बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

खेलकुद, सहारा र पोखरा

खेलकुद, सहारा र पोखरा


  • Dhorpatan News
  • फाल्गुन २७ २०७६, मंगलबार

यतिबेला पोखरामा आहा ! रारा फुटबल प्रतियोगिताको १८ औँ संस्करण जारी रहेको छ । यहाँको सहारा क्लवले सो प्रतियोगिताको आयोजना गरेको हो । क्याराभान गोल्डकपबाट सुरु भएको प्रतियोगिता १८औँ संस्करणसम्म आइपुग्दा मोफसलको सबैभन्दा लोकप्रिय फुटबल प्रतियोगिता बन्न सफल भएको छ । स्वदेशी र विदेशी क्लवको सहभागिता र पुरस्कार राशीले पनि यसको महत्वा बढाएको छ । प्रतियोगिताले पोखराको खेलकुदलाई नयाँ आयाम पनि दिएको छ ।
खेलकुद प्रतियोगिता आयोजना गर्नु आफैमा कठिन काम हो । राज्यले खेलकुदमा पर्याप्त ध्यान दिन नसकेको अवस्थामा एउटा क्लवले यतिठूलो प्रतियोगिता आयोजना गर्नु आफैमा महत्वपूर्ण हो । यस मानेमा सहारा क्लव धन्यवादको लायक छ । प्रतियोगिताको निरन्तरताले पनि सहाराको सान उचो भएको छ । विपन्न र असहाय बालबालिकालाई समेटेर सहाराले सहारा एकेडेमी नै संचालनमा ल्याएको छ । दाताहरुको सहयोगमा कास्कीको दोबिल्लामा २८ रोपनी जग्गामा निर्मित सहारा एकेडेमीको सफल संचालनले यसको व्यवस्थापकीय क्षमता उजागर गरेको छ । सहारा एकेडेमी फुटबलको संस्थागत विकासको कोशेढुंगा बनेको छ ।
पोखरा खेलकुदको सहर हो । यहाँ दैनिकजसो एउटा न एउटा खेल आयोजना भएकै हुन्छ । यहीवर्ष पोखरामा दक्षिण एसियाली खेलकुदको सफल आयोजना भयो । यसका अलावा यहाँ हुने भलिबल, क्रिकेट, ह्याण्डबललगायत विविध विधाका प्रतियोगिताले पनि पोखरालाई खेलकुदको सहरको रुपमा विकास गरेको छ । पोखरा खेलकुदको उर्बर भूमि हो । यहाँ भएको भौतिक संरचनाले पनि खेलकुद विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । प्रतियोगिताको उपक्रममा रंगशालामा भौतिक पूर्वाधार निर्माण गरियो । अहिले रंगशालाको मुहार फेरिएको छ । सुविधासम्पन्न फुटबल स्टेडियम बनेको छ । भला, रंगशालाको भौतिक निर्माण सम्पन्न भइसकेको छैन तर अहिले जेजति पूर्वाधार बनेका छन्, खुुसी मान्नेखालकै छन् । अब यी संरचनाको संरक्षणमा पनि पोखरेली र खेलसम्वद्ध संघ÷संस्थाहरुले चासो दिनुपर्छ ।

खेलकुदको माध्यमबाट युवाहरुलाई सत्चरित्रवान बनाउन सकिन्छ । खेलकुदले सामूहिक भावनाको विकास पनि गराउँछ । मानशिक र शारिरीक रुपले युवाहरुलाई तन्दुरुस्त बनाउँदै राष्ट्र निर्माणको महान अभियानमा लगाउन सकिन्छ । राज्यले खेलकुदलाई खासै ध्यान दिन सकेको छैन । खेलकुदमा लागेर भविष्य सुनिश्चित हुने अवस्था पनि छैन । खेलकुदमै जीवन समर्पण गरेकाहरु अहिले हातमुख जोर्ने समस्याले पीडित छन् । खेलकुदलाई व्यावसायीक बनाउँदै खेलाडीको भविष्य सुनिश्चित पार्नु राज्यको कर्तब्य हो । यसको लागि खेलकुदलाई राजनीतिको कालो छायाँबाट मुक्त राख्न सक्नुपर्छ । खेलकुद क्षेत्र राजनीतिक भर्तिकेन्द्र बन्नु हुँदैन । पोखरामा खेल विकासको असिमित संभावना रहेका छन् । संभावनाको उपयोग गर्न सके पोखरालाई खेलकुदको गन्तब्य बनाउन सकिन्छ । पोखरा यो दिशामा अघिबढेको पनि छ । यो अभियानलाई सहाराले आफ्नै बलबुताले योगदान दिएको छ । सहाराको यो अभियानलाई सघाउनु अहिले पोखरेलीको कर्तब्य बनेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->