शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

दक्षिण कोरियामा एकै दिनमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दोब्बर

दक्षिण कोरियामा एकै दिनमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दोब्बर


  • एजेन्सी
  • फाल्गुन ११ २०७६, आइतबार

सिओल,११ फागुन – दक्षिण कोरियामा एकै दिनमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका मानिसको सङ्ख्या दुईगुना भएको अधिकारीहरूले बताएका छन्।
शुक्रवारसम्म २०४ व्यक्तिमा कोभिड–१९ भनिने उक्त भाइरसको सङ्क्रमण पुष्टि गरेको दक्षिण कोरियामा थप २२९ जनामा भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ। योसँगै कुल ४३३ जनामा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको छ।
स्वास्थ्य उपमन्त्री किम गाङ–लिपले कोरोनाभाइरस प्रकोप ‘गम्भीर अवस्थामा’ प्रवेश गरेको टिप्पणी गरे। अधिकांश नयाँ बिरामीहरूको सम्बन्ध एउटा अस्पताल र पूर्वोत्तर सहर डाएगुसँग भएको अधिकारीहरूले बताएका छन्।
अहिलेसम्म दक्षिण कोरियामा दुई जनाको उक्त रोगका कारण मृत्यु भइसकेको छ। त्यहाँ मृतकको सङ्ख्या बढ्न सक्ने त्रास फैलिएको छ। डाएगु र नजिकै अवस्थित चेओङ्डोलाई ‘विशेष निगरानी क्षेत्र’ घोषणा गरिएको छ।
यसैबीच चीनसँग स्पष्ट सम्बन्ध नभएका स्थानमा पनि कोरोनाभाइरस सङ्क्रमणका घटनाले अवस्थालाई थप चिन्तित तुल्याएको विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले बताएका छन्। उनले कोरोनाभाइरस नियन्त्रण गर्ने अवसर ‘साँघुरिँदै गएको’ चेतावनी दिए।
चीनमा अहिलेसम्म ७६ हजार २८८ जनामा सङ्क्रमण पुष्टि भएको र दुई हजार ३४५ जनाको मृत्यु भएको पुष्टि भएको छ।
विश्व स्वास्थ्य संगठनका अनुसार चीनबाहिर २६ देशमा एक हजार २०० जनाभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको र शनिबारसम्म आठ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->