नेपालीको खानपान बदलिएको छ । घरमै बनेका खानेकुराहरु प्याकेटका तयारी खानाले विस्थापित गर्दैछन् । पोषणविदहरुको सिफारिसमै नपरेका खानेकुराहरु हाम्रा बाबुनानीको प्रिय बन्न थालेका छन् । संसारका विभिन्न कुनामा उत्पादन भएका खानेकुराहरु नेपालमा पनि सजिलै उपलब्ध हुन थालेका छन् । परम्परागत रुपले खाइने र पौष्टिक मानिएका खानेकुरा र खाद्यान्नहरु छाडेर हामी त्यही नामबाट बनेका बहुराष्ट्रिय कम्पनीका उत्पादनतिर लोभिएका छौँ । मध्यपान र धुमपान गर्नेहरु पनि बढेका छन् । शरीरलाई कुनै पनि कोणबाट फाइदा नगर्ने यस्ता खाद्य तथा पेय पदार्थ सेवन फेसन बन्न पुगेको छ । किताब सजाउने घरका दराजहरु रक्सीले सजिन थालेका छन् । कसको घरको दराजमा कति महंगा रक्सी सजाइएको छ वा कसले आयोजना गरेको भोजमा मादक पदार्थ कति छेलोखेलो पारियो भन्नेले मानिसको हैसियत मापन हुने भएको छ । घरमा उत्पादित मही फालेर बहुराष्ट्रिय कम्पनीले उत्पादन गरेका पेय पदार्थमा रमाउनेहरुको संख्या बढ्दा मानव स्वास्थ्यमा प्रतिकूल असर देखिन थालेको छ । खानपान संस्कृति बदलिँदा नयाँनयाँ रोगहरुबाट मानिस पीडित बन्न थालेका छन् । रोगको उपचारको क्रममा नै नेपालबाट अरवौँ रुपैयाँ बाहिरिने अवस्था बनेको छ ।यद्यपी, यसको आधिकारिक तथ्याङ्क भने सरकारसँग छैन । तर, विदेशका अस्पतालहरुमा देखिने नेपालीहरुको भीडले यो रकम ठूलै भएको अनुमान लगाउन गाह्रो पर्दैन । आफ्नो शरीरलाई प्रेम नगर्दा र जथाभावि खानेकुरा खाँदा नै असाध्य रोगग्रस्तहरुको संख्या बढेको हो ।
स्वास्थ्य भनेको धन नै हो । स्वस्थ शरीरले मात्र उत्पादकत्व बढाउँछ । मानिसलाई उर्जावान बनाउँछ अनि सत्कर्ममा लाग्ने उत्प्रेरणा जगाउँछ । मानिसको शरीर जैविक मेसिन नै हो । यसले अस्वीकार गर्ने वा पाचन प्रक्रियामा असर पु¥याउने खाद्य वा पेय पदार्थले इञ्जिन कमजोर बनाउँछ । बूढापाकाहरु पाचन प्रक्रियासँग जोडिएका शरीरका अंगहरुको क्रियाकलापलाई ‘अग्नी’ अर्थात् आगोको रुपमा लिन्थे । पेटको अग्नी कमजोर बनाउनु हुन्नँ भन्ने मान्यता राख्थे । त्यसैले उनीहरु खानपानमा विशेष ध्यान पु¥याउँथे । तर, अहिले त्यस्तो छैन, पेटको अग्नीले पचाओस् कि नपचाओस्, शरीरलाई हानी नै किन नगरोस् मानिसहरु त्यस्ता खाद्यान्नप्रति आकर्षित हुन थालेका छन् । यो गलत कार्य हो । बहुराष्ट्रिय कम्पनीले उत्पादन गरेका र आकर्षक प्याकेजमा सजाइएकाभन्दा हाम्रै गाउँघरमा उत्पादित खाद्यान्नले बढी पोषण प्रदान गर्छन् । बोत्तलमा हालिएका अमूक नामका पेय पदार्थभन्दा हाम्रै गाउँको मही हितकर छ । अहिले बजारमा पाइने खाद्य र पेय पदार्थमा कति र कस्तो रसायन छ भन्ने मापन नै भएको छैन । अझ, विषादीसहितका खानेकुराहरु पनि बजारमा देखिने गरेका छन् । यस्तो अवस्थामा कम्तिमा आफ्नो शरीरलाई प्रेम गर्ने बानीको विकास गर्नुपर्छ ।स्वस्थ शरीरका लागि व्यायामसहित हितकर खाना खाने बानी बसाल्नु पर्छ । शरीर नै बिग्रियो भने धनसम्पत्ति कुनै अर्थ रहँदैन । अतः आफ्नो शरीरलाई प्रेम गर्नेतर्फ सबैले सोचौँ । कम्तिमा खानपानमा संयमता अपनाऔँ । शरीरलाई प्रेम गर्ने बानीको विकास गरौँ ।

