पोखरा, १९ फागुन – पोखरा महागनरपालिका वडा नम्वर १२ मा मेलमिलाप केन्द्र स्थापना भएको छ । पोखरा महानगरपालिका न्यायिक समितिले वडा तहका विवाद वडामै समाधान गर्ने उद्देश्यले केन्द्र स्थापना गरेको हो । केन्द्रको पोखरा महानगरपालिका उपप्रमुख एवं न्यायिक समितिका संयोजक मञ्जुदेवी गुरुङले उद्घाटन गरिन् ।
केन्द्र उद्घाटनपछि बोल्दै उपप्रमुख गुरुङले मेलमिलाप मार्फत विवाद समाधान गर्दा पक्ष विपक्ष दुवैको जीत हुने र समाजमा सद्भाव कायम हुने बताइन् । उनले विवाद आफन्त, छिमेकीसंग हुने भएकाले मुद्धा मामिलाबाट भन्दा मेलमिलाप मार्फत समाधान गर्दा सामाजिक रुपमा सद्भाव कायम हुने बताउदै समाजमा शान्ति स्थापनासंगै विकासका कामममा समेत सहज हुने बताइन् । उनले समाजमा रहेका विवाद समाधान गर्न सवैसंग सहकार्य आवश्यक रहेको बताइन् ।
मेलमिलापकर्ताले आग्रह पूर्वाग्रह नराखी काम गर्नुपर्नेमा जोड दिदै भनिन्, राजनीतिक आस्था भन्दा माथि उठेर् विवाद समाधानको उपाय खोज्नुपर्नेमा जोड दिइन् । उनले विवादको जड पत्ता नलागेसम्म विवाद समाधान गर्न नसकिने बताउदै मेलमिलापकर्ताले विवादका दुवैपक्षलाई गल्तीको महसुस गराउनसके मात्रै मेलमिलाप हुने बताइन् ।उनले मुद्धाका माध्यमबाट विवादको निर्णय गर्दा प्रतिशोधको भावना रहने र त्यसले समाजमा नकरात्मक प्रभाव पार्ने भएकाले स्थानीय तहमा न्यायिक समिति मार्फत मेलमिलापलाई जोड दिएको बताइन् ।
कार्यक्रममा न्यायिक समिति सदस्य किशोर बरालले न्यायिक समितिको कार्यक्षेत्र, मेलमिलापकर्ताको भुमिका, आचरण र योग्यताका बारेमा स्पष्ट पारेका थिए । मेलमिलापकर्ता ऋषिराम लामिछानेले मुद्धा मामिलाले जितहार गराउने भएकाले फुटाउने भएकाले मेलमिलापले जुटाउने बताए । उनले नयाँ राज्य संरचनासंगै सिहदबारको अधिकार वडावडामा भन्ने कुरालाई न्यायिक समितिले मेलमिलाप केन्द्र स्थापना गरेर त्यसको अभ्यास गरेको बताए । वडा तहमा हुने विवाद समाधानमा कुनै आग्रह पूर्वाग्रह नराखी काम गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
पोखरा १२ का कार्यबाहक अध्यक्ष सीतादेवी बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा न्यायिक समिति सदस्य पार्वती कार्की, नेकपा वडा नम्वर १२ का अध्यक्ष गुप्तबादुर कार्की, नेपाली काँग्रेसका प्रतिनिधि मायादेवी तझयाँ लगायतले मेलमिलापक केन्द्र स्थापनाले वडाका विवाद समाधानमा सहज हुने विश्वास ब्यक्त गरे । कार्यक्रमको सञ्चालन महानगरका कानून अधिकृत राममणी अधिकारीेले गरेका थिए ।





