नोवल कोरोना ( कोभिड–१९) भाइरसको महाव्याधीले संसार त्रस्त छ । छिमेकी चीनबाट सुरु भएको भाइरसका कारण अर्को छिमेकी भारतमा पनि मानिसको ज्यान गएको छ । विश्वका सबैजसो देशहरुले कोरोनाको महामारीबाट आफ्ना नागरिकलाई बचाउने अभियान थालेका छन् । संकटको यो क्षणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना संक्रमणबाट आफ्ना तथा दक्षिण एसियाका नागरिकहरुलाई बचाउन ‘साझा रणनीति तय गर्ने’ प्रस्ताव गरे । शुक्रबार प्रधानमन्त्री मोदीले ट्विटरमार्फत सो प्रस्ताव गरेका थिए । मोदीको प्रस्ताव दक्षिण एसियाली सहयोग संगठन ( सार्क) अन्तर्गत रहेर साझा रणनीति तयको लागि भएको थियो । यो प्रस्तावको नेपालका प्रधानमन्त्रीसहित अन्य सबै दक्षिण एसियाली राष्ट्रले स्वागत गरे । उनको यो प्रस्तावलाई पाकिस्तानले पनि समर्थन जनाएको छ । पाकिस्तानमा पनि कोरोनाबाट एकजनाको मृत्यु भइसकेको छ ।
विश्वव्याधीको रुप लिएको कोरोनाविरुद्ध एक ठाउँमा उभिने भारतीय प्रधानमन्त्रीको प्रस्ताव स्वागतयोग्य छ नै । कोराना कुनै एक देशको नभएर सम्पूर्ण विश्वको समस्या र चुनौति हो । यो चुनौति सामना गर्न साझा रणनीति र सहकार्य आवश्यक पर्छ । संकटका बेला अन्य कटुता र वैमनश्यताहरु बिर्सनु नै पर्छ । कोरोना कुनै एक देशको प्रयासले मात्रै नियन्त्रणमा आउन गाह्रो छ भन्ने सिंगो विश्वले बुझेको छ । भारतीय प्रधानमन्त्री मोदीले त्यो कुरा नबुझ्ने कुरै भएन । कम्तिमा उनले अहिले कटुता बिर्सेर सम्बन्धको हात अघि बढाएका छन् । पाकिस्तानले पनि उनको प्रस्ताव मानेको छ । यसले कोरोनाविरुद्ध दक्षिण एसियाली एक छ भन्ने सन्देश प्रवाहित भएको छ । अर्कोतर्फ, साझा रणनीति तय गर्न भिडियो कन्फ्रेन्स गर्ने भनिए पनि मोदीको यो प्रस्तावसँगै झण्डै ‘कोमा’ मा गएको सार्क पुनर्जिवित हुने सम्भावना बढेको छ । भारत र पाकिस्तानबीचको कटुतापूर्ण सम्बन्धका कारण सार्कको अस्तित्व संकटमा पर्दै आइरहेको छ । पाकिस्तानले सिमापार आतंकवादलाई प्रश्रय दिएको आरोप लगाउँदै भारतले सार्कका गतिविधिहरु अघि बढाउन दिएको थिएन ।सार्कको अध्यक्ष नेपाल नै हो । सार्कअन्तर्गत दक्षिण एसियाली खेलकुद सम्पन्न भए पनि अन्य कुटनीतिक तथा द्धिपक्षीय÷बहुपक्षीय सहयोग आदानप्रदान यही कारणले नै रोकिएको छ ।
सार्कप्रति सकारात्मक नभएको भारतबाटै सहकार्यको प्रस्तावले कुटनीतिमा ठूलै अर्थ राख्छ । कम्तिमा भारतको यो प्रस्तावले सार्कको महत्व र अपरिहार्यता पुष्टी गरेको छ भने कोरोना संकटले वैमनश्यता अन्त्यमा सघाउने आशा पनि पलाएको छ । सार्क राष्ट्रहरु र विशेषगरि नेपालले यो अवसरको सदुपयोग गर्नुपर्छ । सार्कको १९ औँ शिखर सम्मेलन आयोजनाको वातावरण बनाउनुपर्छ । अहिलेको विश्वमा कुनै एउटा देश एक्लै अघिबढ्न सक्दैन । सहकार्य अहिलेको आवश्यता हो । भारत र पाकिस्तानबीचको वैमनश्यताले सार्क आफ्नो उदेश्यमा सफल नभएकै हो । सार्कको सक्रियताले नै दक्षिण एसियाले विकासमा फड्को मार्नसक्छ । मृगौला प्रत्यारोपणपछि शिक्षण अस्पतालमा स्वास्थलाभ गरिरहेकै अवस्थामै भारतीय प्रधानमन्त्रीको प्रस्तावको स्वागत गर्नुको अन्तर्य पनि यही नै हो ।

