केन्द्रीय अनुसन्धान ब्यूरो ( सिबिआई) ले १२२ जना चिनियाँ नागरिकलाई पक्राउ ग¥यो । उनीहरु नेपालमा बसेर अनलाइनमार्फत चीनमा नै आपराधिक क्रियाकलाप गराउने कार्यमा सक्रिय रहेको प्रहरीको दावी रहेको छ । नेपालमा यति धेरै चिनियाँ पक्राउ परेको यो पहिलो पटक हो । त्यसो त नेपालकै एटिम लुट्नेदेखि अन्य आपराधिक क्रियाकलापमा संलग्न चिनियाँहरु यसअघि पक्राउ नपरेका भने हैनन । नेपाल विदेशी अपराधीहरु पक्राउ परेको यो पहिलो पटक पनि होइन । विभिन्न देशमा अपराध गरेकाहरु नेपाल आउने र सुरक्षित बन्ने प्रक्रिया पनि नयाँ होइन । सिरियलल किलरको उपनाम पाएका चाल्र्स शोभराजदेखि आतंकी क्रियाकलापमा संलग्न आतंकारी यासिन भड्कल पनि नेपालमै पक्राउ परेको विश्वास गरिन्छ । लागूऔषध कारोवारी, यौन दुराचारीहरुको आश्रय र क्रिडास्थल नेपाल बन्ने गरेको त घटनाक्रमले पुष्टी गरेकै विषय हो ।
नेपालको सुरक्षा व्यवस्थामाथि पटक–पटक प्रश्नचिन्ह खडा हुँदै आएको छ । मित्रराष्ट्र भारत यो मामलामा सधैँ अगाडि छ । इण्डियन एयरलायन्सको जहाज अपहरणदेखि आतंकी क्रियाकलापमा संलग्नहरुले नेपालबाटै आफ्नो गतिविधि गर्ने गरेको त्यहाँका मिडियाहरुले उठाउने विषय हो । कतिपय अवस्थामा त्यो आरोप सत्य पनि देखिएको छ । पाकिस्तानी गुप्तचर संस्था र आतंककारीहरुले नक्कली भारतीय रुपैयाँको कारोवार पनि नेपालबाटै गर्ने गरेको भारतको आरोप छ । नेपाल–भारतबीच रहेको १ हजार ७ सय ५१ किलोमिटर लामो खुल्ला सीमाका कारण पनि यो आरोप लगाउन सजिलो भएको हो । आरोपलाई चाहिँ नेपालले गम्भीरतापूर्वक नै लिनुपर्छ । आफ्नो तालाचाबी बलियो बनाउनेतर्फ नेपाल स्वयं लाग्नुपर्छ ।
नेपालको सुरक्षा व्यवस्था चुस्त नभएको पक्कै हो । हामीसँग अपराध अनुसन्धानको आधुनिक पद्धति नै छैन । जाली पासपोर्टमा एउटा विदेशी नेपाल सलिलै पस्न सक्नु भनेको हाम्रो घरको ढोका कमजोर हुनु नै हो । यसैगरि एउटा अपराधी कयौँ दिनसम्म आरामले यहीँ बसेर आफ्नो गतिविधि गर्नु भनेको गुप्तचर प्रणालीको खराबी हो । यतातर्फ नेपाल संवेदनशील बन्नुपर्छ । नेपालले विभिन्न देशसँग गरेका सम्झौता कार्यान्वयन गर्नु एउटा पाटो छँदैछ, सुरक्षा व्यवस्था मजबूत बनाउनु आफ्नो लागि पनि हो । नेपालमा बसेर विदेशी भूमिमा अपराध गर्नेहरुले कुनै दिन नेपालमै ठूलो घटना नघटाउलान् भन्न सकिँदैन । चाल्र्स शोभराजले त्यो त देखाइ पनि सकेका छन् । यसैगरि बाल यौनदूराचारीहरुको चंगुलमा नेपाली बालबालिका फसेको पनि सत्य नै हो । यो अवस्थामा नेपाल सुरक्षा व्यवस्था मजबूत बनाउन बढी नै गम्भीर र संवेदनशील बन्नुपर्छ । भारततिरको खुल्ला सीमानाको सुरक्षादेखि हवाई मार्ग भएर आउने विदेशीहरुको लगत राख्नेदेखि उनीहरुका गतिविधिहरु शुष्म रुपले निगरानी गर्नुपर्छ । म्ुख्य कुरा त, प्रहरीको चुस्तता नै हो । अपराध अनुसन्धानमा दक्षिण एसियामै पहिलो भनेर गर्व गर्ने प्रहरी संगठनले बढ्दो सुुरक्षा चुनौतिबारे आफूलाई अपडेट गर्नैपर्छ । प्रविधिको प्रयोग र साइबार अपराध नियन्त्रणदेखि विदेशीका अवान्छित क्रियाकलापमा लगाम लगाउनै पर्छ । सुरक्षा चुनौतिलाई पन्छाउन नसके यो देश नै कलंकित पार्ने विषय बन्न सक्छ भन्नेमा राज्यले बेलैमा होस पु¥याउनुपर्छ । नेपाललाई अन्तर्राष्ट्रिय अपराधीको आश्रयस्थल बन्न दिनु हुँदैन ।

