फेवाताल किनारामा दुईवटा दरबार छन् । राजा महेन्द्रले बनाएको रत्नमन्दिर र उनका भाईले बनाएको हिमागृह करिब १सय ७४ रोपनीमा फैलिएको छ । यी दुई दरबारमा कुनैबेला राजाहरु बस्थे । तर, राजसंस्था नै नरहेपछि यो सम्पत्ति नेपाल सरकारको नाममा आएको छ । नेपाल ट्रष्टको नाममा रहेका यी संरचनाहरु पर्यटकीय केन्द्रको रुपमा विकास गरिनुपर्ने आम पोखरेलीको माग छ । तर, हालै नेपाल ट्रष्टले हिमागृहलाई भाडामा दिने सूचना जारी ग¥यो । यो सूचनाले धेरैलाई झस्कायो । पर्यटन व्यवसायी र पोखरेली प्रवुद्धवर्गले यो निर्णयको विरोध गरे । यता, नेपाल भ्रमण २०२० को समुद्घाटन कार्यक्रममा यी दुबै दरबार खोलिने भनिए पनि त्यसो हुन सकेन । पर्यटन मन्त्रालयमार्फत यी दुबै दरबार खुलाउने पहल भइरहको बताइए पनि रत्नमन्दिर कहिले सर्वसाधारणको लागि खुल्छ भन्ने एकिन हुन सकेको छैन । पर्यटनमन्त्री योगेश भट्टराईले दुबै दरबार खुलाउने र ती पर्यटकीय गन्तब्य नै बनाइने बताए पनि पोखरेलीहरु विश्वस्त हुन सकेका छैनन । फेवाताल किनारामा रहेकाले यसको पर्यटकीय महत्व असाध्यै ठूलो रहेको छ । दरबार सर्वसाधारणको लागि खोल्ने हो भने यसले पर्यटकको बसाई लम्ब्याउन मद्दत गर्छ । पर्यटकको बसाई लम्बियो भने त्यसले समग्र अर्थतन्त्रमा योगदान पु¥याउँछ । अर्कोतर्फ पूर्वराजपरिवारले चर्चेको यो ऐतिहासिक ठाउँको संरक्षणमा पनि उत्तिकै ध्यान दिनुपर्ने हुन्छ । इतिहासको एक कालखण्डको स्मरण गराउने ठाउँ अन्य व्यापारिक प्रयोजनमा लगाउनु उचित हुँदैन ।
पूर्वराजपरिवारको नाममा रहेका जग्गाहरु नेपाल ट्रष्ट मातहत आएका छन् ।देशका विभिन्न भागमा भएका ती जग्गाहरु कौडीको मूल्यमा एउटा व्यापारिक समूहलाई सुम्पिएको छ । रत्नमन्दिर हिमागृहमा पनि यती समूहले आँखा लगाएको कुरा सार्वजनिक भएको छ । ताल किनारामा रहेको यी दुबै दरबारमा होटल खोल्ने योजनामा सो समूह रहेको सार्वजनिक भएकै बेला हिमागृह भाडा दिने गरि सूचना जारी हुनुले झन शंका उब्जाएको छ । यो कार्य तत्काल रोकिनुपर्छ । गण्डकी प्रदेशका सभासद राजिव पहारीले रत्नमन्दिरमा बोटानिकल गार्डेन बनाउन र त्यसलाई पर्यटकीय केन्द्र बनाउन रकम नै विनियोजन गरेका छन् । रत्नमन्दिर खुलाउने उनको प्रयास सफल हुन सकेको छैन । अर्कोतर्फ रत्नमन्दिरमा व्यापारिक समूहले आँखा लगाएको छ । हिमागृह वा रत्नमन्दिर कुनै व्यापारिक समूहलाई दिएर होटल चलाइयो भने त्योभन्दा दुर्भाग्य केही हुनेछैन । राष्ट्रिय महत्वका यस्ता धरोहरलाई तहसनहस पार्ने अधिकार कसैसँग पनि छैन । पर्यटकको लागि स्तरीय होटल चाहिन्छ भन्ने तर्कको भरमा ती दरबार बिगार्न पाइँदैन । नेपाल ट्रष्टले यस्तो निर्णय ग¥यो भने सम्पुर्ण पोखरेलीले त्यसको प्रतिकार गर्नुपर्छ । अर्कोतर्फ ती दुबै दरबार फेवातालको मापडण्डभित्र परेका छन् । कथंकदाचित त्यो जग्गामा होटल खोलियो भने त्यसले प्रदुषण मात्र बढाउने छैन, थप निर्माण कार्य पनि गर्न सक्छ । त्यसलै फेवातालको किनारमा रहेको सुन्दर दरबारलाई दरबारकै रुपमा रहन दिनुपर्छ । यो सर्वसाधारणको लागि खुल्ला गरिनुपर्छ ।

