बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कांग्रेस,कलह र प्रतिपक्ष

कांग्रेस,कलह र प्रतिपक्ष


  • Dhorpatan News
  • फाल्गुन १९ २०७६, सोमबार

नेपाली कांग्रेसभित्रको विवाद पुनः सतहमा आएको छ । त्यसो त,नेपाली कांग्रेस पछिल्लो समयमा विवादमै रुमल्लिँदै आएको छ । पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो नियमित कार्यकाल सकिन ३ दिन बाँकी हुँदा १३ वटा विभिन्न समितिहरु गठन गरिदिए । उनले आफू निकट ३ जनालाई आमन्त्रित केन्द्रीय सदस्य बनाइदिए । २०७२ साल फागुन २० गते सम्पन्न १३ औँ महाधिवेशनबाट सभापति चुनिएका देउवाले यी विभागहरु दुई महिनाभित्र गठन गरिसक्नुपर्ने थियो । तर, त्यसो हुन सकेन । उनले आफू ४ वर्षको लागि अनुमोदित भएको कुरा पनि बिर्सिए र यसअघिका सभापतिले जस्तै आफ्नो कार्यसमितिको म्याद १ वर्ष लम्ब्याए । २०७७ फागुन १९ गतेसम्म अहिलेकै कार्यसमितिको म्याद कायम भइसकेको छ । यो निर्णयमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले असहमति जनाएको थियो । तर,पछि नेवि संघको नेतृत्वलगायतका विषयमा भागबण्डा मिलेपछि पौडेल समूहले २०७७ साल फागुन ७ देखि १० गतेसम्म हुने भनिएको महाधिवेशनको मिति दशैँ वरपर सार्नेगरि सहमति जनायो । आफूलाई ताकपर्दा विधान मिच्न उक्साउने पौडेल समूहले अहिले देउवाबाट भएको निर्णयको विरोध गरेको छ । विधान मिच्न उक्साउने आफ्नो प्रवृत्ति भने सो समूहले बिर्सेको छ । आफूलाई सबैभन्दा लोकतान्त्रिक भन्ने नेपाली कांग्रेसमा देखिएको यो विवादले नेपालका राजनीतिक दलहरु भित्र कस्तो प्रजातन्त्र छ भन्ने छर्लङ्ग भएको छ ।
नेपाली कांग्रेस विरासत बोकेको पार्टी हो । राणा शासनविरुद्ध सशस्त्र संघर्ष गरेको नेपाली कांग्रेस नेपालको परिपेक्ष्यमा परिवर्तनको संवाहक पनि हो । उसकै नेतृत्वमा देशमा विभिन्न परिवर्तन सम्भव भए । नेपालको संघीय गणतन्त्रसम्मको यात्राको सारथी भएकोले मात्रै हैन,लोकतन्त्रको हिमायती भएकाले पनि यो पार्टी पटक–पटक जनअनुमोदित भयो । जनताले कांग्रेसलाई पत्याए । त्याग,समर्पण र निष्ठाको राजनीति गर्ने नेताहरुले यो पार्टीलाई जिवन्त बनाए । तर, कांग्रेस बिस्तारै खुम्चँदै गयो । मुख्य कुरा त,यसले आफ्नो समाजवादी आदर्श बिर्सियो । सत्तामा पुगेपछि उसले जनतासँगको सम्बन्ध तोड्यो ।नेताहरु सुविधाभोगीमा रुपान्तरण भए ।भ्रष्टाचारको मामलामा पनि कांग्रेसले रेकर्ड नै कायम ग¥यो । विपी कोइरालाको आदर्श भुलेर आन्तरिक कचिगँलोमा रमाएपछि अघिल्लो चुनावमा जनताले कांग्रेसलाई प्रतिपक्षको भूमिका दिए । कांग्रेसले तै चेतेन । जनताले सडकमा पु¥याएको महशुस यसका नेताहरुले कहिल्यै गरेनन् । आफू–आफूकै दन्तबझानमा लागिरहे । प्रमुख प्रतिपक्षको भूमिकामा पनि कांग्रेस इतिहासकै सबैभन्दा कमजोर ठहरियो । वर्तमान सरकार एकपछिअर्को काण्डमा मुछिँदा पनि कांग्रेसले सदनमा आवाज उठाउन सकेन । सडकमा आएर सरकारका कमजोरीबारे जनतालाई बुझाउन सकेन । अहिले कांग्रेस ‘किन टाक्सिस् मरिच,आफ्नै गन्ध’ले भनेजस्तो भएको छ । यसले आफ्नो आदर्श,लय त गुमाएकै छ, नीतिले निर्देशित हुन पनि छाडेको छ । नेवि संघको भागबण्डा र पछिल्लो समय देउवाले चालेको कदम यसकै परिणति हुन् ।
देउवाले आफ्नो ‘नैतिक कार्यकाल’ टुंगिन बाँकी रहँदा गरेका नियुक्तीहरुलाई कुनै कोणबाट पनि राम्रो मान्न सकिँदैन । पार्टीलाई एकढिक्का बनाएर अघि बढ्नुपर्ने बेला उनले लिएको यो उल्टो बाटोले कांग्रेसको बचेखुचेको नैतिकता पनि गुमेको छ । नैतिकता गुमेसँगै यसले आफ्ना कार्यकर्ताको मन पनि भाँचिदिएको छ । प्रम्ुख प्रतिपक्षको रुपमा सशक्त भूमिका ननिभाउँदा लोकतन्त्र संसदीय व्यवस्थालाई पनि कांग्रेसले कमजोर बनाएको छ । आफ्नो भूलका कारण कांग्रेसले सक्किने बाटो लिँदा यसले देशको समग्र राजनीतिक प्रणालीलाई प्रभावित गरेको छ । कांग्रेस नसच्चिए सकिन्छ । जनताले विकल्प रोज्छन् । तर, कांग्रेसले प्रजातान्त्रिक मूल्य र मान्यतामाथि नै धावा बोेल्दा यसले देशलाई दूरगामी प्रभाव पार्ने सम्भावना बढेर गएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->