गण्डकी प्रदेश सरकारले आफ्नो २ वर्षे कार्यकाल पूरा गरेको छ । बितेका वर्षमा गण्डकी सरकारले ३२ वटा ऐन बनाएको छ । ऐन बमोजिमका ६ वटा नियमावली र २ वटा गठन आदेश पनि बनेका छन् । प्रदेश सरकारले आफ्ना २ वर्षका उपलब्धिहरुलाई ३० बुँदामा समेटेको छ । ल्याइएका २ वटा बजेट र केही विकासे अनि केही प्रचारात्मक अभियानलाई पनि सरकारले सफलता मानेको छ । जनतासँग प्रत्यक्ष कुराकानी गरिने हेल्लो मुख्यमन्त्रीदेखि वाररुमको स्थापनालाई पनि उपलब्धि मानिँदा त्यो अलि बढी नै भयो कि भन्ने पनि देखिएको छ । किनकि, जनतासँग मुख्यमन्त्रीले कुराकानी गर्नु उनको दायित्व नै हो भने वाररुमको स्थापनामार्फत योजनाहरुको निरीक्षण र जानकारी लिनु सुशासन कायम गर्ने सामान्य कर्तव्यबाहेक केही होइन । एकहिसाबले यो प्रचारात्मक अभियानकै पाटो हो । राम्रो काम गर्ने हो भने, जनताको मन जित्ने हो भने यस्ता प्रचारात्मक अभियानको कुनै अर्थ रहँदैन । राम्रा काम आफै प्रशंसा हुन्छ । अर्कोतर्फ गण्डकी प्रदेश सरकारको बजेट खर्च क्षमता अत्यन्तै कम देखिएको छ । गतवर्ष करिब ६७ प्रतिशत विकास बजेट खर्च गरेको जिकिर गर्ने प्रदेश सरकारले चालु आर्थिक वर्षको दोस्रो चौमासिक सकिँदासम्म १५ प्रतिशत विकास बजेट पनि खर्च गर्न सकेको छैन । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ स्वयंले नीतिगत कमीकमजोरीले गर्दा समयमै योजना सुरु गर्न नसकिएको बताएका छन् । झन्झटिलो टेण्डर प्रक्रियाका कारण समयमै योजना सुरु हुन नसकेको सही होला तर त्यसलाई दोष देखाएर उम्कने ठाउँ छैन । शक्तिशाली प्रदेश सरकारले विकासको गति बढाउन आफ्ना सबै संयन्त्र र बल प्रयोग गर्नसक्छ ।
यसो भनिरहँदा बितेका दुईवर्षमा केही पनि भएन भन्नु अन्याय हुन्छ । मुख्यमन्त्रीले भनेजस्तै बितेका दुईवर्षमा प्रदेश सरकारले आफ्नो औचित्य पुष्टी गरेको छ । प्रदेश सरकार संघीयताको अपरिहार्यता हो भन्ने बुझाउन सकेको छ र नजिकको सरकार स्थानीय सरकारको साथी पनि हो भन्ने प्रमाणित गरेको छ । कम्तिमा प्रदेशका आवश्यकताहरु पहिचान गरिएको छ । नीतिगत रुपले रोकेका विषयहरुमा केन्द्रलाई झक्झक्याउन सकेको छ । यो प्रदेश सरकारको ठूलो उपलब्धि हो । अब कर्मचारी भएनन्, यो मिलेन, त्यो मिलेन भन्ने छुट सरकारलाई छैन । आउँदा दिनहरुमा सरकारले आफ्नो गियर बढाउनुपर्छ । रफ्तार समात्नुपर्छ र जनताका आंकाक्षाहरु पूरा गर्नेतर्फ लाग्नुपर्छ । आफ्नो जिम्मामा आएको फेवातालको संरक्षण, आफैले घोषणा गरिएका औद्योगिकग्राम, गण्डकी टेक्निकल कलेज, गण्डकी विश्वविद्यालयजस्ता कामहरु अब अगाडि बढ्नैपर्छ । मुख्यकुरा त, सरकारले आफ्नो क्षमताको भरपुर उपयोग गर्नुपर्छ । सरकारसँग प्रसस्त अवसर छ । गण्डकी प्रदेशमा संभावना पनि अथाह छन् । यी सम्भावनाहरुसँग खेल्दै समृद्धि हाँसिल गर्ने दिशामा गण्डकी प्रदेश सरकार अघि बढोस् । सुशासन कायम होस् अनि जनताको मुहारमा खुसी छाओस् । सरकारलाई हार्दिक शुभकामना ।

