चाहिँ ठूलो संख्यामा विदेशबाट आएकाहरुलाई नागरिकता दिँदा आफ्नो पहिचान मेटिने भन्दै विरोध गरिरहेका छन् । विरोधका यी दुई पाटा रहे पनि मुख्य संसारकै ठूलो लोकतन्त्र दावी गर्ने भारत बिस्तारै धार्मिक अतिवादतिर लम्कँदै छ भन्ने कुरालाई बल पु¥याएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रो कार्यकाल सरकारको नेतृत्व गरिरहेका छन् । २० करोडभन्दा बढी मुलमान भएको देशका उनी हिन्दू अतिवादीको रुपमा चिनिन्छन् । उनी सत्तामा आएदेखि नै भारतमा धार्मिक अतिवादको बढोत्तरी भएको विश्वास गरिन्छ । त्यसो त, गुजरातको मुख्यमन्त्री हुँदा पनि उनी यो विवादमा नमुछिएका होइनन् । अतिवादको यो श्रृंखला अयोध्यामा राममन्दिर निर्माण, कस्मिरको विशेष राज्यको दर्जा खारेज र पछिल्लो एनआरसीसम्म आइपुग्दा अझ अझ डरलाग्दो बनेको विपक्षीहरुको आरोप छ । सरकार भने एनआरसीलाई विपक्षीहरुले राजनीतिक मुद्दा बनाएको दावी गरिरहेको छ । यो दावीका बीच चलेको आन्दोलन मत्थर पार्ने नाममा देशका विभिन्न ठाउँमा इण्टरनेट पनि बन्द गरिएको छ । लोकतान्त्रिक देशमा जनताको सूसुचित हुने अधिकारमाथि अतिवादी राष्ट्रवाद हावी भएको छ । एनआरसीको विरोधको यो प्रकरण कसरी अन्त्य होला, यसै भन्न सकिँदैन तर राज्यको चरित्र अतिवादी बन्दा नागरिकहरुले दुःख पाउँछन् भन्ने सन्देश भने यो प्रकरणले दिएको छ ।
विश्वका धेरै देशहरु यतिबेला अन्धराष्ट्रवादीको हातमा गएको भन्दै चिन्ता व्यक्त गरिन थालेको छ । अमेरिकादेखि बेलायत,भारतलगायतका देशमा अनुदारवादीहरु सत्तामा पुगेका छन् । साम्यवादी चीनमा राष्ट्रपतिलाई चाहेसम्म त्यही पदमा बस्ने व्यवस्था मिलाइनुमा पनि अन्धराष्ट्रवादले नै काम गरेको छ । नेपालमै पनि नेपाल कम्युनिष्ट पार्टीको सरकारको झण्डै दुई तिहाई बहुमतमा राष्ट्रवादी चरित्रले काम गरेको प्रष्ट नै छ । अन्धराष्ट्रवाद र नश्लवादको वकालत गर्नेहरुप्रतिको झुकावको कारण के हो प्रष्ट भएको छैन । तर,नश्लवादी चरित्रले कालान्तरमा समाजलाई विभाजनतिर नै धकेल्छ भन्नेमा चाहिँ द्धिविधा छैन ।
विश्वले मानववादी चरित्रको माग गरेको छ । आफूबाहेकलाई घृणा गर्नु भनेको मानवताविरोधी गतिविधि हो । संसारले यतिबेला प्रेम खोजको छ । घृणाबाट उब्जने आगोको लप्का डरलाग्दो हुन्छ । आगो दन्कँदै जाँदा त्यसले आगो लगाउने स्वयंलाई पनि सक्ने डर हुन्छ । अतः अतिवादको यो प्रक्रियाबाट राज्यहरु सक्दो छिटो जोगिनु पर्छ । भारत सरकारले पनि यो सत्यलाई सक्दो छिटो बुझ्न्पर्छ । हिंसाले सृजना गरेको विभाजन डरलाग्दो हुन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->