बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बिस्फोट र धम्की अस्वीकार्य

बिस्फोट र धम्की अस्वीकार्य


  • Dhorpatan News
  • फाल्गुन २९ २०७६, बिहिबार

पूर्वमन्त्री गोकुल बास्कोटाको घरमा बम बिस्फोट भएको छ । प्रहरीको सुरक्षाघेरामा रहेको बास्कोटाको निर्माणमाधिन घरमा भएको विस्फोटबाट मानवीय क्षति नभए पनि यसले देशमा बम र बारुदको गन्धसँगै त्रास फैलाएको छ । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ( माओवादी)ले विस्फोटको जिम्मा लिएको छ । उसले बास्कोटाविरुद्ध विभिन्न १० वटा आरोप लगाउँदै बिस्फोटको वैधानिकता पुष्टी गर्न खोजेको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड घुस मागेको अडियो सार्वजनिक भएपछि बास्कोटाले संचारमन्त्रीबाट राजीनामा दिएका थिए । विप्लव नेतृत्वको माओवादीले बास्कोटा भ्रष्ट भएको आरोप लगाएको छ । यता, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) ले घटनालाई आपराधिकभन्दै दोषिमाथि कारवाहीको माग गरेको छ । अध्यक्ष प्रचण्डले विस्फोटलगत्तै विज्ञप्ति जारी गर्दै घटनामा संलग्न अपराधीलाई कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
विप्लव नेतृत्वको माओवादीमाथि प्रतिबन्ध लागेको ठीक एकवर्ष पुगेको छ । प्रतिबन्धको एकवर्ष पुगेकै दिन बास्कोटाको घरमा बिस्फोट भएको छ । अघिल्लोवर्ष फागुन ११ गते नख्खुको एनसेल टाउवरमा मान्छेको ज्यानै लिनेगरि भएको विस्फोटपछि सरकारले विप्लव नेतृत्वको माओवादीमाथि प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धको यो अवधिमा पनि विप्लव माओवादीबाट पटकपटक बिस्फोट गरायो । व्यक्ति र भौतिक संरचना केन्द्रित आक्रमणसँगै चन्दा संकलन अभियान जारी नै राख्यौ । सयौँ नेता–कार्यकर्ता पक्राउ पर्दापनि विप्लवका गतिविधिहरु रोकिएका छैनन् । झण्डै १ हजारजतिले सो पार्टी त्यागेको जनाएका छन् । विप्लव स्वयं भूमिगत छन् । विप्लव समूह कमजोर भएको प्रहरी आंकलन रहेपनि हिंसा नरोकिनु चिन्ताको विषय हो ।
मूलतः विप्लव समूहले उठाएका मागहरु राजनीतिक नै हुन् । लामो सशस्त्र द्धन्द्धमा प्रत्यक्ष संलग्न भएका विप्लव जनवाद स्थापनाको एकसूत्रीय मागसहित भूमिगत भएका हुन् । सशस्त्र द्धन्द्धमा संलग्न, ज्यान गुमाएका परिवारजन तथा वर्तमान राज्यसंयन्त्रका कामप्रति असन्तुष्टी जनाउनेहरु नै विप्लव समूहमा आवद्ध छन् । उनीहरुलाई बल प्रयोगबाट मात्रै शान्तिपूर्ण राजनीतिमा आऊ भन्नु जायज होइन । मान्छेलाई थुनेर विचार मर्दैन भन्ने त लामो सशस्त्र युद्धले प्रमाणित गरिसकेको छ । धरपकडले विचारको बीऊ मास्न सकिँदैन । हिजो सशस्त्र युद्धको नेतृत्व गर्ने पुष्पकमल दाहाल रुपान्तरित भएका छन् । हिजो आफैले देखाएको बाटो हिँड्नेहरुलाई आतकंकारी घोषणा गर्नुपर्ने अवस्थामा उनी पुगेका छन् । आफैले देखाएको बाटो हिँड्नेहरुलाई शान्तिपूर्ण रुपान्तरण गराउने र बन्दुकबाट मात्रै राज्यसत्ता कब्जा सम्भव छैन भन्ने बुझाउने दायित्व प्रचण्डको काँधमा पनि छ । यसको लागि सरकारको तर्फबाट संवाद र सहमतिको प्रक्रिया अगाडि बढाउनुपर्छ । तर, यसो भनिरहँदा, हत्या, आगजनी, तोडफोड र धम्कीलाई क्रान्ति मान्न सकिँदैन । यी र यस्ता क्रियाकलापलाई निस्तेज पार्ने र कानूनी दायरामा ल्याउने दायित्वबाट सरकार विमुख हुन मिल्दैन ।
अहिले विप्लव नेतृत्वको माओवादीले गोकुलमाथि जुन आरोपसहित उनको घरमा बिस्फोट गराएको छ, त्यसलाई कुनैपनि कोणबाट वैधानिकता दिन सकिँदैन । गोकुल भ्रष्टाचारी नै हुन् भने पनि त्यसको निरुपण कानूनले गर्ने हो । बिस्फोट गराएर, जनमानसलाई आतंकित पार्दै कानून हातमा लिन खोज्नु आफैमा नाजायज हो । आफ्नो उपस्थिति देखाउन र सस्तो लोकप्रियताको लागि गरिने यस्ता क्रियाकलाप आस्थासहितको राजनीति गर्ने स्वयं विप्लवको लागि पनि घातक हुनसक्छ । अतः विप्लव नेतृत्वको माओवादीले व्यक्ति र भौतिक संरचना केन्द्रित बिस्फोटका घटना छाडनुपर्छ भने सरकारले पनि सबै उपाय अवलम्बनगर्दै विप्लवलाई मूलधारमा ल्याउने कोशिस गर्नुपर्छ । उल्टोयात्रा सबैको लागि घातक हुन्छ । देशले पुन: युद्ध धान्न सक्दैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->