बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मुटु बचाऔँ

मुटु बचाऔँ


  • Dhorpatan News
  • पुष २३ २०७६, बुधबार

नेपालमा मुटुरोगीको संख्या दिनानुदिन बढ्दै गएको छ । व्यस्त जीवन, अव्यवस्थित दिनचर्या, खानपान र तनावग्रस्त जीवन मुटुरोगका कारणहरु हुन् । नेपालमा वार्षिक हुने मृत्यदरमा १४ दशमलव २४ प्रतिशत मुटुरोगकै हिस्सा रहेको एक अध्ययनले देखाएको छ । केही समयअघि सार्वजनिक प्रतिवेदनका अनुसार अनुसार अधिक धुमपानले २३.८,तनावले २१.५,मधुमेहले १० र शारिरीक व्यायामको कमीले ५. ५ प्रतिशतमा मुटुरोग देखिएको छ । नेपालीहरुको खानामा पोषणयुक्त फलफूल, हरियो सागपातको मात्रा नमिल्दा पनि समस्या देखिएको अध्ययनले देखाएको छ । कुल जनसंख्याको २० प्रतिशत जनसंख्या कुनै न कुनै प्रकारको मुटुरोगबाट ग्रस्त भएको अनुमान गरिएको छ । यो डरलाग्दो अवस्था हो ।
मुटुरोगको यो महामारीको तुलनामा नेपालमा उपचारको प्रबन्ध तथा जनचेतानत्मक अभियान भने साह्रै सुस्त रहेको छ । अझ खानपानमा भएको लापरवाहीले सानै उमेरमा देखिने मुटुरोगले ठूलो समस्या समेत उत्पन्न गरेको छ । सबैलाई थाहा छ,मुटु मानव शरीरको सबैभन्दा महत्वपूर्ण अंग हो । यही अंगमा खराबी देखिएपछि त्यसको प्रभाव सबै अंगमा पर्नु अस्वभाविक हैन । यस्तो अवस्थामा मुटुरोगबाट बच्न र बचाउनको लागि सरकारी तवरबाट ठूलै अभियान संचालनको आवश्यकता छ भने मानिसको दिनचर्या परिवर्तन गर्नुपर्ने आवश्यकता पनि देखिएको छ । बढ्दो वातावरणीय प्रदुषण, खानपानमा देखिएको लापरवाही नियन्त्रण पनि मुटुरोग नियन्त्रणको लागि सहायक हुन सक्छन् ।
अहिले नेपालीहरुको दिनचर्या न त हिजो धार्मिक र सामाजिक रुपले निर्धारण गरिएको जस्तो छ, न त विश्व स्वास्थ्य संगठनले तोकेको अनुसार नै चलेको छ । जीवन व्यस्त हुँदै गएको छ, तनाव बढ्दो छ । त्यसैगरी वातावरणमा बढ्दै गएको प्रदुषण, खानपानमा देखिएको लापरवाही र अस्वभाविक दैनिक जीवनले मानवीय स्वास्थ्य जोखिममा परेको छ । अझ, नेपालको सन्दर्भमा त यहाँ पाइने सबैजसो खानेकुराहरु मिसावटरहीत हुन सकेका छैनन् । मिसावटयुक्त खानेकुराले सबैभन्दा पहिला मुटुमा नै क्षति पु¥याउने गरेको छ । युवाहरुमा बढ्दो मध्यपान र धुमपानको लतले पनि रोग निम्त्याउने बाहेक केही गरेको छैन । अहिले देखिएका खराब प्रवृत्ति अन्त्य र नागरिकलाई स्वस्थ जीवनतर्फ लैजानको लागि जनचेतना अभिवृद्धिको कार्यक्रमलाई तीब्र बनाउनु पर्ने भएको छ ।
रोग लाग्न नदिनु राम्रो हो । रोग लागेपछि सहुलियत दरमा सही उपचार पाउनु नागरिकको अधिकार हो ।नेपालका नागरिकहरु भने स्वास्थ्यको आधारभूत अधिकारबाट बञ्चित छन् । सरकारी लापरबाही र बढ्दो निजीकरणले उपचार नपाएर मृत्युवरण गर्नुपर्ने अवस्था सृजना भएको छ । मुटुको उपचार नै महंगो हुनाले पनि सर्वसाधारणहरु सेवाबाट विमुख हुनुपर्ने अवस्था छ । राजधानीमा मुटुरोगको लागि उपचारको व्यवस्था भए पनि मोफलसमा त्यस्तो विशेषज्ञ सेवाको अभाव छ । मुटुसम्बन्धि केही समस्या देखियो भने मानिसको जीवन नै मृत्यु र जीवनको दोसाँधमा पर्न पुग्छ । यो अवस्था अन्त्यको लागि राज्यले ध्यान दिनुपर्छ । मुटुरोगको उपचारलाई सर्वसुलभ बनाउनुको साथै मोफसलमा पनि उपचार हुने वातावरण बनाउनेतर्फ सरकारको ध्यान जानु जरुरी छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->