आइतबार २९८ पृथ्वी जयन्ती मनाइयो । प्रधानमन्त्री केपी शर्मा ओलीदेखि मन्त्रीहरु, गण्डकी प्रदेशका मुख्यमन्त्रीसम्मले राजा पृथ्वीनारायणलाई सम्झे । पृथ्वीनारायण शाहको योगदानले नै नेपाल निर्माण भएको स्वीकारे । पृथ्वीनारायण शाहको पक्ष र विपक्षमा बहस पनि छेडिए । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले त पृथ्वीजयन्तीमा शुभकामना सन्देश दिँदै उनकै योगदानको जगमा गणतन्त्र आएको बताउन भ्याए । पृथ्वीनारायण तानशाह भएको, किर्तिपुरमा ज्यादति गरेकाजस्ता विषयहरु पनि उठे । पोखरा महानगरले पृथ्वीको शालिक नै अनावरण ग¥यो । नेपाली सेनाले पनि यो दिनलाई विशेष महत्व दियो । राजतन्त्र उखेलिँदा समय त्यस्तो थिएन । राजतन्त्रविरुद्धको लडाईँ लड्ने क्रममा राजनीतिक दलहरुले पृथ्वीको योगदानलाई बिर्सेका थिए । तर, अहिलेको अवस्था हेर्दा नेपाल एकिकरणको श्रेय पृथ्वीनारायणलाई दिनुपर्ने मत बलियो बनेको छ । प्रधानमन्त्रीले नै शुभकामना दिएपछि यो दिनलाई राज्यले पनि स्वीकार गरेको बुझिन्छ । तर, राज्यले औपचारिक कार्यक्रमको आयोजना भने गरेन ।
१७७९ साल पुस २७ गते गण्डकी प्रदेशको गोर्खा जिल्लामा जन्मेका पृथ्वीनारायण शाहले नेपाल एकिकरणको महान अभियान चलाएका थिए । उनको त्यही अभियानले विभिन्न साना–साना टुक्रे राज्यहरु मिलेर विशाल नेपाल निर्माण भएको हो । साना राज्य नै भएको भए सायद अहिले नेपालको अस्तित्व रहँदैनथ्यो । यो कुनै अर्कै राज्यमा विलय भइसक्ने खतरा थियो । गोर्खामा जन्मेर उनले विशाल नेपालको सपना देखे । विशाल राज्यको राजा बन्न खोज्नु उनको महत्वकांक्षा थियो तर कालान्तरमा त्यही योगदानमा दर्ज हुनपुग्यो । राज्य बिस्तारको क्रममा हतियार उठ्यो नै । हतियार उठ्दा ज्यादति भएन भन्न सकिँदैन । तर, उनले जे गरे त्यसले नेपाल राज्य निर्माण भयो । निश्चय पनि पृथ्वीनारायण शाहले हतियारको बलमा मात्रै नेपाल एकिकरण गरेका हैनन र त्यो सम्भव पनि थिएन । उनले सानो हुँदा पर्ने असरबारे जनतालाई बु्झाउन सके । कतिपयप ठाउँमा उनले धर्मको आडमा पनि एकिकरणको अभियान चलाए । नेपालमा चलेको सशस्त्र युद्धको क्रममा देखिएको सत्य के भने, नेपाल बुझेको नेपाली सेनाले विद्रोहीलाई निमिट्यान्न पार्न सकेन । भौगोलिक अवस्थिति नै नबुझेको गोर्खाली सेनाले विशाल नेपाल निर्माण गर्दा सैन्य शक्ति मात्र प्रमुख थिएन भन्ने यो गतिलो प्रमाण हो । कालान्तरमा अंग्रेज वा तिब्बतसँग लड्दा पनि यसको अस्तित्व मेटिएन । यो मानेमा उनी राष्ट्रनायक नै हुन् । यसैगरि उनले लिएका नीतिहरुको सान्दर्भिकता अहिले पनि सकिएको छैन । यस मानेमा उनलाई दूरदर्शिताको प्रतिमूर्तिको रुपमा पनि अथ्र्याउन सकिन्छ ।
राजतन्त्रको विरोध गर्ने नाउँमा पृथ्वीनारायणको नाम नै सुन्न नचाहनेहरुले पनि अहिले उनको योगदानको प्रशंसा गर्न थालेका छन् । यसमा संसारभर चलेको राष्ट्रवादको नाराले पनि थोरबहुत काम गरेको छ । अहिले राष्ट्रियताको मुद्धा पेचिलो बनेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पदेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा नेपालकै प्रधानमन्त्री केपी ओलीको सत्तारोहण राष्ट्रवादी नाराकै कारण सम्भव भएको हो । सायद, यही कुरा बुझेर नै प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत पृथ्वीनारायणलाई सम्झेका हुन् । राष्ट्रवादी देखिनु र हुनु फरक कुरा हो । पृथ्वीनारायणले लिएका नीतिहरुले उनी राष्ट्रवादी नै थिए भन्ने प्रमाणित गर्छ । राज्यले नै उनको योगदान स्वीकारेको अवस्थामा अब यो दिनलाई विशेष महत्वका साथ मनाउन कन्जुस्याइँ गर्न हुँदैन । प्रगतिशील बन्ने नाममा इतिहासकै अवमूल्यन पनि गरिनु हुँदैन ।

