बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बदलिएको समाज र आत्महत्या

बदलिएको समाज र आत्महत्या


  • Dhorpatan News
  • माघ ५ २०७६, आइतबार

भारतमा वर्षेनी सयौँ किसानहरुले ऋण तिर्न नसकेर आत्महत्या रोज्छन् । व्यवहार बिग्रिएर ऋणमा लागेकाहरुले नेपालमाप पनि आत्महत्या रोज्न थालेका छन् । एक शिक्षित युवाले शुक्रबार आफ्ना नाबालक दुई छोरा तथा पत्नीसँगै आत्महत्याको प्रयास गरे । पत्नीको त्रिशुलीमा डुबेर मृत्यु भयो । दुई छोराहरु बेपत्ता छन् । प्राध्यापन पेशा गर्ने विनय लामिछानेको भने उद्धार गरियो । उनी अहिले प्रहरी हिरासतमा छन् ।ऋण लागेकाले सामूहिक मृत्युको बाटो रोजेको सुसाइड नोट लेखेर नदीमा हाम्फाले पनि उनी बाँचे । बाँच्नु एउटा कुरा भयो तर उनले परिवार गुमाए । विक्षिप्त अवस्थामा रहेका उनले श्रीमतीसँग सल्लाह गरेरै सामूहिक आत्महत्याको बाटो रोजेको बताएका छान् । कमजोर मानशिकताले आत्महत्याको बाटो डोहो¥याउँछ । ती युवाले पनि ऋण लागेपछि त्यसबाट मुक्ति पाउन जीवन नै त्याग्ने निर्णय गरे । यो उनको कमजोरी थियो । समस्यासँग जुध्नुको सट्टा मृत्यु रोज्नुलाई कुनै कोणबाट पनि राम्रो मान्न सकिँदैन । मर्नुभन्दा बहुलाउनु निको भन्ने उखान उनले चटक्कै बिर्सिए । आत्महत्या गैरकानूनी हो । त्यसैले उनी हिरासतमा छन् । उनीमाथि कानूनी रुपले कारवाही त होला तर यो प्रकरणले नेपाली समाजको विद्रुप चित्र पनि बाहिर आएको छ । ऋणको पाँसो कसरी कसिन्छ भन्ने कुरा सतहमा आएको छ ।
घरखर्च चलाउन र व्यवसाय गर्न ऋण लिने नेपालीको संख्या सानो छैन । चर्को ब्याजमा ऋण लिएर आफ्नो गर्जो टार्न खोज्नेहरु त्यही ऋणकै कारण घरखेत गुमाउन बाँध्य छन् । नेपालमा बैंक तथा वित्तीय संस्थाबाट ऋण पाउन सजिलो छैन । च्याउजस्तै उम्रेका सहकारी र लघुवित्त कम्पनीहरुको ब्याजदर महंगो छ । समयमा ब्याज वा किस्ता बुझाउन सकिएन भने ब्याजको स्याज थप्ने र घरखेत नै हडप्ने धन्दा नै चलेको छ । यो गम्भीर विषयतर्फ कसैको ध्यान गएको छैन । अब राज्यले यस्ता विषयहरुप्रति पनि ध्यान दिनुपर्छ । समाजमा फैलँदै गएको आर्थिक विचलनलाई रोक्न सकिएन भने आत्महत्या मात्रै हैन अन्य अपराध पनि बढ्छन् । आत्महत्या गर्न खोज्नेलाई कर्मकाण्डी कारवाही गरेर यस्ता प्रवृत्ति रोकिँदैन । बदलिँदो समाजको शुष्म अध्ययन थालेर अहिले यहाँ देखिएका आर्थिक विचलनहरु रोक्नेतर्फ ध्यान दिनुपर्छ ।
अर्कोतर्फ काममा सधैँ सफलता हात लाग्दैन । कहिलेकाहिँ असफलतासँग जुध्ने हिम्मत पनि राख्नुपर्छ । कुनै काम गर्दा योजनासहित अघि आउनुपर्छ । ठूलो महत्वकांक्षा राख्ने र छिट्टै निरास हुने स्वभाव त्याग्नुपर्छ । हाम्रो राज्यसंयन्त्र नागरिकका मानशिक स्वास्थ्यका विषयमा मौनप्रायः नै छ । हाम्रा पाठ्यक्रममा पनि ती विषयहरु खासै समावेश छैनन् । समाज बदलिएको छ । मान्छेका आकांक्षाहरु बदलिएका छन् । समाज बदलिँदा मानिसका व्यवहार पनि बदलिएकोतर्फ हाम्रो ध्यान जान सकेको छैन । बदलिएको सामाजिक संस्कृतिबारे ध्यान दिँदै त्यसको व्यवस्थापन गर्नेतर्फ अब सरकारले सोच्नैपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->