नोवेल कोरोना( कोरोना–१९) नामक भाइरसले संसार हल्लाएको छ । अहिलेसम्म कोरोना भाइरसकै कारण विश्वभर मृत्यु हुनेको संख्या ३ हजारभन्दा बढी पुगेको छ । चीनबाट फैलिएको कोरोना अहिले संसारका अन्य देशमा पनि पुगेको छ । भारतमा पनि दुईजना कोरोना संक्रमित भेटिएको संचारमाध्यमहरुले जनाएका छन् । नेपालको हकमा भने चीनको बुहानबाट ल्याइएका नेपालीहरुमा यसको संक्रमण भेटिएन । संक्रमण नभेटिएपछि नेपालका पर्यटनमन्त्रीले हतारमा नेपालाई ‘कोरोना फ्रि’ घोषणा नै गरिदिए । लगत्तै विश्व स्वास्थ्य संगठनले सचेत रहन सबै देशहरुलाई आग्रह ग¥यो । नेपाललाई त उच्च खतरा भएको मुलूक नै घोषणा ग¥यो ।
बोलीले कोरोना रोक्न सकिँदैन । नेपालमा पनि यसको लक्षण देखिने हो कि भन्ने सन्त्रास बढ्दै गएको छ । रुखाखोकी देखिएका केही बिरामीहरुलाई कडा निगरानीमा राखिएका खबर सार्वजनिक भएका छन् । यस्तो अवस्थामा बल्ल सरकारको आँखा खुलेको छ । सरकारले नेपाल भ्रमण वर्ष २०२० का कार्यक्रमहरु स्थगित गरेको छ । नेपाली नागरिकलाई विदेश नजान परराष्ट्रमन्त्रीले आह्वान गरेका छन् । वैदेशिक रोजगारीमा जान चाहनेहरुलाई पनि तत्काल त्यता नलाग्न सरकारले सचेत गराएको छ । विदेश पढ्न जान चाहनेहरुका लागि ‘नो अब्जेक्सन लेटर’बन्द गरिएको छ । नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलले आफन्तहरुलाई विमानस्थल आउन रोक लगाएको छ । यसैगरि मानिसहरुको भीड बढी भएको ठाउँमा नजान पनि सरकारको सुझाव छ । आसन्न सगरमाथा संवाद रोकिएको छ । पाँच देशका नागरिकलाई अनअराइभल भिसा दिन बन्द गरिएको छ । सरकारले कोरोना नियन्त्रण गर्नको लागि चालेका यी प्रयासहरु सह्रानीय छन् । कम्तिमा हिजो पर्यटनमन्त्रीबाट हतारमा भएको ‘कोरोना फ्रि’सच्याइएको छ ।
अहिले संसारका सबैजसो देशहरुले कोरोना फैलिन नदिन आ–आफ्नो तवरबाट तयारी थालेका छन् । उनीहरुले हवाई उडान रोकेका छन्े । आफ्ना नागरिकहरुलाई सुरक्षित हुन भनेका छन् र विमानस्थललगायतका क्षेत्रमा कडा स्वास्थ्य जाँचको मापदण्ड कायम गरेका छन् । नेपाल भने स्वास्थ्य जाँचको विषयमा कमजोर देखिएको छ । हिमाल र पशुपतिनाथले मात्रै कोरोना रोकेको टिप्पणी यसै सन्दर्भमा गरिएको हो । नेपाल स्वास्थ्य व्यवस्थामा अति कमजोर रहेको छ । सिटामोल नपाएर अकालमा ज्यान गुमाउनेहरुको कथा श्रृंखला रोकिएको छैन । कथंकदाचित् कोरोना नेपालमा देखियो भने यसको संक्रमण रोक्ने कसरी भन्नेबारे ब्यापक तयारी थालिएको छैन । सरकार र स्वास्थ्य मन्त्रालयले तयारी गरिएको बताए पनि त्यो भरपर्दो छैन । कोरोना संक्रमण फैलिएका देशहरुबाट निर्वाध नागरिकहरु नेपाल भित्रिएका खवरहरु पनि सार्वजनिक भएका छन् । यस्तो अवस्थामा नागरिक ढुक्क हुने कुरै भएन ।अर्कोतर्फ, नेपालमा अहिल्यै ‘मास्क’को अभाव देखिएको छ । मास्क बजारमा किन्नै पाइन्नँ र पाइए पनि महंगो मूल्य तिर्नुपर्ने भएको छ । अझ, कोरोनाबाट बच्न सकिने एन–१५ मास्क कति छ भन्नेबारे कसैलाई पनि थाहा छैन । सरकारले नाका र विमानस्थलमा राखिएका क्वारेण्टाइनहरुलाई व्यवस्थित गर्दै आन्तरिक रुपले कोरोनाविरुद्ध लड्नको लागि तयारी गर्नुपर्छ । आवश्यक पर्ने औषधि, उपकरण तथा मास्कको समुचित व्यवस्थापनको लागि पहल थालिहाल्नुपर्छ । बजारमा एउटा त्रास फैलनासाथ कालोबजारीया सल्बलाउने हुँदा त्यतातर्फ पनि प्रशासनले आँखा लगाउनुपर्छ । मुख्य कुरा त, अब सरकारले कोरोना भाइरस के हो ? यसबाट कसरी बच्ने भन्ने सचेतता कार्यक्रमलाई ब्यापक बनाउनुपर्छ । आवश्यक परे ठूला कार्यक्रम र समारोहहरु तथा शैक्षिक संस्थाहरु नै बन्द गर्नुपर्छ । सरकारले स्वास्थ्य संकटकालसम्मको तयारी गरेको कुरा बाहिर आएको छ । यो सकारात्मक नै छ । मृगौला प्रत्यारोपणको लागि अस्पताल भर्ना हुनुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको सन्देशमा ‘ आफू अस्पतालमा रहँदा सरकारको तर्फबाट गर्नुपर्ने सबै काम नियमित रुपमा अगाडि बढ्ने उनले बताए । प्रधानमन्त्री ओलीले भने, विश्वलाई नै पिरोलिरहेको कोरोना भाइरसका कारण सिर्जित नयाँ समस्या होस् वा भैपरि आउने कुनै पनि विषय होस्, त्यसलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न परेको समयमा आवश्यक निर्णय लिनसक्ने संयन्त्र र अन्य व्यवस्था मिलाएको छु ।’ भनेका छन् । उनको बोलीलाई सरकारले अक्षरशः सत्य सावित गर्नुपर्छ ।

