अक्सर भनिन्छ,‘यो सूचना प्रविधिको युग हो ।’ सत्य त के हो भने हरेक युग सूचना प्रविधिकै युग थियो,हो र रहन्छ । अहिले सूचना प्रविधिको स्वरुप बदलिएको हो,यसको महत्वमा ह्रास आएको हैन । हिजो पनि जो सूचना र प्रविधिले बलियो थियो,संसार उसकै हातमा थियो । उदाहरणको लागि,हिन्दूहरुको सबैभन्दा रहश्यले भरिएको ‘महाभारत’का प्रमुख पात्र हुन्,कृष्ण । लीला गर्न माहिर कृष्ण जन्मजात भगवान थिए कि थिएनन् भन्नेतिर नजाँदा पनि सामान्य के भन्न सकिन्छ भने उनी सूचनाको केन्द्र थिए । महाभारतका हरेक पात्रहरुको गुह्यकुरा उनलाई थाहा थियो । मै हुँ भन्ने धनुर्धरदेखि बहादुर अनि कुटनीतिज्ञहरुको शक्ति र कमजोरी उनले बुझेका थिए । चिरञ्जीवी पुत्र भएका द्रोणाचार्यलाई कसरी तह लगाउने,बहादुर दुर्योधनलाई कसरी वशमा लिनेदेखि कुन्तीको कुमारी कालखण्डको छोरा कर्ण भएको उनलाई मात्रै थाहा थियो । यी र यस्तै गुह्य सूचनाका कारण उनी महाभारतको केन्द्रमा रहे । मानव सभ्यताको इतिहासमा उल्लेखित युद्धहरुमा विशिष्ठ स्थान ओगट्ने महाभारत युद्धलाई उनले आफू अनुकूल बनाए । आधुनिक इतिहास हेर्दा पनि जोसँग सूचना र प्रविधि छ, ऊ नै महान बनेको इतिहास रहेको बिर्सन सकिँदैन । बेलायतले संसारभर कब्जा जमाउँदा उसको प्रमुख अस्त्र सूचना र प्रविधि नै थियो । सूचना र प्रविधिकै कारण अहिले अमेरिका विश्वशक्तिको रुपमा स्थापित भएको हो । हाम्रै छिमेकीहरु भारत र चीन पनि सूचना प्रविधिको विकासबाटै शक्तिराष्ट्र बनेका हुन् । अतः सूचनाको शक्ति कहिल्यै कम थिएन र हरेक युग सूचना तथा प्रविधिको युग थियो ।
सूचना र प्रविधि हिजोको जस्तो आज पक्कै छैन । यो हरेक क्षण बदलिरहेको छ । ढुंगेयुगको सूचना प्रविधि अहिले काम लाग्दैन । अहिलेको युग भनेको डिजिटल प्रविधि र सूचनाको युग हो । मान्छे नै पुगेर सूचना दिने वा टेलिफोन गर्ने जमाना अब रहेन । मान्छेको हातमा कुरा गर्न मिल्ने मोवाइल मात्रै छैन, सिंगो संसारका गतिविधि नियाल्न मिल्ने सुविधा छ । यो सुविधा नेपालीले पनि उपयोग गर्दै आइरहेकोले नौलो लाग्दैन । अहिले मान्छेले मोवाइलबाटै संसार चियाउन सक्छ, जनमत बनाउन सक्छ, भएका कुरा भत्काउन सक्छ । पछिल्लो समय चल्तीमा रहेका सामाजिक सञ्जालले मान्छेको दृष्टिकोणमा परिवर्तन ल्याउने काम पनि गरेको छ । सूचना प्रविधि अहिले दैनन्दिन जीवनको महत्वपूर्ण र अपरिहार्य साधन बनेको छ । यसको उपयोगबिना मान्छे नै अपूर्ण हुने अवस्था आएको छ । सूचना प्रविधिको उपयोग नगर्ने मान्छे अब आफै पछि पर्ने अवस्था आएको छ । नागरिकको जीवनसँग सूचना प्रविधि जोड्ने देशहरुले नै अहिले विकासको लय समातेका छन् ।
जुन देशले सूचना प्रविधिलाई जनजनसम्म पु¥याउन सकेनन् , ती देश पछि परे । नेपाल पनि यसको उदाहरण हो । मान्छेको जीवनसँग सूचना प्रविधिलाई जोड्न सकिएन भने त्यसले उत्पादकत्वमा असर गर्छ । उत्पादकत्व कम हुनु भनेको विकासमा पछि पर्नु हो । अतः सरकारले सूचना प्रविधिलाई नागरिकको जीवनसँग जोड्ने र उपयोग गर्ने वातावरणको निर्माण गर्नुपर्छ । यसको लागि सूचना प्रविधिलाई सस्तो बनाउने प्रयत्न पनि थालिनुपर्छ । यसो गर्न सकेमात्र सूचना प्रविधिको महत्व बढ्छ र देशकै काँचुली फेरिन्छ ।

