पोखरामा दोस्रो संस्कणको पोखरा प्रिमियर लिग ( पिपिएल) सफलतापूर्वक सम्पन्न भएको छ । प्रतियोगिताको उपाधिमा यो पटक चितवन राइनोजले कब्जा जमायो । गतवर्षको पोखरा पल्टनले यो वर्ष राम्रो खेल्न सकेन । खेलकुदमा हार–जित स्वभाविक हो । ठूलो पुरस्कार राशीको प्रतियोगिताको कुशल व्यवस्थापन यो प्रतियोगिताको विशेषता हो । सबैभन्दा आशा गरिएको क्रिकेट खेल विकासको लागि पिपिएलले दिएको योगदान यसको अर्को पाटो हो । खेलकुदमा लागेर जीवन धान्न धौ–धौ पर्ने र खेल क्षेत्रबाटै पलायन हुने रोगले ग्रस्त नेपाली खेलकुदलाई पिपिएलजस्ता प्रतियोगिताले साँच्चिकै ठूलो योगदान दिएका छन् । यी प्रतियोगितामा भाग लिने खेलाडीहरुले पुरस्कार पाउँदा त्यसले उनीहरुलाई केही राहत दिएको छ । अर्कोतर्फ खेलेर नै खेलाडी बनिने हो । खेल्न नपाउँदा खेलाडी निराश हुन्छ । उसको खेल कौशल पनि विकास हुन सक्दैन । पिपिएलले खेलाडीलाई आफ्नो कौशल निखार्ने मौका पनि प्रदान गरेको छ ।
नेपाली क्रिकेट लामो समयसम्म विवादमा रह्यो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले यसलाई निलम्बन नै ग¥यो । त्यही विषम परिस्थितिमा लिग सुरु भएकाले पनि पिपिएलको विशेष महत्व रहेको मान्न सकिन्छ । निजी क्षेत्रले ठूलो लगानीसँगै पिपिएल,धनगढी प्रिमियर लिग तथा काठमाण्डौ प्रिमियर लिगको आयोजना गर्दा खेलप्रति आम नागरिकको रुचि पनि जगाएको छ । क्रिक्रेटमा नेपालको सफलता यात्रा आफैमा लोभलाग्दो भएको बेला यस्ता प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा पनि सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।
अर्कोतर्फ पोखरा सुन्दर मात्र छैन, क्रिकेटको लागि सुहाउँदो पनि छ । हिमाललाई पृष्ठभूमिमा पारेर क्रिकेट खेल्न सकिने यस्तो ठाउँ संसारमै छैन । खेलाडीले ब्याटिङ र बलिङ गर्दा माछापुच्छे« र अन्नपूर्ण हिमश्रृंखला देखिनाले नै पोखरा क्रिकेटको लागि विश्वकै लोभलाग्दो ठाउँ बन्ने क्रममा छ । पिपिएलजस्ता प्रतियोगितामार्फत खेल र पोखराको पनि प्रचार भएको छ । भर्खरै पोखरामा दक्षिण एसियाली खेलकुद सकिएको छ । ती देशका खेल प्रतिनिधिहरुले पोखराको सुन्दरता देखेका छन् । सानो रुपमा गरिएको व्यवस्थापन पनि हेरेका छन् । यस मानेमा, यो र यस्ता प्रतियोगिताहरुले विश्वकै ध्यान पोखरामा तानिने क्रम सुरु भएको छ । पोखराको रंगशालालाई विश्वस्तरको बनाउन सक्ने हो भने र अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना हुने हो भने खेल पर्यटनमार्फत पोखराको कायापलट हुन सक्ने देखिएको छ । त्यसो त, बेलाबेला भारत र पाकिस्तानजस्ता देशहरुबीच नेपालमा क्रिकेट खेलाउने गफ नगरिएका भने होइनन् । तर, त्यसको लागि पूर्वाधारको कमी त छँदैछ, अन्तर्राष्ट्रिय प्रतियोगिताको लागि नेपालले पहलकदमी पनि लिन सकेको छैन । पूर्वाधार र सुरक्षाजस्ता विषयको व्यवस्थापन गर्न सकियो भने पोखरामा अन्तर्राष्ट्रियस्तरको खेल खेलाउन कुनै समस्या हुने छैन । पानी परे पनि छिट्टै ओभाउने मैदान, हिमाल खुल्ने वातावरण र अनुकूल तापक्रमले पनि क्रिकेटको यहाँ अपार सम्भावना छ । यो सम्भावनालाई पिपिएलजस्ता प्रतियोगिताले उजागर गरिदिएका छन् । यही नै पिपिएलको सबैभन्दा महत्वपूर्ण सन्देश हो ।

