मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

पृथ्वी र सूर्यभन्दा पुरानो धूलोका कण फेला

पृथ्वी र सूर्यभन्दा पुरानो धूलोका कण फेला


  • Dhorpatan News
  • माघ २ २०७६, बिहिबार

वैज्ञानिकहरू सधैं हामीलाई नयाँ–नयाँ खोजबाट छक्क पार्छन्।कहिलेकाहीँ भने यस्तो समय आउँछ, जब उनीहरू आफ्नै खोजबाट अचम्भित हुन्छन्।
अमेरिकाको सिकागो विश्वविद्यालयका सहायक प्राध्यापक फिलिप हेकलाई त्यस्तै भयो, जब उनको अनुसन्धानले पृथ्वीमा यस्तो धूलोको कण पत्ता लगायो, जुन हाम्रो सौर्य मण्डलभन्दा पुरानो हो।
अर्थात्, त्यो धूलोको कण जति बेला बन्यो, त्यति बेला सौर्य मण्डल र त्यसैभित्रको एउटा ग्रह हाम्रो पृथ्वी नै अस्तित्वमा थिएन।अब तपाईंहरूलाई लाग्ला पृथ्वीभन्दा पुरानो त्यो कण आखिर यहाँ कसरी आयो? कहिले आयो? कहाँबाट आयो?आजभन्दा ५० वर्षअघि सन् १९६९ मा पृथ्वीमा एउटा उल्कापिण्ड खसेको थियो। उल्कापिण्ड भनेको ब्रह्माण्डमा चलायमान भइरहने ढुंगा हो। आफ्नै गतिमा घुमिरहने उल्कापिण्ड कहिलेकाहीँ अचानक सौर्यमण्डलभित्र छिर्छ। यसरी छिर्दा कहिले पृथ्वी त कहिले अन्य ग्रहसँग ठोक्किन्छ पनि।
उल्कापिण्डको ठक्करले पृथ्वीमा ठूल्ठूला विनाशलीला मच्चाएका प्रमाण फेला परेका छन्। छ करोड ६० लाख वर्षअघि आकाशबाट खसेको विशाल उल्कापिण्डको प्रभावले त्यति बेला पृथ्वीमा राज गर्ने भीमकाय जन्तु डायनासोरसहित अन्य स्तनधारी र घस्रने जीवजन्तु लोप भएका थिए।
पचास वर्षअघि अस्ट्रेलियामा खसेको उल्कापिण्डले त्यस्तो कुनै विनाशलीला त मच्चाएन, तर त्यसले ब्रह्माण्डको एउटा अवशेषलाई पृथ्वीको सतहमा ल्याएर छाडिदियो।

नेसनल एकेडेमी अफ साइन्सेसको जर्नलमा प्रकाशित लेखअनुसार उक्त उल्कापिण्डमा साढे सात अर्ब वर्ष पुरानो धूलोका कण पाइएका छन्।
यसलाई सूर्य र पृथ्वीको आयुसँग तुलना गर्ने हो भने तपाईंहरू छक्क पर्नुहुन्छ। सूर्य ४ अर्ब ६० करोड वर्ष पुरानो हो भने पृथ्वीको आयु साढे चार अर्ब वर्षको छ। अर्थात्, अस्ट्रेलियामा खसेको उल्कापिण्डमा फेला परेका धूलोका कण सूर्य र पृथ्वीभन्दा पुराना हुन्।
अनुसन्धानमा संलग्न अमेरिकी तथा स्विट्जरल्यान्डका वैज्ञानिकले अहिलेसम्म ४० वटा कण पत्ता लगाएका छन्। तीमध्ये १० प्रतिशत साढे पाँच अर्ब वर्षभन्दा पुराना छन् भने ६० प्रतिशत कण चार अर्ब ६० करोडदेखि चार अर्ब ९० करोड वर्ष पुराना छन्। यसबाहेक सबभन्दा पुरानो कण साढे सात अर्ब वर्षको र अन्य यही बीचका छन्।

‘जब ताराको आयु सकिन्छ, त्यसका कण एकअर्काबाट छुट्टिएर ब्रह्माण्डमा छरिन्छन्। तिनै कण कुनै नयाँ तारा, ग्रह, चन्द्रमा वा उल्कापिण्डमा मिसिन जान्छन्,’ अनुसन्धान टोलीका प्रमुख फिलिपका भनाइ उद्धृत गर्दै बिबिसीले लेखेको छ, ‘अस्ट्रेलियामा सन् १९६९ मा खसेको उल्कापिण्डमा हामीले जुन कण भेट्यौं, ती आजभन्दा साढे सात अर्ब वर्षअघि ताराबाट छुट्टिएका हुन्।’
‘यो मेरो जिन्दगीको अहिलेसम्मकै सबभन्दा अचम्मलाग्दो खोज हो, जसले यो ब्रह्माण्डमा ताराहरूको उत्पत्ति कथा भन्नेछ,’ फिलिपले उत्साहित हुँदै भने।
यो अनुसन्धान क्रममा वैज्ञानिकहरूले उल्कापिण्डका टुक्रालाई पिसेर धूलोपिठो पारे। सबै टुक्रा पिसिसक्दा त्यसको स्वरूप घाउमा लगाउने लेपजस्तै भएको थियो। बदामको बटर कुहिँदा जस्तो गन्हाउँछ, त्यो लेपबाट त्यस्तै गन्ध आइरहेको थियो।
त्यसपछि त्यो लेपलाई तेजाबमा घोलियो। अरू सबै पग्लिए, ताराका कण मात्र बाँकी रहे।’यो सबै प्रक्रिया परालभित्र सुई खोज्नुजत्तिकै कठिन थियो,’ फिलिपले भने।
उनका अनुसार, उल्कापिण्डका कणको उमेर पत्ता लगाउन त्यसमा कति समय ब्रह्माण्डका किरण परेका छन् भनी मापन गरिन्छ। ब्रह्माण्डका किरण अत्यन्त ऊर्जावान् र शक्तिशाली हुन्छन्, जुन कुनै पनि ठोस वस्तुको भित्रैसम्म पुगेको हुन्छ। कुनै पनि ठोस कण जति बढी ब्रह्माण्डमा रहन्छ, त्यसमा किरणको प्रभाव उति बढी हुन्छ।
फिलिपले यसलाई झमझम पानी पर्दा कौसीमा बाल्टिन थापेको दृश्यसँग तुलना गरे।
‘आकाशबाट उही गतिमा पानी परिरहेको छ भने बाल्टिन जति धेरै बेर कौसीमा राख्यो, त्यसमा उति बढी पानी भरिन्छ,’ उनले भने, ‘यस्ता कण पनि जति धेरै समय ब्रह्माण्डमा घुम्छ, ब्रह्माण्डको किरणले त्यसमा उति धेरै प्रभाव पारेको हुन्छ।’
यही प्रभावका आधारमा ब्रह्माण्डका ठोस वस्तुको उमेर पत्ता लगाइने उनले बताए। यसअघि पत्ता लागेको यस्तै तारा–कण करिब साढे पाँच अर्ब वर्ष पुरानो थियो।
पछिल्लो खोजलाई वैज्ञानिकहरूले ताराहरू बन्ने क्रमको अनुसन्धानमा महत्वपूर्ण मानेका छन्।

(बिबिसी, कसमस म्यागेजिन र विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा तयार पारिएको)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->