बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

योगलाई जीवन र पर्यटनसँग जोडौं

योगलाई जीवन र पर्यटनसँग जोडौं


  • Dhorpatan News
  • माघ २ २०७६, बिहिबार

पाँचौ राष्ट्रिय योग दिवसअन्तर्गत देशभर योग सम्बन्धि विविध कार्यक्रमहरु आयोजना भएका छन् । पछिल्लो समय आम मानिसमा योगप्रतिको झुकाव बढेको छ । सरकारले माघ १ गते मकरसंक्रान्तीलाई राष्ट्रिय योग दिवसको रुपमा मनाउने निर्णय गरेको छ । उता, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा संयुक्त राष्ट्रसंघले जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवस मानेको छ । स्वास्थ्यमा प्रतिकूल असर देखिन थालेपछि आम मानिसहरु योगप्रति आकर्षित भएका हुन् । केही मानिसहरु योगलाई अहिले पनि शारीरिक व्यायामकै रुपमा व्याख्या गर्छन् । तर, पूर्वीय दर्शनले योगलाई व्यायाममा मात्र सीमित गर्दैन । योगको साधारण अर्थ जोडिनु हुन्छ । पूर्वीय दर्शनले शरीर, मन र आत्मालाई एकैठाउँमा जोड्नुलाई योग मानिन्छ । योगसूत्र भन्छ, ‘योगश्चित्तवृत्तिनिरोधः । अर्थात्, चित्त र वृत्तिको निरोध । योगको माध्यमबाट आफ्नो शरीर, मन र आत्मालाई नियन्त्रणमा राख्न सकिन्छ । पूर्वीय ऋषिमुनीहरुले योगलाई भक्तिसँग पनि जोडे । वेद तथा गीतामा योगबारे पटक–पटक कुरा उठाइएको छ । भगवान शिवबाट नै योगको सुरुवात भएको मानिन्छ भने श्रीमद्भागवत्मा कृष्णले कर्मयोग, कर्मयोग र भक्तियोगबारे बताएका छन् । योगीहरुले एकपछि अर्को पुस्तामा योगको सिद्धान्त र प्रयोग हस्तान्तरण गर्दै गए । पतञ्जली १९५ वटा योगसुत्र समाहित गरिदिए । अहिले भारतीय योगगुरु रामदेवसहितका योगीहरुले यही पुस्तकको सहाराले योगको प्रचार र प्रयोग गर्दै आएका हुन् ।
योगले मानसिक शान्ति, अनुहारमा कान्ती र शरीरमा उर्जा बढाउँछ । यसले रोग प्रतिरोधात्मक शक्ति बढाउने कुरा प्रमाणित भइसकेको छ । त्यसैले योग अहिले हिन्दुहरुको मात्रै नभएर सम्पूर्ण विश्वको आवश्यकता बनेको छ । व्यस्त दिनचर्या, तनावपूर्ण जीवनमा मानसिक र शारीरिक शक्ति बढाउन एवं स्वस्थ रहन योगले योगदान दिएको छ । आधुनिक चिकित्सामा रोग लागेपछि उपचार खोजिन्छ । तर, योगले रोग नै नलाग्ने अवस्थाको सृजना गराउँछ । आफूले आफूमाथिको नियन्त्रण गर्न सक्ने बनाउँछ । व्यक्तिले आफ्ना चाहनाहरुलाई नियन्त्रण गर्न सक्यो भने खानपानमा आफै सुधार आउँछ । आफ्नो शरीरको महत्ववोध गराउने माध्यम पनि योग नै बन्छ । योगमार्फत मनमा सकरात्मक भावना तरंगित हुँदा प्राप्त हुने सुख र खुसीले जीवनमा सफलता हात लगाउँछ । पछिल्लो समय योगलाई स्वास्थ्यसँग बढी जोडिएको छ । स्वास्थ्यकै कारण मानिसहरु योगप्रति आकर्षित भएका छन् । यो सकारात्मक पक्ष हो । अब योगलाई जीवनको अंग बनाउनुपर्छ । योगलाई पाठ्यक्रममा समावेश गर्दै योग पढ्ने विद्यालय र विश्वविद्यालयकै स्थापना गर्र्नुपर्छ । योगको उत्पती यही धर्तीमा भएकोले नेपाललाई विश्वभरका योग गर्नेहरुको थलो बनाउनेतर्फ पनि बेलैमा सोचिनुपर्छ । हाम्रा हिमाली क्षेत्रहरु योग साधनाको थलो बन्न लायक छन् । निजी क्षेत्रबाट यसतर्फ केही प्रयास भएको पनि छ । वर्षको एकपटक योगदिवस मनाउनुभन्दा अब योजनासहित योगलाई जीवन र पर्यटनसँग जोड्ने कोशिश गरिनुपर्छ । नेपाललाई योगको केन्द्र बनाउन सकियो भने यसले पर्यटन र अर्थतन्त्रमा ठूलो योगदान दिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->