आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

युद्धतर्फ पनि अब्बल सैनिक महिला

युद्धतर्फ पनि अब्बल सैनिक महिला


  • चाँदनी हमाल
  • फाल्गुन २५ २०७६, आइतबार

काठमाडौँ, २५ फागुन – २०४५ सालताका नर्वदा थापाले नर्सिङमा स्नातक सकिन । बुबा भारतीय सेनामा रहेकै कारण उनीभित्र नेपाली सेनामा जाने उत्कट चाहना बढ्यो । सेनाको बहादुरीको कथा सानैदेखि सुन्दै, देख्दै आएकी थिइन । तर देशभित्र युद्धरत सेनामा जाने अवसर थिएन ।
प्राविधिकबाटै भए पनि सेनामा प्रवेश गर्ने अवसर भने चुकाइनन् । अन्य कसैले आवेदन नदिएपछि उनी एक मात्र महिला अधिकृतका रूपमा प्रवेश गर्दै सेनाको उच्च पद ब्रिगेडियर जनरल अर्थात् सहायक रथी सम्मको यात्रा तय गरिन । केटाको हुलमा एक्ली केटी बस्नुपर्दा कहिलेकाँही कमजोर महसुस हुन्थ्यो तर म पनि उही सरहको पदमा छु, के फरक छु र भनेर आँटिली बन्थे, उनले विगत सम्झिइन। त्यही हौसलाले उनलाई प्राविधिकमा महिलातर्फ पहिलो सहायक रथी बन्ने अवसर प्राप्त भयो। नेपाली सेनामा महिला पुगेको यो नै हाल सम्मको उच्च पद हो । त्यसमाथि उपरथी, रथी हुँदै प्रधान सेनापतिको पद हुन्छ ।
सेनामै रहेर उनले सशस्त्र द्वन्द्वका बेला द्वन्द्वरत क्षेत्रमै पुगेर उपचार व्यवस्थापनको अनुभव संगालिन । सेनामै रहेर जनस्वास्थ्यमा पीएचडी सकिन । त्यसैले सेनाको प्राविधिक क्षेत्रमा नयाँ पुस्ताका महिलालाई राम्रो अवसर रहेको उनी बताउछिन । युद्धतर्फको सैनिकमा भने केही अप्ठेरो अझै रहेको छ । जसमा महिलाको शारीरिक अवस्था, सेनाको दुर्गममा राम्रो व्यवस्थापन नहुनु आदि कारण हुन् । दुई वर्षअघि रिटायर भइन । उनको पालामा करिब दस मात्र महिला प्राविधिकमा थिए ।
युद्धतर्फ पनि अब्बल
युद्ध तर्फको सामान्य सेवामा पनि महिला सैनिक अब्बल नै ठहरिएका छन् । जतिबेला मुलुकमा सशस्त्र द्वन्द्वको राप चर्को थियो । त्यही बेला २०६१ सालमा नेपाली सेनाले पहिलोपल्ट सामान्यतर्फ महिला अधिकृत क्याडेटको भर्ना खोल्यो । सशस्त्र द्वन्द्वका बेला सेनामा जाउँ कि नजाउँ भन्ने दोहोरो मनस्थितिसँगै रेखा खत्रीले आवेदन भरिन । उनको ब्याच पासआउट हुँदा सशस्त्र द्वन्द्व रोकिएर जनआन्दोलन चल्दै थियो । त्यसैले युद्धमा जानुपरेन । खत्रीले पुरुष सरहको युद्धका हरेक तालिम गर्यौ, अझै गर्दैछौँ । शारीरिक रूपमा केही फरक रहे पनि कामको मामलामा कहिल्यै सक्दिन भनिन, उनले थपिन ।
अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सेनामा जाने महिलाका लागि तालिम दिँदा पुरुषको तुलनामा केही सहुलियत छन् । जस अनुसार पुरुषले ११ मिनेटमा दौड पूरा गर्दा महिलाले १४ मिनेटमा पूरा गरे हुन्छ । त्यस्तै पुरुषले १८ किलो तौल उठाउँदा महिलाले १२ किलो उठाए हुन्छ तर चेन अफ कमान्ड, अनुशासन र जिम्मेवारीको मामलामा कुनै सहुलियत छैन । पुरुषसँग प्रतिस्पर्धा गर्दै उनी सेनानी बनिन । उनी महिलाको एउटा छुट्टै गुल्मको प्रमुख छिन । उनले नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रहेको गुल्ममा १७८ जनाको नेतृत्व गर्छिन ।
सेवा प्रवेशको लामो प्रक्रियाबाहेक धेरै अवसर महिलाका लागि नेपाली सेनामा छन् । शान्ति सेनामा जान पाउने, भित्रै पढ्न पाउने, विदेशमा तालिम, पालोमा बिदाको सुविधासहित अनेक सहुलियत रहेको खत्री बताउछिन।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->