सरकारले अन्तिम समयमा आएर यसवर्षको माध्यमिक शिक्षा परीक्षा ( एसईई) सहितका सबै परीक्षा स्थगित गरेको छ । एसईई बिहीबारबाट सुरु हुँदै थियो । यो वर्ष देशभरबाट ४ लाख ८२ हजार ७ सय ७ परीक्षार्थीले एसईईमा सहभागिता जनाउँदै थिए । परीक्षामा निरीक्षक र सुरक्षाकर्मीसहित करिब ५ लाख व्यक्तिहरु संलग्न हुन्थे । देश कोरोना भाइरस ( कोभिड–१९) संक्रमणको त्रासमा रहेको बेला अन्तिम समयसम्म पनि सरकारले परीक्षा संचालन गरेरै छाड्ने अडान लिएको थियो । बुधबार दिउसो सरकारले सिनेमा हल तथा २५ जनाभन्दा बढी भेला नहुन निर्देशन जारी गरेको थियो भने चैत्र मसान्तसम्म सबै स्कूल र कलेजहरु बन्द गर्ने निर्णय गरेको थियो । अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गरिए पनि एसईई परीक्षा भने सुचारु गर्ने सरकारको तयारी थियो । सरकारले सुरक्षा सतर्कताको नाममा अन्य गतिविधिमाथि बन्देज लगाउँदा पनि परीक्षा नसार्ने निर्णय गरिएकोमा सर्वत्र आलोचना भएको थियो । आलोचनाकै बीचमा सरकारले अन्तिम समयमा एसईई रोक्ने निर्णय गरेको छ । ढिलै भए पनि सरकारले आफ्नो गल्ती सच्याएको छ ।
सरकारले हरेक परीक्षा केन्द्रमा स्वास्थ्य डेस्क राखेर परीक्षा संचालन गर्ने निर्णय गरिरहँदा परीक्षामा सामेल हुने विद्यार्थी, शिक्षक र सुरक्षाकर्मीहरुको स्वास्थ्यबारे भने ख्याल गर्न सकेको थिएन । एसईई परीक्षा दिने क्रममा २५ हैन, हजारौँ व्यक्तिहरु एकैठाउँमा जम्मा हुन्थे । जीवनभन्दा परीक्षा महत्वपूर्ण हुन सक्दैन र हैन पनि ।सरकारले विषम परिस्थितिको यसअघि नै मूल्याङ्कन गर्नुपथ्र्यो । अन्तिम समयमा हैन कि,परीक्षा केही समयका लागि सार्नैपथ्र्यो । एसईईको छेकोमा संक्रमणको त्रासले विद्यार्थीहरुले खुलेर परीक्षा दिने अवस्थानै थिएन भने अर्कोतर्फ संक्रमण फैलने त्रास र खतरा पनि उस्तै थियो । विषम परिस्थितिमा विद्यार्थीले परीक्षा देलान् ? भन्नेतर्फ ख्याल नै गरिएको थिएन । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजकसमेत रहेका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले एसईईलगायतका सबै परीक्षा हाललाई स्थगित गरेको जनाएका छन् । यो सरकारले आम नागरिकको स्वास्थ्यप्रति देखाएको संवेदनशीलता नै हो ।
यसैगरि सरकारले सार्वजनिक सभा, समारोह, धार्मिक स्थलहरुमा २५ जनाभन्दा बढी मान्छे जम्मा नहुन र त्यस्ता गतिविधि नगर्न पनि सुझाएको छ । अत्यावश्यक बाहेकका काममा घर बाहिर ननिस्कन सरकारले गरेको आग्रहलाई पालना गर्नुको विकल्प छैन । किनकि, नेपालजस्तो देशमा कोरोना संक्रमण फैलिइहाल्यो भने प्रभावकारी नियन्त्रण संयन्त्र नै छैन । सरकारले पछिल्लो समय चालेको कदमसँगै देश झण्डै कोरनाको संकटकालमा परिणत भएको छ । संकटको यो बेला सरकारलाई सघाउनु जनताको दायित्व हो । नागरिक स्वयं आफ्नो स्वास्थ्य अवस्थाप्रति सचेत बन्दै कोरोना महाव्याधीको सम्भावित खतराबाट बच्नुपर्छ । सरकारले गरेका अनुरोध र निर्देशनहरुको पालना भए÷नभएको अनुगमन गर्ने जिम्मा प्रदेश र स्थानीय तहहरुलाई दिइएको छ । अब प्रदेश र स्थानीय तहहरु पनि यो कार्यमा सक्रियतापूर्वक खटिनुपर्छ । यसका साथै सरकारले कोरोना फैलिइहालेमा हुनसक्ने सम्भावित भयावह स्थितिको लागि स्वास्थ संस्थाहरुलाई तयारी अवस्थामा राख्नुपर्छ ।

